एकाविहानै जल्यो कृषिथोकको मिनीमार्केट

  प्रकाशित मिति
१ भाद्र २०७३, बुधबार १०:३६


3विर्तामोड । ‘केही बाँकी रहेन मेरो, कसरी परिवार पाल्नु, कहाँबाट ल्याएर बैङ्कको ऋण तिर्नु ?’

‘हे भगवान तिमीले यो के गरेको ? बरु मलाई नै जलाएको भए हुन्थ्यो नि !’

‘खोइ मेरो पसलका सामान ! भएको सारा सम्पत्ति स्वाहा भयो, कसरी बाँच्नु अब ?’

विर्तामोडको कृषि थोक बजारस्थित नगरपालिकाले निर्माण गरेको मिनी मार्नेटमा बुधवार विहान आगलागी भएपछि पीडितहरूले गरेको विलौनाको केही अंश हो यो ।

विहान पौने ४ बजेतिर मिनी मार्केटको पश्चिम साइटबाट विद्युत सर्टका कारण सल्किएको आगोको लप्कोले आधा घण्टामै त्यहाँभित्रका २० वटा पसललाई झिरिप्पै लपेटिसकेको थियो ।

कस्मेटिक, कपडा लगायतका २० वटा पसललाई खरानी बनाइसकेपछि दमकल, प्रहरी र स्थानीयवासीले आगोलाई काबुमा लिए । तर सर्वस्व खरानी भएर पीडित भएका पसल सञ्चालकहरूको मनभित्र दन्किएको जलन भने कसैले निभाउन सक्ने स्थिति छैन ।

मर्निङ वाकमा हिड्ने सर्वसाधारणले मार्केटभित्रबाट धुँवा निस्किएको देखेर प्रहरीलाई खबर गरेका थिए । आगलागीका बेला पसलहरूभित्र कोही पनि व्यक्ति थिएनन् । अन्यत्रै बस्दै आएका व्यवसायीले त्यहाँ दिउँसो पसल सञ्चालन गर्थे ।

5‘पसलमा लाखौँको सामान थियो, सबै खरानी भयो’, मिनीमार्केटमा कस्मेटिक पसल चलाउँदै आएका मोहम्मद अली लोकतन्त्र पोस्टसँग रुँदै भन्छन्–‘बैङ्कबाट ऋण काढेर व्यवसाय गरेको हुँ, अब कहाँबाट तिर्ने ?’

विर्तामोड–६ स्थित कृषि थोक बजारमा विर्तामोड नगरपालिकाले व्यापारिक प्रयोजनका लागि २ वर्ष अघि जस्ताको छानो भएको ७० वटा पक्की पसल निर्माण गरेको थियो ।

नगरपालिकासँग सम्झौता गरेर साना व्यवसायीहरूले त्यो मिनीमार्केटमा आफ्ना पसल चलाउँदै आएका थिए । मिनीमार्केटका ७० मध्ये २० वटा पसल बुधवार जलेका छन् ।

अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्री आगलागीबाट करोडभन्दा बढीको क्षति भएको बताउँछन् । क्षतिको यकिन विवरण आउन बाँकी नै छ ।

विर्तामोड, भद्रपुर, मेचीनगर र दमक नगरपालिकाबाट आएका दमकलले प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरेको जनाउँदै प्रहरी नायव उपरीक्षक खत्रीले बेलैमा आगलागी नियन्त्रण गरिनाले अरु धेरै पसल आगलागीबाट जोगिएको बताए ।

केही दिन अघि मात्र राखेको दस लाखभन्दा बढीको सामान डढेर खरानी भएको बताउने कस्मेटिक पसलका धनी मोहम्मद अलिले बजारमा आगलागीको भवितव्यबाट बच्न पूर्व सुरक्षाको कुनै प्रबन्ध नगरपालिकाले नगरेको गुनासो गरे ।

नगरपालिकाले ७० वटा पसलका लागि एउटा मात्र मिटर बक्स राखेको, अलग अलग मिटर बक्स र अन्य सुरक्षात्मक प्रबन्धको माग गर्दा नगरपालिकाले ध्यान नदिएको आगलागी पीडितहरूको गुनासो छ ।

आगलागी पीडितको अवस्था हृदयविदारक रहेको स्थानीय सामाजिक कार्यकर्ता प्रभात मानन्धर बताउँछन् । ‘लामो समय व्यवसाय गरेर आर्जेको सबै सम्पत्ति नै पसलको सामान थियो’, आगलागी नियन्त्रण र उद्धारमा खटिएका मानन्धर भन्छन्–‘पीडितहरूको रुवावासी छ, अब उनीहरूलाई राहत र क्षतिपूर्तिका लागि सरोकारवालाहरूले पहल गरिदिनु पर्ने देखिन्छ ।’

विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम कार्कीले आगलागीले पुर्याएको क्षति दर्दनाक रहेको बताउँदै पीडितलाई राहत पुर्याउने बारेमा बैठक बस्ने जानकारी दिए ।

आगलागी लगायतका समस्याबाट व्यवसायीलाई पर्ने क्षति न्यूनीकरणका लागि विमा लगायतका उपायतर्फ पनि आम व्यवसायीले सोच्न जरुरी भएको अध्यक्ष कार्की बताउँछन् ।

विर्तामोड उद्योग वाणिज्य सङ्घका महासचिव तथा नेपाल राष्ट्रिय वाणिज्य सङ्घका विर्तामोड नगर अध्यक्ष सुभाष भट्टराई आगलागी पीडित व्यवसायीहरूलाई तत्काल पुनस्र्थापित गर्नका लागि सहयोग आवश्यक रहेको बताउँछन् ।

‘अधिकांश व्यापारी ऋण काढेरै चल्ने गरेको देखिन्छ’, भट्टराई भन्छन्–‘सबै सामान जलिसकेपछि विचल्लीमा परेका उनीहरूलाई साहुले फेरि सामान हाल्दिने वातावरण बनाइदिन जरुरी छ ।’

(प्रकाशित मिति ः २०७३ भदौ १ गते विहान ९ बजे)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: