एकै घरका तीन जनामा डेङ्गु

  प्रकाशित मिति
३ भाद्र २०७५, आईतवार १०:३८


इटाभट्टा । मेचीनगरको साविक बाहुनडाँगीमा एकै घरका तीन जना डेङ्गु ज्वरोले विरामी भएका छन् ।

मेचीनगर–३ तेलपानीकी ३५ वर्षीया शर्मिला राई, उनको ११ वर्षीय छोरा अमन र वर्ष २७ की देउरानी सरिता राई डेङ्गुबाट सङ्क्रमित भएका हुन् ।

डेङ्गु सङ्क्रमित तीनै जनालाई उपचारका लागि विर्तामोडस्थित बीएन्डसी टिचिङ हस्पिटलमा भर्ना गरिएको छ ।

झापाको काँकरभिट्टा, विर्तामोड र दमक नगर क्षेत्रमा विगत वर्षहरुमा डेङ्गु सङ्क्रमण फैलिएको भए पनि बजार इलाकाबाट निकै टाढा बाहुनडाँगीको ग्रामीण क्षेत्रमा डेङ्गु रोगी फेला परेको यो पहिलोपटक हो ।

एक साता अघि सुरुमा ११ वर्षीय अमन राईमा टाउको दुख्ने समस्यासँगै कडा ज्वरो आएपछि हस्पिटलमा जचाउँदा डेङ्गु सङ्क्रमण भएको पत्ता लागेको अमनका बुबा ध्रुव राईले बताए ।
अमनलाई ज्वरो आएको ३ दिनपछि उनकी आमा शर्मिलालाई र त्यसपछि काकी सरितालाई टाउको बेस्मारी दुख्ने त्यस्तै कडा ज्वरो आएको थियो ।

सहर बजारको ठूला महलको गमला, पानी ट्याङ्की, फ्रिज, कुलर, एसी र टायरको थुप्रोमा जम्ने पानीमा हुर्किने एजिप्टाइ जातको मच्छडका कारण डेङ्गु फैलिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
तर बाहुनडाँगीको ग्रामीण वस्तीमा रहेको ध्रुव राईको घरसम्म कसरी डेङ्गु पुग्यो भन्ने कुरा अनुसन्धानकै विषय भएको छ ।

हाल डेङ्गु सङ्क्रमण फेला परेको राई परिवारको घरमा एसी, कुलर, फ्रिज लगायतका कुनै पनि सामग्री प्रयोगमा छैनन् ।

मेचीनगर–३ का वडाध्यक्ष हर्क बस्नेतले डेङ्गु सङ्क्रमितहरुलाई उपचारका लागि विर्तामोड पुर्याइएको र गाउँमा डेङ्गु फैलिन नदिनका लागि पहल गरिदिन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीलाई आग्रह गरिएको बताए ।

नगरपालिका कार्यालयले स्वास्थ्यकर्मीको टोली गाउँमा पठाइदिने आश्वासन दिए पनि हालसम्म कुनै टोली नआएको वडाध्यक्ष बस्नेत बताउँछन् ।

नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले वडा नं. ३ मा डेङ्गुले विरामी भएको खबर आएको बताउँदै नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि तत्कालै पहल गर्ने जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: