एक हातमा भारत एक हातमा नेपाल

  प्रकाशित मिति
३ माघ २०७२, आईतवार १३:००


267609_183510731708019_7917230_n
हाम्रा बुबाआमाहरू भन्ने गर्नुहुन्थ्यो–‘सकेसम्म पुसमा घरको खाना नखानू !’ यसको तात्पर्य होला हिउँदको यो एक महिना परदेश हेर्नू, तीर्थाटन गर्नू, घुम्नू आदि । धेरै चोटी दोहो¥याइ दोहो¥याइ सुनेको त्यो कुराले हरेक साल पुस महिनाले मलाई झस्काउने गर्छ ।

संयोगको कुरा हो, यो पल्ट मैले पुरा पुस नभए पनि पुसका १० वटा दिन घरको खानाबाट बच्न पाएँ । आफ्नो आर्थिक विवशताले उन्मुक्त रूपमा भ्रमणमा, पर्यटनमा वा तीर्थाटनमा निस्कन सालाखाला नेपालीलाई मुस्किलै पर्छ । त्यही आर्थिक विवशता र मुस्किलको उकुसमुकुस बिचबाट नै मेरा साला हरि सिटौलाले ६ महिनाअघि मृगौला प्रत्यारोपण गरेर आएका थिए । डाक्टरसँग समय–समयमा भेट्तै गर्नुपर्ने उनको संवेदनशील यात्रामा यसपल्ट साथ दिन मैले आफूलाई उचित ठानें । एकातिर सालाको अस्पताल तथा डाक्टरसँगको भेटघाटमा साथी होइने, अर्कातिर नदेखेको स्थानको यात्रा र नयाँ अनुभव लिने मौका ।

२०७२ पुस १५ गते अर्थात् डिसेम्बर ३०, २०१५का दिन दिनको २.५५ बजे न्यू जालपाइगढीबाट कुद्नु पर्ने ट्रेन १५ मिनट ढिलो गरेर कुद्यो । गाडी या रेलमा चढिसकेपछि एक पल्ट सिटको गल्फत्ती, को कहाँ को कहाँ आदिको समस्या एक छिन हुने नै गर्छ । आफ्नै सिटमा भए पनि, अर्काकै सिटको भए पनि गत्फत्ती गर्नु पर्ने वा सुन्नु पर्ने परिहाल्छ ।

वेटिङ्मा टिकट काटेका आधा दर्जन जति आसामे मुस्लीम युवाहरू हाम्रो सिट भएको कोठै भनौं आवाद गरेर बसेका रहेछन् । सिटमा बस्न मात्रका लागि त त्यस्तो समस्या परेन उनीहरूले सरेर बस्ने ठाउँ छाडि दिए नै । तर राती सुत्न र बाहिरभित्र गर्न असुविधा हुने प¥यो भन्ने मनमा खेल्दै रह्यो । तर गलफत्ती सुरुभयो अब ती युवाहरूलाई त्यहाँबाट हटाउनका लागि । त्यस गल्फत्तीमा हामीभन्दा पनि त्यहीँ सामुन्नेको सिटमा बसेका सिलगढी महावीरस्थानका बङ्गाली परिवार बाबु, आमा र छोरा तिनै जना सरिक भए ।

छोरा चाहिँले ती मुस्लीम युवाहरूलाई त्यस कोठाबाट हट्न र अर्कैतिर जान दबाब दिन थाले– “जान् ! उदिके चलेन् ! चलेन् ! दुस्रा जायगा देखिए चलेन् ! हटेन् ! एदिके बसेन् ना !” उनलाई त्यहाँ आमालाई बस्न सुत्न सहज बनाउनु थियो ।

मुस्लीम युवामध्ये एक निकै जब्बर थियो । अरु चुपचाप बस्थे । ऊ बोल्यो– “आमी यैखाने बस्वो ! आपनार कोन आमीके जावार बोल्वो ! आपनार येइ ट्रेन किनिचन ?”

ती छोरा जङ्गिए– “आपनार आमी के धाक देछेन् ?”

ती मुस्लिमले उत्तरा गरे– “नाईं ! आमी केने धाक देमो ?” ती मुस्लीम युवा उतिकै बोले ।

“ताहो कि ? आपनार किनिचन येइ ट्रेन ? … येइखाने बस्वेन् ना ! उखाने जायगा देखिए जान् ! आमी दुई मास, तीन मास आगे टिकेट निछी सुविदारजन्य ! चलेन् चलेन् !! टीटीके बोलेन् !”

तर लोसेलोसे गरेर ती युवाहरू कोही त्यहीँ कोही पल्लाकोठाका सिटमा खाँदखुँद भएर बसिरहे । केरलातिर घर बनाउने मिस्त्रीको रूपमा काम गर्न हिडेका रहेछन् तिनीहरू । भरे साँझ परेपछि सिट छाडेर त्यहीँको भुईंमा बसे ।

चिसो थियो भुईँ । फोहोर थियो भुईँ । अरुअरु परिपरिका खानेकुरा निकाल्दै खाँदै गर्थे, किन्दै खाँदै गर्थे । तिनले साँझमा ट्रेन रोकिएको बेलामा स्टेशनमा खाना किनेर ल्याए, खाए र आआफ्ना गाम्छा ओछ्याएर भुईँमा, प्यासेजमा गुँडुल्किएर सुते । सुते मात्र कहाँ ! घुर् घुर् निदाए ।

हामी साला–भिना पनि कहाँ आफ्ना सिटमा बस्न पायौं र ! दार्जिलिङ तुङ्सुङ वस्तीका दुई राई दिदीबैनी, बैनीको छोरो, भिनाजु अलग अलग कोठामा परेका रहेछन् । उनीहरूले हामीलाई यताउता सरेर उनीहरूलाई एकैतिर हुन सहयोग गर्न अनुनय गर्न लागे । सिट बदल्दा पनि हामीलाई केही असुविधा नहुने भएकाले उनीहरूको त्यो अनुनय हामीले मानिदियौं ।

त्यसपछि हाम्रो यात्रा स्थिर रह्यो । राती कतै केही देखिँदो होइन । रेलको छक्छक्, गड्याङ–गड्याङ् सुनिन्थ्यो र स्टेशनमा “फलाना ठाउँबाट फलाना ठाउँ जाने यति यति नम्बरको ट्रेन यति नं.को प्लेटफार्ममा लागिरहेको छ” भनेर हिन्दीमा, अङ्ग्रेजीमा र स्थानीय भाषामा दोहो¥याई दोहो¥याई सुनाउँथ्यो । त्यही सुनिन्थ्यो मात्र । कहाँ पुगियो कता पुगियो पत्ता थिएन । लाग्थ्यो– ‘हामी फलानो प्रान्तको फलानो स्टेशनमा पुग्दैछौं’ भनेर ट्रेनभित्रका यात्रुलाई जानकारी भए कति राम्रो हुन्थ्यो !”
भोलिपल्टको उज्यालोमा झ्यालछेउमा बसेर बाहिरका दृश्यहरू हेर्न रमाइलो लाग्यो । “ए .. चा ! कफी ! ए गरम् चा !” आदि भन्दै व्यापार गर्नेहरू “ए पानी ! पानी पानी ! एक बतलका बीस ! दु बतलका तीस ! पानी पानी !” भन्दै पानी बेच्नेहरूले रनघन पार्थे । चुट्की बजाउँदै ‘हिजडा’ भनिने तेस्रो लिङ्गीको ५÷६ जनाको समूह आउँथ्यो । ‘प्याट् प्याट्’ पार्दै प्राय युवाहरूसँग हातैले पाखुरामा, घुँडामा ठेल्दै पैसा माग्थे । दस रूपैयाँ भन्दा घटीमा नमान्ने । कुनै एकलाई दिए अरुले दोहो¥याएर नमाग्ने गर्थे । यात्राको सुरुमै केही दसका नोट तिनलाई दिनका लागि र केही खुजुरा पैसा सफा गर्दै माग्नेलाई दिनका लागि यात्रुले जोहो गरेको बुझिन्थ्यो । ती तेस्रो लिङ्गीहरू बुढाबुढीसँग, महिलासँग, रोगी वा अपाङ्गता भएकासँग, जोडी नै बसेका छन् भने तिसँग पनि, भीक्षुहरूसँग वा साधुसन्यासीसँग हात पसार्दा रहेनछन् । यस्तै हेर्दै यात्रा बढिरह्यो ।

बाहिर देखिने दृश्य नेपालको भन्दा सारै भिन्न त होइन, तर खेतीको तरिका, खेती लगाउँदै गरेका दृश्यहरूले आँखा तान्थे । काहीँ रातैरातो माटो–ढुङ्गा देखिने, कतै कालैकाला, डढेको अँगारजस्ता ढुङ्गाको पहाड देखिने कुराले आँखालाई चटनी चखाउँथ्यो । केराको बगान आउँथ्यो कतै, एक नासका केराका बोटहरू लाइन मिलाएर रोपेको ठुलो चाक्लाका चाक्ला । कतै आलु नै आलुको खेती देखिन्थ्यो । धान नै धेरै त । छोटो धान । कतै पाकेर कुन्यू लगाएका, कुन्यू नै कुन्यू, कतै भर्खर हरियो फिरेको कति राम्रो बेँसी । साराका सारा टम्म हरियो धानको बेँसी । कतै रोप्तै गरेको दृश्य । कतै भर्खर व्याड राखेको । रेलको छक्क–छक्कसँग ढलक्–ढलक् हुँदै आँखाका दृश्यहरूको यो आनन्द अपार नै हो । पुसको बेला, उडिसातिर आन्ध्रतिर त्यस्तो जाडो पनि होइन, आनन्ददायी यात्रा ।

ताडीका बगैंचा देखिन्छन् कतै, ओहो ! कति हो कति ! नरिवलका बगैंचा कतै त्यस्तै गरी । जाँदाजाँदै त बिसाखापत्तनम्बाट उता लागेपछि हाम्रा वायाँतिर समुद्रको झल्को पनि पाइने । समुद्र नभएका ठाउँमा पनि समुद्रै झैं लाग्ने विशाल पानीका पोखरीहरू ।

नेपालमा पहिला जनकपुर चुरोट कारखानाको कच्चा पदार्थका लागि सिराहा, सप्तरी, धनुषातिर सुर्ती खेती व्यावसायिक रूपमा लगाएको देखिन्थ्यो । अहिले महोत्तरी, सर्लाहीतिर उखुखेती अलेलि देखिन्छ । नत्र अहँ व्यावसायिक खेती देखिँदैन । सप्तरी सिराहातिर अलिअलि आँप बगैंचा देखिन्छन् । नत्र त अहँ ऽ! धान खेती पनि व्यवस्थित रूपमा, बैज्ञानिक पाराले नेपालमा देखिँदैन । त्यतातिर कतै पनि यहाँ जस्तो घडेरीका लागि जमिन बाँझै छुट्याएको भने मैले देखिन ।
यात्राका व्रmममा मेरा मनमा नेपाल एक हातमा र भारत एक हातमा भएर कुन गरुङ्गो भनेर जोखिइ रहे । भारतसँग यसरी नेपाललाई जोख्नु नै बेठिक लाग्नसक्छ, तैपनि ठुलो खड्कुँडाको भात र सानो कसुँडीको भातको तुलना पनि त तुलनै हो । यसै पनि काँकरभिट्टाबाट मेची तरेर पानीटेङ्की हुँदै जसै हाम्रो गाडी एनजेपी रेलवे जङ्क्सनतिर दौडियो, हाम्रो दायाँतिर सडकका छेउमा उभिएका कन्टेनरहरू, पेट्रोल–डिजेल टेङ्करहरू, ग्यासबुलेटहरूको ताँती अटुट थियो । नेपाल प्रवेश गर्न व्यवधान गरिएर पालोमा बसेका यी गाडीहरू पानीटेङ्कीबाट क्वार्टर, रथखोला, नक्सलबाडी, सतभैया हुँदै हाथीघिसा चियाबगानसम्म अर्थात् १२÷१५ किलोमीटर परसम्म थिए । यसले नेपाल–भारत मित्रताको सम्झौटो च्यातिरहेको थियो र हामीलाई मुर्मु¥याइ रहेको थियो ।

हाम्रो गाडी दौडिरहेको थियो । एनजेपी पुग्न लाग्दा रेलवे जङ्क्सन यताको केही किलोमीटरको वातावरण, धुलोमैलो, फोहोर, आसपासका बिजोकका घरहरूले बिरक्ती लगाउँदै थिए । “रेलवे जङ्क्सन भनेको यस्तै फोहोर र घिनलाग्दो वातावरणको केन्द्र हो त ?” प्रश्न उठ्तै थिए मेरा मनमा । नेपालको पल्लाले खिच्न लाग्दै थियो ।
रेलवे प्लेटफार्म प्रवेश गरेपछि भारतको पल्लाले खिच्तै गयो । जसै म फर्किँदा चेन्नाईको प्लेटफार्ममा अर्को ट्रेनको प्रतीक्षामा बसेँ, मैले निक्र्योल निकाल्दै थिएँ, कमसेकम पनि भारत नेपालभन्दा पचास वर्ष अगाडि नै रहेछ । भारत प्रवेश गरेदेखि फर्केर नेपाल प्रवेश नगरुन्जेल काहीँ कतै बिजुली बत्ती धिपिक्क निभेको देखिएन । अझ बङ्गालबाट उता लागेपछिदेखि त सबै ट्रेनहरू बिजुलीबाट बिजुली गतिमा दौडिँदा रहेछन् । उडिसा, आन्ध्र, तामिलनाडुतिर रेलमा यात्रा गरिरहँदा लाग्यो भारत धेरै विकसित भएछ । सयौं स्थानमा मोटर गाडीले रेलवे पार गर्ने ओभरहेड ब्रिज बनिसकेका छन् र अनेक स्थानमा निर्माणाधिन छन् ।

एक–डेढ किलोमीटर लामा ती ओभरहेड ब्रिज बनेका र बन्दै गरेका देख्नु विकासको रफ्तार देख्नु नै हो । उसै त ठाउँठाउँमा नयाँ रेलवे जङ्क्सन, प्लेटफार्महरू बन्दै गरेका, नयाँ रेलवेको लिख बिछ्याइँदै गरेका देख्नु पनि विकासकै गति हो । यहाँ हाम्रो हाइवेमा बसहरू छिनछिनमा यताबाट उता र उताबाट यता दौडिए झैं त्यहाँ ती मिसिसिपी नदी जस्ता लामा ट्रेनहरू तीब्र गतिमा छिनछिनमा पार भैरहन्थे ।

म चकित पर्थेें । चेन्नाईको त्यो प्लेटफार्ममा हजारौं मान्छेहरूलाई प्रतीक्षाका लागि कुर्सी थिए, ती सबका लागि शीतलता दिने पङ्खा घननन घन्कीरहेका थिए, शौचालयको त्यस्तै व्यवस्था थियो, नुहाउनेहरू नुहाउँदै थिए, मोवाइल चार्ज गर्नका लागि ठाउँठाउँमा तिन–चार तिन–चार पोइन्ट ठिक्क थिए । ‘पिने का पानी’ भनेर धारा थिए । सारा यात्रुहरू आफ्ना मोवाइल चार्ज गर्न भ्याइरहेका थिए । सबै यात्रुहरूको पायकमा पर्ने गरी विद्युतीय अक्षरमा आउँदै गरेका ट्रेनहरूको नम्बर, ट्रेनको नाम, छुट्ने समय, प्लेटफार्म नम्बर, हिन्दी, अङ्ग्रेजी तथा तमिल भाषा र लिपिमा आउँथ्यो भने अझ टिभि स्व्रिmनमा पनि बिभिन्न विज्ञापनका सामग्री सहित आउँथ्यो । उता माइकबाट पनि त्यही सुचना प्रसारित भैरहन्थ्यो । ११ वटा प्लेटफार्म भएको त्यस जङ्क्सनमा रेलहरू छिनछिनमा आइरहन्थे, जाइरहन्थे । त्यही प्लेटफार्ममा बस्ताबस्तै मलाई लाग्यो हामी त पचास वर्षमा पनि त्यस स्तरमा पुगौंला के !

अझ यस पटकको यात्रामा रेलहरूको समय पालना पनि ठिक रह्यो । एनजेपीमा चढ्दा पन्ध्र मिनट ढिलो भएको ट्रेन २८०० किलोमीटर टाढाको कोएम्बाटोर पुग्दा तोकिएको समय भन्दा १ घण्टा मात्र ढिलो भएको थियो । तर फर्कंदा भने कतै फरक परेन । चेन्नाईबाट २२ गते ११.०० बजे प्रस्थान गरेर २४ गते बिहान ५.०५मा आइपुग्ने भनेको ठिक समयमा नै आइपुग्यो ।

कोएम्बाटोरमा तमिलबाहेक अरु भाषा भने चल्दैन भनेर बुझे हुन्छ । दुई–एक चल्तीफिर्तिका व्यावसायीले मात्र हिन्दी अलिअलि बुझ्छन् र अलिअलि अङ्ग्रेजी । अङ्ग्रेजी नजान्ने नेपालीका लागि भने त्यहाँ साँच्चैको विदेश हुन्छ । न त कुनै इशाराले काम काट्छ न बोलीले । आफैं असहाय भइन्छ । कुनै साइनवोर्ड देवनागरी लिपीमा हुँदैनन् र जम्मैजसो तमिल लिपीमा मात्र । बसहरूमा भने अङ्ग्रेजी नम्बरमा रुट नं. लेखिएको हुन्छ । त्यसैको भरमा मात्र हो यात्रा । अन्यत्रसँग मिल्ने भनेको त मुद्रा मात्र हो ।

धर्मका वारेमा भने धेरै कट्टरता देख्न पाइन्छ । शिवजीका, गणेशका, कार्तिकेयका तथा हनुमानका मूर्ति र मन्दिरहरू हुने । अप्पाबाबा भनिनेहरूको समूहसँग पनि हाम्रो रेलमा सहयात्रा रह्यो । कालो सर्ट, कालो धोती लगाउने निधारभरि सेतो तेर्सो बिगुत लगाएर बिचमा रातो टीका ऐना हेरीहेरी मिलाएर लगाउने उनीहरू बिहान १०÷१५ मिनेट र बेलुका १०÷१५ मिनेट एउटै डब्बामा भेला भएर भजन गाउने गर्थे । बुढादेखि दस–एघार वर्षका सम्मको त्यो पुरुषहरूको समुह थियो । तिनीहरू बिबाह गर्दैनन् भनेर भन्थे त्यहाँ । तिनीहरूले फुलका बोझा बोकेका थिए ।

मैले भारतको पल्ला हलुङ हुने दृश्य नदेखेको कहाँ हो र ! चेन्नाईबाट ट्रेन यता उत्तरतिर लाग्ने बित्तिकैतिर यति धेरै गरिबी र दुःखि लाग्ने वस्ती देखियो ! नेपालको कुनै ठाउँमा पनि त्यति गएगुज्रेको लाग्ने वस्ती देखिँदैन । रेलवे लाइनकै छेउतिर दुई–दुई पाता थोत्रा टिनले मात्र छानो ढाकेका भित्तो भत्किसकेका जस्ता झुपडीहरू, कुचुक कुचुक जोडिएर बाक्लै बसेपछि त्यस्तो बस्तीको फोहोरीपन कति डरलाग्दो हुन्छ ? त्यो हाम्रो झलक्क दृष्टिबाटै प्रष्ट हुन्थ्यो । त्यहाँ देखिने मान्छेहरूको पहिरन, तिनीहरूको त्यहाँको चालढालले बुझाउँछ नेपाल त कता हो कता धनी नागरिकहरूको देश हो । यस्ता दृश्य ठाउँठाउँ दोहोरिएर देख्न पाइयो । सिलगढी जाँदा सिलगढी पुगिसकेपछि महानदीको पुलमुनिको वस्ती पनि झन्डै त्यस्तै नमुनाको वस्ती हो ।

यसरी विरोधाभासका दृश्यहरू हेरेर म दस दिनको यात्रा गरेर फर्केँ । ‘उटी’ भन्ने भारतको नमुना र सुन्दर जो सिमला, दार्जीलिङसँग दाँज्ने गरिन्छ, त्यो सहर पनि हेरेँ मैले । त्यसको वारेमा भने बेग्लै चर्चा गरौंला ।
(मिति ः २०७२÷९÷२८ मा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: