भद्रपुर । मानवअधिकारका लागि जनमञ्च पिपुल फोरमले वैदेशिक रोजगारीमा संलग्न १ हजार १ सयभन्दा बढी पीडितहरुलाई न्याय दिलाउन सकिएको जनाएको छ ।
फोरम झापाको आयोजनामा चन्द्रगढीमा शुक्रबार सम्पन्न आप्रवासी कामदारहरुको न्यायमा पहुँच प्रवर्धन योजना अन्तर्गत जिल्लाका सरोकारवालासँगको बैठकमा उक्त जानकारी दिइएको हो ।
वैदेशिक रोजगारको नाममा दलालमार्फत ठगिएका ११ सय भन्दा बढी पीडितहरुलाई न्यायिक निकायसम्म पुर्याइएको पिपुल फोरमले जनाएको छ ।
फोरमका कानुन व्यवसायी देवेन्द्र भण्डारीले झापाका विभिन्न ठाउँहरुमा गएको दुई वर्षभित्रमा २७ वटा वैदेशिक रोजगार सम्बन्धी जनचेतनामूलक कार्यक्रम र ११ सयभन्दा बढी रोजगार पीडितहरुलाई न्याय दिलाउन सकिएको बताए ।
उनले २०७३ सालदेखि हालसम्म सरकारी तथा गैर सरकारी संस्थाका ४० जना वैदेशिक रोजगार अधिकारीहरुलाई सुरक्षित वैदेशिक रोजगारबारे अभिमुखीकरण गराइनुका साथै ३० जना लाई विभिन्न तालिम र प्रशिक्षण समेत प्रदान गरिएको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी जितेन्द्रकुमार बस्नेत, सामी परियोजना झापाका संयोजक हरि मैनाली, झापा वारका अध्यक्ष सुरज खत्री, फोरम झापाकी अध्यक्ष यज्ञलक्ष्मी चौँलागाई लगायतले आफ्ना धारणा राखेका थिए ।