झापा, १५ असार । एघार असारको भेटघाटलाई आधार मानेर दुई फरक विचार बोकेका राष्ट्रिय नेताहरु विश्वप्रकाश शर्मा र राजेन्द्र लिङ्देनबीचको राजनीतिक सम्बन्ध बारे चर्चा हुन थालेको छ ।
नेपाली कांग्रेसका महामन्त्री शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देन आआफ्नो ठाउँमा चर्चित छन् । दुबैको गृहजिल्ला झापा हो । यतिमात्र होइन, दुबैले मेची बहुमुखी क्याम्पसमा एउटै बेञ्चमा बसेर पढेका हुन् ।
नयाँ चर्चा यही असार ११ गते काठमाडौंमा भएको एउटा भेलापछि सुरु भएको हो । जुन कार्यक्रममा दुबै जना उपस्थित थिए । दुबैको हाँसोयुक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
असार ११ को भेला
मेची क्याम्पसमा एउटै कक्षामा पढेका पूर्व विद्यार्थीहरुको भेला थियो त्यो दिन । निम्तो मान्न शर्मा र लिङ्देन मात्र होइन, पूर्व मन्त्री समेत रहिसकेकी नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाई पनि गएकी थिइन् कार्यक्रममा ।
आपसी सौहार्दता बढाउन आयोजित सो भेटघाटले सहभागीहरुलाई पुराना कलेज पढ्दाका दिनहरु सम्झिन बाध्य गरायो । कार्यक्रम सकियो, तर सहभागीहरुका प्रतिक्रिया त्यसपछि छरिन थाले सामाजिक सञ्जालमा ।
शर्माले लेखे–दोस्ती अझै छँदैछ
राजनीतिमा शालिन नेताको छवि बनाएका शर्मा र लिङ्देन वैचारिक कित्ताको आधारमा फरक ध्रुवमा भए तापनि लामो राजनीतिक कालमा उनीहरुबीच व्यक्तिगत झगडा कहिल्यै छैन । भाषणमा घोचपेच चल्ने गरे तापनि अशिष्ट र व्यक्तिगत आरोप प्रत्यारोप पनि कहिल्यै चलेन ।
कार्यक्रमबाट फर्केपछि कांग्रेसका महामन्त्री शर्माले फेसबुकमा लिङ्देनसँगको किशोर बेलादेखिको दोस्ती अहिले पनि कायमै रहेको बताएका छन् ।
उनले लेखेका छन्–
राजनीति अलग/ मित्रता अलग !
राजेन्द्र लिङ्देन र म एउटै बेन्चमा बसेर पढेका बिद्यार्थी । पञ्चायतको अन्तिम बर्षहरुमा हामी मेची क्याम्पसको विद्यार्थी राजनीतिमा फरकफरक कित्ताको नेतृत्वमा थियौं । हाम्रो व्यक्तिगत मित्रता भने हाम्रो राजनीति भन्दा माथि थियो । आज पनि राजनीतिमा छौं, फरक ठाउँको नेतृत्वमा छौं । तर किशोर उमेरको हाम्रो त्यो दोस्ती अझै आत्मीय छ / छंदैछ / रहनेछ ।
हामी दुवै जान्दछौं राजनीतिक दर्शनको आग्रह–पूर्वाग्रह भन्दा माथि हुन्छ र हुनुपर्छ –व्यक्तिगत मित्रता र नितान्त आत्मीयता ।
चुनावमा पनि दोस्ती होला ?
एघार असारको काठमाडौं भेलाले झापाको राजनीतिमा नयाँ तरंग ल्याएको अनुमान गर्न थालिएको छ । अर्थात् आगामी निर्वाचनमा यी दुई युवा नेताबीच व्यक्तिगत सहयोग हुन्छ त ? गाइँगुर्इँ चर्चा पनि सुरु भइसकेको छ ।
शर्माको फेसबुक पोस्टमुनि नितेश बर्माले प्रतिक्रिया व्यक्त गर्दै लेखेका छन्–‘मित्रता र इतिहासको कुनै धर्म र कुनै पार्टी हुँदैन । हामीले धेरै आशा गरेका छौं तपाईहरुबाट ।’
फेसबुकमा कमेन्ट गर्दै हिरामणि दाहाल लेख्छन्–‘आगामी निर्वाचनमा पनि यो दोस्ती यो सामिप्यता कामय राख्न सके दुबैको जय हुनेथियो ।’
नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रिय सभाका सदस्य गोपालकुमार बस्नेतले पनि उनीहरुको दोस्ती कायम रहोस् भन्दै शुभकामना दिएका छन् ।
बस्नेत फेसबुक पोस्टमै कमेन्ट गर्छन्–‘बधाइ त्यसबेलाका क्लासमेटहरुलाई । तपाईहरुको राजनीतिक दलका कारणबाट हुने दूरीलाई आपसी सद्भाव र प्रेमले जितोस् ।’
चुनाव नजिकिदै गएको बेला…
भेला र भेटघाट संयोग मात्र हो कि योजनाबद्ध, यसको उत्तर नजिकिदै गरेको आम चुनावमा देखिनसक्ने विश्लेषण गर्न थालिएको छ ।
शालीन, लोकतान्त्रिक अभिब्यक्ति र व्यवहारका कारण शर्माले अरु राजनीतिक दलका समर्थकको समेत विश्वास जित्दै आएका छन् । आउँदो चुनावमा शर्मा फेरि उम्मेद्वार बने भने राप्रपाका समर्थकको मत उनलाई आवश्यक पर्नेछ । यो भेटघाटले राप्रपाको मत तान्न मदत पुग्नेछ ।
शर्मा र लिङ्देन दुबैको राजनीतिक संघर्ष नियाल्दा उनीहरु एक्लैले कहिल्यै संसदीय चुनावमा सफलता पाएका छैनन् ।
शर्मा दुईचोटी झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनको चुनावमा पराजित भइसकेका छन् । झापाको कांग्रेसभित्र कृष्णप्रसाद सिटौला र शर्माको खेमाबीचको खटपटपूर्ण सम्बन्धले पनि चुनावमा असर पुर्याउने गरेको कांग्रेसभित्रै चर्चा चल्ने गर्दछ ।
जनमत बढाउँदै लगेको राप्रपासँग शर्माले सम्बन्ध बढाउँदै लैजानु उनको चुनावी रणनीति अन्तर्गत नै पर्नसक्छ ।
त्यसैगरी, राप्रपाको महामन्त्रीबाट अध्यक्ष बनेका लिङ्देन पछिल्लो संसदीय चुनावमा नेकपा एमालेसँग तालमेल गरेका कारण प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
पछिल्लो चरणमा लिङ्देन एमालेसँग टाढिदै र कांग्रेससँग नजिकिदै गएका छन् । जसको पछिल्लो उदाहरण स्थानीय पालिका निर्वाचनमा देखियो । दमक नगरपालिकामा कांग्रेसले राप्रपा उम्मेद्वार राम थापालाई समर्थन गरेर जिताएको छ ।
सहज छैन तालमेल
दुबै नेताले रहर गरे पनि राप्रपासँग कांग्रेसको चुनावी तालमेल झापामा सहज छैन । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला राप्रपा र राप्रपाका अध्यक्ष लिङ्देनसँग धेरै टाढा छन् । गत संसदीय चुनावमा सिटौलाले उनै लिङ्देनसँग पराजित हुनुपरेको पक्कै भुल्न सक्नेछैनन् ।
झापा क्षेत्र नं. १ मा शर्मालाई राप्रपाको साथ चाहिएको छ । तर यसको बदलामा कांग्रेसले झापा क्षेत्र नं. ३ मा राप्रपाका लिङ्देनलाई समर्थन गर्ने विषय शर्माको बुताभन्दा बाहिर छ । सिटौलाले लिङ्देनलाई समर्थन गरेर चुनावी मैदान खाली गरिदिने कल्पना गर्न सकिदैन ।
लिङ्देन झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग चुनाव लड्न गए भने कांग्रेसले समर्थन जनाउने सम्भावना रहन्छ । तर, लिङ्देन आफुले वर्षौदेखि मिहेनत गर्दै आएको निर्वाचन क्षेत्र त्यागेर ओलीसँग भिड्न जाने जोखिम मोल्न चाहँदैनन् ।
राजनीतिका अनेक दाउपेच र रणनीतिबीच एघार असारको काठमाडौ भेलाले लिङ्देन र शर्माबीचको सम्बन्धलाई नयाँ गन्तब्यतर्फ लैजाने अनुमानलाई भने नकार्न सकिन्न ।