एघार वर्षदेखि रक्तचन्दन रुङेको रुङ्यै

  प्रकाशित मिति
९ पुष २०७५, सोमबार २१:१९


जिल्ला डिभिजन बन कार्यालय झापामा रक्तचन्दन शिलबन्दी गरिएको प्रशासन र मुद्धा फाँट ।

भद्रपुर । लिलामीको कानूनी प्रक्रिया सहज नहुँदा जिल्ला डिभिजन बन कार्यालय झापाको दुई कोठामा रक्तचन्दन काठ ताल्चा लगाएर राखिएको एघार वर्ष बितिसकेको छ ।

बेचबिखन गर्न प्रतिबन्ध लगाइएको सो काठ २०६३ र २०६४ सालमा भारतबाट तस्करी भएर नेपाल भित्रिदा बरामद गरिएको थियो ।

१९ हजार ८ सय ३२ किलोग्राम तौलको सो काठको प्रचलित मूल्य करिब डेढ करोड रुपैयाँ रहेको बन कार्यालयले जनाएको छ ।

बन कार्यालयको तल्लो तलाको साविक मुद्धा र प्रशासन फाँट रहेको कोठामा शिलबन्दी गरी ताल्चा लगाएर राखिएको रक्तचन्दन रुङ्नका लागि दुई जना कर्मचारी छुट्टै खटाइएको सहायक बन अधिकृत देवेन्द्र उप्रेतीले बताए ।

बहुमूल्य काठ भएकाले सुरक्षाका लागि दुई जना कर्मचारी निरन्तर खटाउन र दुई कोठा नै ११ वर्षदेखि शिलबन्दी गरेर राख्नु पर्दा बन कार्यालयले रक्तचन्दनका कारण लामो समयदेखि अतिरिक्त सकस भोग्नु परिरहेको छ ।

रक्तचन्दनको कानुन बमोजिम बेचविखन, लिलाम र फिर्ता गर्न नसकेर डिभिजन कार्यालयमै थन्किएको सहायक बन अधिकृत उपे्रती बताउँछन् ।

उनका अनुसार वन तथा वातावरण मन्त्रालयमा पटकपटक पत्राचार गरे पनि मन्त्रालयले रक्तचन्दन थान्को लगाउने विषयमा हालसम्म कुनै निर्देशन दिन सकेको छैन ।

मुद्दा र प्रशासन फाँटको कोठामै रक्तचन्दन थन्क्याइएपछि कार्यालयको दैनिक कामकाज समेत प्रभावित भएको छ ।

‘हाल कार्यालयमा कोठा अभाव छ’, उनी भन्छन्–‘दुईवटा कोठामा रक्तचन्दन थन्क्याएपछि मुद्धा र प्रशासन हाल एउटै कोठाबाट काम चलाउनु परेको छ ।’

रक्तचन्दन थन्क्याइएको कोठामा पुराना विभिन्न मुद्धाका फाइलहरु थुनिएका छन् । शिलबन्दी खोल्न नमिल्ने भएका कारण भित्रका फाइल हेर्न नपाउँदा ११ बर्ष अघिका कतिपय मुद्दा फछ्र्यौट गर्न कठिनाई भएको उप्रेती बताउँछन् ।

कार्यालयले शिलबन्दी कोठाको ताला खोलेर भित्रको सरसामान हेर्ने गरेको छैन । चन्दन काठकै कुन अवस्था छ भन्ने यकिनसाथ भन्न गाह्रो छ ।

कार्यालयको रेकर्ड अनुसार कोठाभित्र राखिएको १९ हजार ८ सय ३२ किलोग्राम रक्तचन्दनको ११ वर्ष अघि सरकारले तोकेको मूल्य प्रति केजी २५ रुपैयाँ रहेको थियो । तर अहिले सो काठको मूल्य बढेर प्रतिकेजी ८ सय रुपैयाँ पुगिसकेको छ ।

प्रहरीसहित बन कार्यालय झापाको टोलीले झापाको तत्कालीन टाघनडुब्बा गाविसको विभिन्न वडाबाट २०६३ पुस २ गते ६ हजार ३ सय ७५ केजी, २०६४ साउन १२ गते १ हजार ६ सय ८७ केजी र २०६४ साउन १३ गते ११ हजार ७ सय ७० केजी रक्तचन्दन बरामद गरेको थियो ।

सो काठ तस्करीमा संलग्न भएको आरोपमा झापा जिल्ला अदालतमा मुद्धा चलाइएका ६ जना अभियुक्त कैद भुक्तान गरी हाल रिहा भइसकेका छन् भने तस्करीमा प्रयोग भएको ट्रक समेत लिलाम भइसकेको छ ।

तर अन्तर्राष्ट्रिय कानून बमोजिम समेत संरक्षित बनपैदावरको सूचीमा रहेको कारण बरामद रक्तचन्दनलाई सरकारले लिलाम प्रक्रियाबाट बिक्री गर्ने निर्णय गर्न सकेको छैन ।

एक दशक अघि भारतबाट भित्राइएको रक्तचन्दन काठ चीनतर्फ लुकीछिपी ओसारपसार गर्ने धन्धा फस्टाएको थियो ।

सरकारले कडाइका साथ चन्दनको तस्करी धन्धा रोकेपछि बरामद भएका त्यस्ता काठको मात्रा देशभर अझ धेरै रहेको छ ।

कानूनी प्रक्रिया मिलाएर लिलाममा लैजाने नसकिने भए अरु कुन प्रक्रिया उपयुक्त हुने हो सोही बमोजिम यसको टुङ्गो लगाउनु पर्ने देखिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: