विर्तामोड । विर्तामोड–७ मेघाबारीमा निर्माणाधीन ग्रिनउड किन्डर होममा प्रयोग गरिएको एड्भान्स ब्रान्डको ओपीसी सिमेन्टले तीन साता बित्दा समेत ‘सेटिङ’ नलिएपछि विद्यालय प्रशासनले पत्रकार सम्मेलन गरी सिमेन्ट गुणस्तरहीन भएको दावी गरेको छ ।
बुधबार बिहान विद्यालयले सञ्चारकर्मीलाई भवनको अवलोकन गराउँदै उद्योग विरुद्ध मुद्दा हाल्ने तयारी गरिएको जनाएको छ ।
विद्यालयको जग निर्माण सम्पन्न गरी सिढी र पिलर उठाइएको सो भवनका पिलर र सिढीको सिमेन्ट झरेर विरुप देखिएको छ । एक करोड रुपैयाू लागत इस्टिमेटमा सुरु गरिएको भवनमा करिब ४५ लाख रुपैयाू खर्च भइसकेको सञ्चालक शान्तरत्न शाक्यले बताए ।
सिमेन्टको गुणस्तरमा खराबी देखिएपछि उद्योगबाट महाप्रबन्धक दीपक घिमिरे, जनसम्पर्क अधिकृत प्रदीप कोइराला साताअघि बिर्तामोड आई भवन निरीक्षण गरेर सिमेन्टमा त्रुटी रहेको स्वीकार गरे पनि त्यसयता अनेक प्रयत्न गर्दासमेत सम्पर्कमा नआएको शाक्यले बताए ।
‘हामीले सिमेन्टका कारण निर्माणाधीन भवनमा समस्या आएको बताएपछि निरीक्षणमा आएका अधिकारी उल्टै धम्कीको भाषा प्रयोग गर्दै फर्किए’, शाक्यले भने–‘अब हामीले उद्योगविरुद्ध कानुनी उपचारको बाटो खोज्नुको विकल्प रहेन ।’ शाक्यले आफूहरूले भवन पुनःनिर्माण गरिदिन विनम्रतापूर्वक आग्रह गरेको सुनाए ।
किन्डर होमका सञ्चालक शाक्यले सो सिमेन्ट स्थानीय घिमिरे आइरन स्टोर्सबाट खरिद गरेका थिए । पत्रकार सम्मेलनमा उपस्थित घिमिरे आइरन स्टोर्सका सञ्चालक राम घिमिरेले पनि सिमेन्टको गुणस्तरका सम्बन्धमा पहिल्यैदेखि गुनासो आइरहेको र आफूले बारम्बार उद्योगका अधिकारीलाई जानकारी गराएको बताएका छन् ।
बितेका दुई वर्षमा आफूले करिब ४० हजार बोरा एड्भान्स सिमेन्ट बेचेको घिमिरेको भनाइ छ । झापामा घिमिरेजस्ता एड्भान्स सिमेन्टका अधिकृत बिक्रेता ५ जना छन् । सो सिमेन्ट प्रयोग गरी झापामा सयौू घर निर्माण भएको घिमिरेको अनुमान छ । पत्रकार सम्मेलनमा विद्यालयका अर्का सञ्चालक गिरधर श्रेष्ठ समेत उपस्थित थिए ।