एघार दिनपछि खुले चिया बगान

  प्रकाशित मिति
२२ चैत्र २०७६, शनिबार २०:२८


भद्रपुर, २२ चैत । लकडाउन भएको एघार दिनपछि चिया बगानहरु खुलेका छन् । सञ्चालकहरुले आंशिक रुपमा बगान खुलाउनु परेको जनाएका छन् ।

नेपाल चिया उत्पादक संघका पदाधिकारी र स्थानीय प्रशासनबीच चिया क्षेत्रका समस्या बारेमा श्ुक्रवार छलफल भएको थियो । व्यक्तिगत सुरक्षा अपनाएर चिया बगानहरु खोल्न सरकारले नै अनुमति दिएपछि बगानहरु खुलेका हुन् ।

झापामा ३० वटा चिया फ्याक्ट्री र साना ठूला गरी तीन सयभन्दा बढी चिया बगान रहेका छन् । सबैभन्दा ठूलो बगान रहेको नेपाल चिया विकास निगमका झापा र इलाममा रहेका बगानहरु समेत खुलेका छन् ।

कोडिभ १९ सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनसँगै चिया बगानहरु स्वतः बन्द भएका थिए ।

नेपाल चिया उत्पादक संघका उपाध्यक्ष आदित्य पराजुलीले चियाको पहिलो मुना बगानमै हुर्किएर काम नलाग्ने भएपछि त्यसलाई काट्ने, स्प्रे गर्ने र पानी पटाउने लगायतका काम सुरु गरिएको बताए ।

‘फ्याक्ट्री चलाउँदा सरकारले कायम गरेको सामाजिक दुरीमा बसेर काम गर्न अप्ठ्यारो हुन्छ’, उनले भने, ‘चिया बगानको काम माक्स, ग्लोब लगाएर गर्न सकिन्छ । त्यही भएर बगान नबिग्रियोस् भनेर अहिले आंशिक रुपमा काम सुरु गरेका छौं ।’

सुरक्षित तवरले मजदूरलाई काम लगाउने सकिने वातावरण भए आगामी अवस्था हेरेर पूर्ण रुपमा चिया बगान र कारखाना खोलिने पराजुलीले बताए ।

नेपाल चिया विकास निगम लिजमा सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कन्याम, टोकला, बर्नेलगायतका इलाम र झापामा रहेका बगान र फ्याक्ट्रीहरु पूर्ण रुपमा खोलिएको जनाएको छ ।

त्रिवेणी ग्रुपका सञ्चालक सुवास साङ्घाईले चिया बगानमा मजदूरलाई हात धुने साबुन पानी, माक्सलगायतका व्यक्तिगत सुरक्षाका सामग्रीको व्यवस्था गरेर काममा लगाइएको बताए ।

‘पत्ती टिप्ने बेलामा भएको थियो’, उनले कोभिड १९ का कारण चिया बगानमा ठूलो क्षति भएको बताउँदै भने, ‘त्यही बेला नेपालमा पनि कोभिडको संक्रमणका कारण सरकारले लकडाउनको घोषणा गर्यो । मजदूरलाई काममा लगाएर पत्ती टिप्ने अवस्था रहेन, सबै छिप्पिएर जाँदा ठूलो क्षति भयो ।’

(अम्बिका भण्डारी/रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: