एक्लोपनको साथी रेडियो

  प्रकाशित मिति
६ कार्तिक २०७३, शनिबार १२:५२


 

radio

कुरा केही दिन अघिको हो । झापाको एउटा रेडियोका स्टेशन प्रमुखसँग भेट भयो । आफू पनि रेडियो कै मान्छे । स्वाभाविक छ कुरा रेडियो कै हुने भयो । मैले कुरा सुरु गरें । रेडियोको खबर के छ सर ? लगत्तै ती मित्रले भने के हुनु र चल्दैछ । मैले उनको कुरामा कुनै जाँगर पाइनँ । मैले फेरि सोधेँ राम्ररी नै चल्दैछ नि । उनले भने ठिकै छ । रेडियो त हो के नै पो गर्न सकिन्छ र ! उनी भन्दै गए –‘नयाँ कुरा के नै पो दिन सकिन्छ र रेडियोमा । बजिरहेको छ गीत अनि केही समाचार त्यही हो ।’ उनको कुरा सुनेर मेरो मन खिन्न भयो ।

धेरै प्रतिवाद गरौं भने झगडा सम्झिदिए भने नराम्रो हुने डर पनि थियो । तर, पनि मन मानेन र मैले प्रतिवाद कै शैलीमा जवाफ फर्काएँ । किन र सर, रेडियोले धेरै गर्न सक्छ र गरिरहेको पनि छ नि होइन र ? मैले थपें रेडियोमा साँच्चै मेहनत गर्ने हो भने गर्ने कुरा धेरै छन है सर । मैले यति भनी सक्दा तीनको अनुहारमा पत्यारिलो भाव मंैले पाइनँ । अनि उनले मलाई थोरै भए पनि रेडियो पढाए । उनले रेडियोलाई केन्द्रमा राखेर केही अर्ति उपदेश पनि सुनाउँन भ्याए मलाई । मैले पनि इमान्दार स्रोता भएर तीनको अर्ति उपदेश सुनें । यति सम्बाद भएपछि हामी आ–आफ्नै बाटो तिर लाग्यौं ।

उनीसँग छुट्टिए पछि मेरो मानस पटलमा त्यस भन्दा केही दिन अघिका घट्नाहरु कुनै चलचित्र हेरें झैं गरी आउन थाल्यो । दशैंको मुखमा एक जना झापाली पत्रकार मित्रले सामाजिक सञ्जालमा लेख्नु भएको थियो कि ‘गाउँको रेडियोमा फोन गरेर बिदेशमा हुने मेरा फलाना फलानालाई दशैको शुभकामना भन्दै छन् केही स्रोता । कति हास्नु’ । उनको त्यो स्टाटसले मेरो मनलाई केही नभनी बस्न सक्ने अनुमति मलाई दिएन र मैले उनको स्टाटसको कमेन्ट यसरी गरें ‘यो हाम्रो बिडम्बना हो ।
पत्रकारका नेता भनाउँदाहरूको रेडियो प्रतिको बुझाई यस्तो छ । नबुझे बुझेकालाई सोध्नु नत्र सामाजिक सञ्जालमा यस्तो दरिद्रता प्रस्तुत नगरेको भा पनि हुन्थ्यो’ । उनलाई मेरो कमेन्ट मन पर्ने कुरै भएन र झोंकिएर त्यही कमेन्टको प्रतिउत्तरमा मसँग बेस्सरी बमकिए छन् । त्यो हेरेर मलाई हाँस उठ्यो बस अरु लेख्न मन गरिन ।

त्यसको केही दिन पछि फेरी सुनें कि झापाको एउटा रेडियोले सबै कर्मचारीलाई बिदा ग¥यो रे । बढो गजब ! दशैंको मुखमा त झन उत्साहका साथ काम गर्ने बेलामा सबै कर्मचारी बिदा गर्ने कुरा अलि मेल नखाए जस्तो लाग्यो । किन यस्तो भएछ भनेर बुझ्न खोज्दा त आपसी असमदारी र आर्थिक कुरा पनि जोडिएको कुरा सुन्नमा आयो । त्यसै प्रसङ्गमा त्यो रेडियोका प्रमुखसँग कुरा गर्दा कर्मचारी बिदा गरेको पुष्टि भयो र उहाँले त्यस भन्दा पछि अरु कुरा बताउन चाहनु भएन ।
माथिका घट्नाव्रmमलाई किन उठान गर्न खोजिएको हो भने झापामा मात्र होइन देशैभरि रेडियोका बारेमा हामी र हाम्रा सरोकारवालाहरुले बुझ्न र बुझाउन सकिरहेको अवस्था छैन । स्रोताले सुनेर र बिज्ञापन दाताले आर्थिक भर थेक गरेर मात्र रेडियो चलिरहेको छ भन्ने बुझाई पर्याप्त हुँदैन । रेडियो अहिले पनि प्रभाव र पहुँचका हिसाबले सबैभन्दा पहिलो रोजाईको सञ्चार माध्यम हो । अहिले पनि नेपालमा ८२ प्रतिशत नागरिकले सुचना प्राप्तिको पहिलो माध्यम एफएम रेडियोलाई नै बनाएका छन् ।

झापा जिल्ला कै कुरा गर्ने हो भने १५ वटा एफएम रेडियो प्रसारण भइरहँदा झापाका हरेक घरमा कुनै न कुनै रेडियो सुन्न सकिने अवस्था छ । त्यसको तुलनामा ८ लाख १२ हजार ६ सय ५० जनसङ्ख्या भएको झापामा दैनिक ७ वटा पत्रिका प्रकाशित हुन्छन् । तर, तिनीहरु दुरदराजसम्म सबैको घर दैलोमा पुग्दैनन् । यो अवस्थामा झापाको भुगोलका लागि पनि रेडियो नै सूचनाको पहिलो माध्यम बनेकोको छ भन्दा गलत नहोला । त्यसैले शहरी क्षेत्रका सीमित घेराभित्र बसेर रेडियोका बारेमा मूल्याकङ्न गर्ने अनि धारणा बनाउँने कुरा आफैंमा गलत छ । पछिल्ला दिनमा स्थानीय रेडियोहरु साँच्चै आवाज बिहिनका आवाज बनेका छन् । रेडियोमा बजेका पर्व बिशेष खालका गीत सङ्गीतको माध्यमले तीज घरघर पुगेको छ । त्यस्तै दशैं तिहार छट पर्व मात्र होइन बुद्ध जयन्ती र लोसार अनि बैसाखु बथर, व्रिmसमस, ईद पनि रेडियोले आम नागरिकको घरघरमा पु¥याएको छ । एक जना मित्रले भनेको कुरा यहाँ उल्लेख गर्न मन लाग्यो । मेरा एक मित्रको भनाइमा रेडियोले तीजको गीत नबजाएसम्म तीज आए जस्तो हुँदैन रे अनि रेडियोको प्रसारणमा मङ्गलधुन सुरु नभएसम्म दशैंको रौनकले छोप्दैन रे । यो आम मानिसको बुझाइ हुँदै गएको छ । त्यसैले हामी रेडियोमा आबद्ध भएकाहरुले रेडियोको शक्तिलाई बुझ्न जरुरी छ । अनि अन्य माध्यममार्फत सूचनाको प्रसारमा लागि रहनु भएका आदरणीय पत्रकार साथीहरुलाई पनि मेरो अनुरोध कि रेडियो आम जनताका लागि एउटा शक्ति हो । तसर्थ गाउँ मै भएका रेडियोका बारेमा कुनै नकारात्मक टिप्पणी गरेर दुरदराजका नागरिकको सबैभन्दा नजिकको साथी बनेको रेडियोलाई अवमूल्यन गर्ने काममा नलागौं ।

रेडियो सुचना र मनोरञ्जनको माध्यम मात्र होइन यो त एक्लो पनको साथी पनि हो । त्यसैले समाज निर्माण र उन्नतीका लागि आम नागरिक समुदायले स्थानीय रेडियोहरुलाई सकारात्मक रुपमा भरपुर उपयोग गर्न सक्नु पर्दछ । जय रेडियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: