एक्सेल बैङ्क अब पाँच जिल्लामा

  प्रकाशित मिति
२४ चैत्र २०७४, शनिबार १०:२८


विर्तामोड । एक्सेल डेभलपमेन्ट बैङ्कलाई प्रदेश नं. १ को सुदृढ बैङ्किङ संस्थाको रुपमा विकास गरिने भएको छ ।

बैङ्कको शुक्रवार विर्तामोडमा सम्पन्न विशेष साधारण सभाले बैङ्कलाई प्रदेशस्तरको बनाउने र त्यही अनुरुपको बैङ्किङ सुविधा दिने योजना अनुरुप थप दुई जिल्लामा सेवा पुर्याउने प्रस्ताव पारित गरेको छ ।

झापा, मोरङ र इलाम जिल्लामा यस अघि बैङ्किङ सेवा दिदै आएको एक्सेलले अब सुनसरी र पाँचथरमा समेत सेवा विस्तार गर्ने भएको हो ।

हाल २२ शाखा रहेको एक्सेलले आगामी बर्षभित्र थप १० शाखा खोल्ने योजना बनाएको बैङ्कका सञ्चालक समिति अध्यक्ष हेमराज ढकालले बताएका छन् ।

एक्सेल बैङ्कको चुक्ता पूँजी हाल ६९ करोड नाघिसकेको छ । ५० करोड चुक्ता पूँजी भएको विकास बैङ्कले ५ जिल्लामा सेवा विस्तार गर्न पाउने नेपाल राष्ट्र बैङ्कको नीति रहेको छ ।

चुक्ता पूँजी धेरै भएको र वित्तीय आधारमा बलियो भएको कारण एक्सेल बैङ्कलाई राष्ट्र बैङ्कले नै थप जिल्लामा सेवा विस्तार गर्न आग्रह गरेको थियो ।

यहीकारण बैङ्कले विशेष साधारण सभा आयोजना गरी ५ जिल्लामा सेवा पुर्याउने र प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताव पारित गरेको कम्पनीका सचिव श्याम बोहोराले बताए ।

अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा भएको साधारण सभामा उपाध्यक्ष गणेशप्रसाद खनालले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने सञ्चालक सदस्य सुरेश बंशल, पत्रकार चन्द्र भण्डारी र मोहन काजीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममै एक्सेल बैङ्कका तर्फबाट पत्रकार सहारा उपचार कोषका लागि १ लाख १ हजार रुपैयाँ नेपाल पत्रकार महासङ्घ झापालाई हस्तान्तरण गरिएको थियो ।

महासङ्घ झापाका उपाध्यक्ष एकराज गिरी र पूर्व महासचिव चन्द्र भण्डारीले कोषलाई सहयोग वापत प्रदान गरिएको रकमको चेक ग्रहण गरेका थिए ।

२०६२ सालमा २ करोड पूँजीबाट सञ्चालनमा आएको एक्सेल बैङ्कले सुरुका दिनदेखि नै उत्कृष्ट बैङ्किङ सेवा प्रदान गर्नुका साथै सञचालक तथा शेयरधनीहरुलाई मुनाफा दिदै आएको छ ।

अरु धेरै विकास बैङ्कहरु मर्जिङको प्रक्रियामा गए पनि एक्सेल बैङ्कको आधार बलियो भएको कारण अब उसले प्रदेश स्तरको बैङ्कको रुपमा उभ्याउन सफलता पाएको छ ।

एक्सेल भविष्यमा प्रदेश नं. १ का १४ वटै जिल्लामा शाखा खोलेर सेवा विस्तार गर्ने योजनामा रहेको अध्यक्ष ढकाल बताउँछन् ।

यसै वर्ष विर्तामोडमा केन्द्रीय कार्यालय र बनियानीमा शाखा कार्यालय निर्माणका लागि बैङ्कले जग्गा खरिद गरिसकेको छ ।

कार्यक्रममा एक्सेल बैङ्कका सीइओ दिनेशकुमार पोखरेलको समेत उपस्थिति रहेको थियो ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: