एक अर्ब ३२ लाखको बजेट पारित

  प्रकाशित मिति
२७ पुष २०७४, बिहीबार ११:०९


इटाभट्टा । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि १ अर्ब ३२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको बुधवार आयोजित प्रथम नगर सभाबाट सो बजेट पारित भएको हो ।
नगर सभाको बैठकमा उपप्रमुख मीना उप्रेतीले बजेट प्रस्तुत गरेकी थिइन् । छलफलपछि बजेट सर्वसम्मत पारित गरिएको थियो ।

बजेटमा आयतर्फ आन्तरिक श्रोतबाट ४ करोड ५६ लाख २७ हजार ३१६ रुपैयाँ ५१ पैसा, बाह्य श्रोतबाट ९३ करोड ६८ लाख ६० हजार ७४० रुपैयाँ र अन्य श्रोतबाट २ करोड ७ लाख ११ हजार ९४४ रुपैयाँ जुटाइने उल्लेख छ ।

यसैगरी, खर्चतर्फ प्रशासनिक (उपभोग) शीर्षकमा १२ करोड ९८ हजार २६९ रुपैयाँ र पूँजीगत शीर्षकमा ८८ करोड ३१ लाख १ हजार ७३१ रुपैयाँ विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

खर्चमा हरेक वडालाई १ करोड १५ लाखका दरले छुट्टै बजेट दिइने र ३ करोड ५० लाखको ट्याक्टर, टिपर, एक्साभेटर र ग्रेडर खरिद गरिने बजेटमा उल्लेख छ ।

नगरसभाको बन्द सत्रमा नगर प्रमुख विमल आचार्यले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उपप्रमुख मीना उप्रेतीले सभाको अध्यक्षता गरेकी थिइन् भने उपप्रमुखले बजेट प्रस्तुत गर्दा प्रमुखले सभाको अध्यक्षता गरेका थिए ।

पदाधिकारी तलव प्रस्तावमा छलफल आज
मेचीनगर । पदाधिकारीहरुको तलव विषयमा केही विवाद भएपछि मेचीनगर नगरपालिकाको पहिलो नगरसभा विहीवारका लागि लम्बिएको छ ।

बुधवार उद्घाटनकै दिन सभा सक्ने नगरपालिकाको तयारी रहे पनि छलफल नटुङ्गिएका कारण बैठक विहीवारसम्म लम्बिएको एक वडा सदस्यले लोकतन्त्र पोस्टलाई जानकारी दिए ।

उद्घाटन सभामा सांसद, दलका नेता र पत्रकारलाई सहभागी गराइए पनि सभाको बैठक पत्रकारहरुलाई प्रवेश निषेध गरिएको बन्द सत्रमा गरिएको थियो ।

नगरको वार्षिक नीति तथा कार्यक्रम, बजेट, विधेयक जस्ता महत्वपूर्ण जनसरोकारका विषयमा बन्द सत्रमा छलफल गरिएका थिए । नीति र बजेट बैठकबाट पास भएका छन् ।

तर पदाधिकारीहरुको तलव बारे कार्यकारी अधिकृत पुरुषोत्तम सुबेदीले प्रस्ताव प्रस्तुत गरे लगत्तै सभाका सदस्यहरुले त्यसमा व्यापक छलफल हुनु पर्ने माग गरेका थिए ।

कार्यकारी अधिकृत सुबेदीको प्रस्तावमा मेयर, उपमेयर, वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडाका सदस्यहरु सबैलाई मासिक तलव दिने उल्लेख छ ।

नगरपालिकाको बोर्ड बैठक (कार्यपालिका बैठक)ले एक साता अघि नै पास गरेको सो तलब सम्बन्धी प्रस्ताव नगरसभाबाट पास भएपछि मात्र कार्यान्वयनमा आउने छ ।

नाम उल्लेख नगरिदिन आग्रह गर्दै ती वडा सदस्यले बुधवार प्रस्तुत भएको तलब प्रस्तावमा वडा सदस्यलाई नगरपालिकाको कुचीकारको भन्दा पनि न्यून रकम तोकिएको भन्दै गुनासो व्यक्त गरे ।

ती वडा सदस्यका अनुसार नगरपालिकाको प्रस्तावमा मेयरको ४० हजार, उपमेयरको ३५ हजार, वडाध्यक्ष र कार्यपालिका सदस्यको २३ हजार, वडा सदस्यको मात्र ७ हजार मासिक तलव हुने उल्लेख छ ।

विहीवार बैठक पुनः सञ्चालन हुने र त्यसबाट तलब लगायतका प्रस्तावहरुलाई पारित गराइने भएको छ ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: