एक नम्बर प्रदेश, सम्भावना र नेतृत्वको सवाल

  प्रकाशित मिति
२९ भाद्र २०७४, बिहीबार ०४:००


keshav 2
केशवराज पाण्डे

आज देश अत्यन्त कठिन घडीबाट गुज्रदै गरेको अवस्था छ । लामो समयको कठिन यात्राले निराश बन्दै गरेका आम नेपालीहरूमा आफ्नो भविष्य जस्तै भावी पिढीको चिन्ता अनि अनिश्चितताको थुप्रै ज्वारभाटाहरु भविष्यमा रुमलिँदै गरेको अवस्था छ । सुन्दर भविष्यको परिकल्पना बोकेर प्रजातन्त्र, लोकतन्त्र, बहुलवादका सपना सजाएर पटकपटक यो देशका जनताले लामो समयदेखि कठिनपूर्ण जनआन्दोलनहरुमा आफूहरुलाई नहोमेका पनि होइनन् । कैयनले आफ्नो जीवन पनि आहुति दिनु पर्यो । कति अङ्ग भङ्ग भए, कल्पना गर्न नसकिने घटनाक्रमले देश आक्रान्त बन्यो । यावत घटनाचक्रको उद्देश्य मात्र एउटै थियो, त्यो हो स्वतन्त्रतासहितको आर्थिक समृद्धि । जसले नेपाली जनताको ओठमा मुस्कान छर्न सक्दथ्यो । नेपालीहरुमा देखिएका गरिबी, अभाव, पीडा अनि कठिनाइको अन्त्य हुन सक्ने थियो ।

लामो समयपछि अब देशले प्रगतिको मार्ग पहिल्याउने अवस्थाको केही आधारहरु निर्माण हुने क्रम प्रारम्भ हुँदै थियो । दुर्भाग्य भनौँ प्रकृति प्रकोप भनौँ वा भारतले लगाएको अघोषित नाकाबन्दीले फेरि पनि नेपाली जनतामा एउटा पीडा थपेर गएको छ । फेरि पनि हाम्रो धैर्य अनि सहन सक्ने हाम्रो ताकतले पुनः हामी आफ्नो स्वाभिमानसहित आफ्नो भाग्य बलियो बनाउन एकताका साथ हातेमालो गर्ने क्रममा छौँ ।

अब मुलुकको आर्थिक समृद्धिको मूलमार्ग पहिल्याउने सन्दर्भमा पहिलो आधार भनेको राजनीतिक स्थिरता नै हो । अब राजनीतिक पार्टीमा विश्वासको सङ्कट दूर गर्न जरुरी छ । अब आफ्नो भन्दा मुलुकको हितलाई सर्वोपरी मान्न जरुरी छ । समयले निम्त्याएको विकासका हरेक कदममा अवरोध गर्ने अधिकार अब कसैमा निहित रहनु हुँदै हुँदैन । निजी स्वार्थहरुलाई तिलाञ्जलि दिँदै हरेक ठाउँबाट राष्ट्र निर्माणमा जुट्नै पर्दछ । आजको यो अवस्थामा हामी जुट्दै गर्दा नेपाली जनताले जनताको प्रतिनिधिबाट लेखिएको संविधान प्राप्त गरिसकेका छन् । यो महत्वपूर्ण दस्तावेज प्राप्त गर्दै गर्दा हामीहरुमाझ कहिँ कतै असहमतिहरु पैदा भएका होलान् । फेरि पनि देश र आम जनताको मर्म भावना स्मरण गर्दै कतिपय विषयहरुमा समझदारीहरु गर्दै अगाडि बढ्ने क्रममा आज स्थानीय निकायको निर्वाचनसम्म कहिँ भइसकेको छ भने कतै स्वच्छताका साथ हुने क्रममा छ ।

केन्द्रको थुप्रै अधिकारहरु स्थानीय तहमा केन्द्रित भएका छन् । विकासका प्रशस्त सम्भावनाहरुका खाता खोलिने क्रममा हामी पुग्दै गरेको अवस्था छ । लामो समयपछिको स्थानीय निर्वाचन, पूर्ण अधिकारसहित आफ्नो स्थानीय निकायहरुलाई आधार मान्दै लोकल विकास निर्माणको जवाफदेहितासहित अबको नयाँ संरचनाले मूल बाटो पहिल्याउने छ । लामो सङ्घर्षले देशमा निजी क्षेत्र फस्टाउन सकेको छैन । ठूला उद्योग धन्धाहरु सञ्चालन हुन सकेको अवस्था छैनन् । रोजगारको अभाव भएकै कारण सम्भावनाको खोजीमा ठूलो युवा जमात विदेशिएको अवस्था छ । त्यसलाई रोक्न अब केवल नारा र भाषणले मात्र पार पाउँदैन । त्यसका लागि आफ्नो देशभित्र भएका पर्याप्त सम्भावनाहरुलाई निर्माणमा अनि व्यवहारमा जगाउन जरुरी छ ।

developmentहामीले अब स्वरोजगारमूलक कार्यक्रमहरुको सिर्जना गर्नु छ, उद्यमशीलताको विकास गर्नुछ, अब हामी प्रदेशीय अवधारणामा प्रवेश गर्दै गर्दा प्रदेशीय अवधारणाले निर्माण गर्ने नीति तथा कार्यक्रमहरु आफ्नो प्रदेशमा सुन्दर अनि परिस्कृत रुपमा पहिचान योग्य आत्मीयताको जग बसाल्नु पर्ने छ । हरेक प्रदेशहरुले आआफ्ना प्रदेशभित्र पर्ने अनि देखिएका प्रचुर अवसर अनि सम्भावनाहरुको परिष्कृत पहिचान गर्न जरुरी छ । लामो समयको कठिन अवस्थाबाट गुज्रदै गरेका आम नेपालीहरु अब मात्र परिणामको प्रतिक्षामा सचेतताका साथ उभिएको अवस्था छ ।

प्रदेश नम्बर १ को सन्दर्भलाई जोड्दै गर्दा नेपालीको सुदूरपूर्वमा अवस्थित हिमालबाट तराईसम्म जोडिएको सुन्दर प्रान्तको रुपमा यो प्रान्तलाई हरेक दृष्टिकोणले उत्कृष्ट प्रदेश निर्माण गर्न सकिन्छ । यो प्रान्त प्राकृतिक सम्पदा सम्पन्न हरियाली नै हरियालीको भण्डार, कृषि बन, भूमि, जलस्रोत, पर्यटन (धार्मिक पयर्टन), औद्यौगिक सभावनाहरुले आर्थिक र सामाजिक अवस्थाको सुधारका लागि ज्यादै ठूलो महत्व राख्न सक्ने प्रदेश बन्न सक्दछ ।

दुई छिमेकी राष्ट्रहरु समृद्ध बन्दै गरेको अवस्था छ । चाइनाको लासासँग जोड्ने सबैभन्दा नजिकको नाका ताप्लेजुङको ओलाङचुङगोला नै हो । त्यस मार्गलाई राष्ट्र राजमार्गका रुपमा निर्माण गर्न जरुरी छ । त्यस्तै किमाथाङ्का अर्को महत्वपूर्ण व्यापारिक रुपमा बन्न सक्छ । नेपालले २०५४ सालमा प्राप्त गरेको नेपाल बङ्गलादेश जोड्ने पारवहन मार्ग जो तेस्रो राष्ट्र बङ्लादेशको भूमिसम्म हाम्रा माल बाहक सवारी साधान प्रवेश गर्न सक्दछ, यो नाकाको अवसरले हाम्रा उत्पादनहरुको बजारिकरणलाई ठूलो अवसरको रुपमा सदुपयोग गर्न सकिन्छ । जुन यसै प्रान्तसँग जोडिएको छ ।

सार्क रोडलाई सडक मार्गबाट व्यवस्थित गर्ने परियोजना अनुसार नेपालको पूर्वी नाका काँकरभिट्टाबाट बङ्गलादेश, भुटान, बर्मा, थाइलेन्डलगायत भारतको नर्थइस्टका राज्यहरुसँगको हाम्रो प्रत्यक्ष व्यापारमा आधार कोर्दैछ । ओलाङचुङ गोला किमाथाङ्काबाट पूर्वी नाकाको सहजताले यस प्रान्तको आर्थिक गतिविधिले समग्रमा प्रचुर विकासको ढोका खुल्ने छन् । जुन हाम्रो सुन्दर भविष्यको आधार बन्नेछ ।

समग्रमा विकासका प्राथमिकता निर्धारणमा साँच्चै विवेकपूर्ण काम गर्ने हो भने उपयुक्त प्रविधिको प्रयोग गर्दै जनताको मर्म भावनाहरुलाई मूल प्राथमिकतामा राखेर हरेक नीति तथा कार्यक्रमहरु परिचालित गर्न आवश्यक छ । शासनमा इमान्दार नेतृत्व र प्रतिवद्धताबाट मात्र यी सबै कुरा सम्भव पनि छन् । यो प्रदेश भित्रका प्रचुर सम्भावना कञ्चनजङ्गा जस्तै छर्लङ्ग छ । यसलाई नेपालको एउटा सुन्दरतम् नमूना प्रान्त बनाउन सकिन्छ ।

वातावरणीय दृष्टिले स्वच्छ, प्राकृतिक दृष्टिले मनोरम, सांस्कृतिक दृष्टिले समृद्ध, सामाजिक दृष्टिकोणले समतामूलक, आर्थिक दृष्टिकोणले प्रगतिशील र राजनीतिक रुपले स्वतन्त्र प्रान्तको रुपमा उभ्याउँदै गर्दा हाम्रो पहिलो प्रतिवद्धता सुशासन नै हुनुपर्दछ । नीति सिद्धान्त, आदर्श र निष्ठामा आधारित राजनीतिले त्यस दिशातिर प्रान्तलाई डोर्याउन सहजै सक्दछ । प्रजातान्त्रिक समाजवादको वास्तविक अर्थ र मर्मलाई आत्मसाथ गर्दै यो प्रान्तलाई सञ्चालन गर्ने अठोट र आँट भएको नेतृत्व यो प्रान्तलाई चाहिएको छ ।

(लेखक नेपाली काङ्ग्रेस झापाका कोषाध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: