एकातिर काङ्ग्रेस, अर्कातिर बाम गठबन्धन

  प्रकाशित मिति
३ माघ २०७४, बुधबार ११:१०


बाहुनडाँगी । लामो समयदेखि हात्तीबाट प्रताडित बाहुनडाँगीमा गठन भएको ुमानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च’को नयाँ नेतृत्वका लागि यही माघ ५ गते निर्वाचन हुँदैछ ।

राजनीतिक समीकरणका आधारमा नयाँ नेतृत्वका लागि दलहरु छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । नेपाली काङ्ग्रेसको समर्थनबाट हरिप्रसाद उप्रेतीले अध्यक्षमा उम्मेवारी दिएका छन् भने बाम गठबन्धनको समर्थनमा माओवादी समर्थक मेघनाथ खड्का (मेघराज)ले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

मञ्चको विधान मस्यौदा समितिको संयोजक, हात्ती पीडित सङ्घर्ष समितिको संयोजकमा रहेर अनुभव सङ्गालेका उप्रेती कुशल वक्ता र स्थानीय स्तरमा लोकप्रिय नेता मानिन्छन् ।

उनी नेपाली काङ्ग्रेसका गाउँ उपसभापति, सरस्वती माविको पूर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, सामुदायिक भवन बाहुनडाँगीको पूर्व कोषाध्यक्ष तथा विभिन्न सङ्घसंस्थामा रहेका अनुभवी व्यक्ति हुन् ।

यसैगरी, मञ्चको उपाध्यक्ष भएर काम गरिसकेका खड्का युवा माझ निकै लोकप्रिय छन् । उनले २०६३ सालदेखि नै माओवादी केन्द्रको गाउँ सेक्रेटरी पदमा रहेर नेतृत्व गरिरहेका छन् । यसैगरी, निन्दा खानेपानी उपभोक्ता समूहको उपाध्यक्ष, सिद्धि सिञ्चाई जल उपभोक्ता समूहको उपाध्यक्ष रहेर उनले काम गरिसकेका छन् ।

स्थानीय निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट मेचीनगर(४ को वडा अध्यक्षमा उनी उम्मेदवार बनेका थिए ।  कामको मूल्याङ्कनका आधारमा दुबै उम्मेद्वारले आफ्नो जित निश्चित रहेको दावी गरेका छन् ।

उप्रेतीले लामो समयदेखि यहि क्षेत्रमा काम गरेको अनुभव भएको र यहाँका जनताले मेरो कामको मूल्याङ्कन गर्ने भएकाले जित निश्चित हुने बताए ।

खड्काले आम बाहुनडाँगीबासीको जनमत आफुसँग रहेको बताउँदै सजिलै चुनाव जित्ने दावी गरे । उनले यस भन्दा अघि गरेका कामको मूल्याङ्कन अब हुने भन्दै यस क्षेत्रका सबै पक्षलाई एक ठाउँमा समेटेर टिम तयार गरेकाले जित निश्चित भएको बताए ।

मेचीनगरमा यो निर्वाचनलाई राजनीतिक प्रतिष्ठाका रुपमा हेरिएको छ । हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा हारेको बदला लिने दाउमा काङ्ग्रेस समर्थकको छ भने सोही जितलाई आधार मान्दै साख बचाउने दाउमा बामगठबन्धनका समर्थक छन् ।

स्थानीय निर्वाचनमा एमाले र माओवादीले वार्ड गुमाएको थियो । काङ्ग्रेस समर्थक वार्ड र नगरपालिकामा जितेको आधारमा त्यसलाई पुनः दोहोर्याउने र प्रतिनिधि सभाको पीडालाई कम गर्नका लागि जोडतोडका साथ लागेको छ । जसका लागि नगर तथा क्षेत्रीयस्तरका नेता तथा कार्यकर्ता समेत यति बेला बाहुनडाँगी केन्द्रीत बनेको देखिन्छन् ।

यस निर्वाचनमा काङ्ग्रेसले एकल प्यानल खडा गरेको छ भने बाम गठबन्धनका तर्फबाट एमाले, माओवादी र राप्रपाको संयुक्त प्यानल खडा भएको छ ।

काङ्ग्रेस प्यानलको उपाध्यक्षमा रमेशकुमार थापा, महासचिवमा सागर कार्की, सचिव केवल निरौला, कोषाध्यक्षमा ऐश्वर्य सुवेदी (मिना), सदस्यहरुमा नित्यानन्द चम्लागाई (निर्मल), जीवन मगर, अनिष काफ्ले, र महिला सदस्यमा भावना अधिकारी, देविका अर्याल, सावित्रा थापा चुनावी प्रतिस्पर्धामा छन् ।

संयुक्त गठबन्धनका तर्फबाट उपाध्यक्षमा किरण प्रधान, महासचिव शान्तप्रसाद न्यौपाने, सचिव टिकाराम सापकोटा (रामु), सदस्यहरुमा बमबहादुर दर्जी, टङ्कनाथ बलम्पाकी, काजीबहादुर घिमिरे, खगेन्द्र रामुदामु, चेतबहादुर चम्लागाई (श्याम), ओम पुरी, हरिकेशर गौतम तथा महिला सदस्यहरुमा तारा बराल, प्रना कार्की र तारादेवी खड्का चुनावी प्रतस्पिर्धामा छन् ।

सामुदायिक भवन बाहुनडाँगीमा हुने निर्वाचनमा २ हजार ३ सय ७४ मतदाता रहेको निर्वाचन अधिकृत पोषक दर्जीले बताए । उनका अनुसार मतदान बिहान ७ बजेदेखि सुरु हुनेछ । निर्वाचनका कारण एक सातादेखि यस क्षेत्रको माहोल नै परिवर्तन भएको छ । उम्मेदवारहरु टिमसहित बिहानैदेखि मत माग्न घरघर पुग्न व्यस्त देखिन्छन् । उनीहरु आफ्नो टिम निर्वाचित भए हात्ती समस्याका लागि दीर्घकालिन समाधान खोज्नेलगायतका प्रतिबद्धताहरु व्यक्त गर्दैछन् ।

मतदाताले पीडितका लागि सहज रुपमा राहत उपलब्ध गराइनु पर्ने र हात्तीको दीर्घकालिन समाधान हुनुपर्ने आवाज उठाउँदै आएका छन् ।
२०३४ सालदेखि हात्तीको चपेटामा परेको यो क्षेत्रले हात्तीको आक्रमणमा दर्जनौलाई गुमाइसकेको छ । सयौँ घाइते भएका छन् । धेरैले अन्न बाली उठाउन समेत नपाउने अवस्था व्यहोरे । केही वर्षदेखि यहाँको हात्तीको पीडालाई कम गराएको छ सोलार फेन्सिङले ।

विश्व बैङ्कको लगानीमा निर्माण भएको उक्त फेन्सिङ समुदायमा हस्तान्तरण भएको छ । समुदायको रेखदेखमा रहेको यो फेन्सिङ तारको सुरक्षा, व्यवस्थापन र हात्तीको दीर्घकालिन समाधानको खोजी गर्नु अबको निर्वाचित समितिको मुख्य चुनौतीका रुपमा रहने छ । संस्थामा काम गर्ने कर्मचारीको व्यवस्थापन गर्ने पाटो त छदैँछ । स्थानीय संरचना अनुसार भएको मेचीनगरसँगको सहकार्यमा काम गर्नु पर्नेछ । यिनै चुनौतीहरुलाई पार गर्नका लागि र आम बाहुनडाँगीको यो समस्या समाधानका लागि यो नेतृत्व सक्षम हुनु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: