एनएमसीको साधारण सभामा चारजना कर्मचारी सम्मानित

  प्रकाशित मिति
२८ मंसिर २०७७, आईतवार १९:४२


मेचीनगर, २८ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २८औँ वार्षिक साधारण सभा अन्तरगतको माइन्युट प्रमाणित सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका संस्थापक सदस्य एवम् प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

मेचीनगर–७ स्थित एनएमसी डेरीको परिसरमा सम्पन्न माइन्युट प्रमाणित साधारण सभामा ४० वटै कार्यालयबाट चुनिएर आएका प्रतिनिधिहरु, विभागीय समितिहरु, सञ्चालक समिति र लेखा समितिका सम्पूर्ण प्रतिनिधिहरुको सहभागिता थियो ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख आतिथि सांसद मैनालीले प्रदेश सरकारबाट एनएमसीलाई नमूना सहकारीको रुपमा घोषणा गराउने पहल भइरहेको दावी गरे ।

साधारण सभाका विशेष अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीले सहकारीका सदस्यको मायाले नै आफूले उक्त पदमा विजय हासिल गरेको दावी गरिन् ।

मेचीनगरको कार्यवाहक प्रमुखसमेत रहेकी उप्रेतीले एनएमसीले कृषि क्षेत्रमा अग्रसर भएकाले सहकार्यका लागि मार्ग प्रशस्त खुलेको जानकारी दिइन् ।

उनले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै समितिको सिफारिसमा ५० लाख रुपैयाँ सहयोग गर्ने गरी बजेट व्यवस्थापन गरिएको बताइन् ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका झापा अध्यक्ष घनश्याम अधिकारीले एनएमसीले सुरु गरेका कतिपय नीति, नियम तथा विधि र प्रक्रियाहरु सहकारीका ऐन, नियम बनाउँदा सहयोगी बन्दै आएको स्मरण गराएका थिए । कार्यक्रममा सहकारीकर्मी दुर्गा खतिवडा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभा समारोहमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु गौतमले प्रतिवेदनमाथि संस्थाका ६ वटा क्षेत्रीय समितिका संयोजकहरुले ४० वटै कार्यालयको तर्फबाट संकलित प्रतिक्रिया तथा सुझावहरु बुँदागतरुपमा प्रस्तुत गरेका थिए ।

शिवसताक्षी क्षेत्रबाट गुरुप्रसाद पाठक, कनकाई क्षेत्रबाट मीनकुमार प्रधान र अर्जुनधारा क्षेत्रबाट धर्मानन्द गुरागाईले प्रतिवेदनमाथि टिप्पणी तथा सुझावहरु पेश गरेका थिए ।

त्यस्तै, बिर्तामोड क्षेत्रबाट शान्ता रोका, भद्रपुर क्षेत्रबाट यामनाथ शिवाकोटी र मेचीनगर क्षेत्रबाट कनकबहादुर कार्कीले कार्यालयगत साधाराण सभाबाट प्रस्तुत गरिएका सुझाव एवम् प्रतिक्रियाहरु सुनाएका थिए । उक्त बुँदाहरुमाथि संस्थाका अध्यक्ष उप्रेतीले संस्थाको धारणा तथा कार्यान्वयनको सम्भावना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सञ्चालक समिति सदस्य ठाकुरप्रसाद शिवाकोटीले सभाको प्रक्रिया, सहकारी ऐन नियम एवम् विभागले जारी गरेको परिपत्र बारे सभालाई अवगत गराएका थिए ।

साधारण सभाको अवसरमा ४ जना कर्मचारीहरु सम्मानित तथा पुरस्कृत भएका थिए । संस्थाले वर्ष उत्कृष्ट कर्मचारीका रुपमा आलेप विभागका सुबोध बुढाथोकीलाई पुरस्कृत गरेको थियो ।

यस्तै वर्ष उत्कृष्ट कार्यालय प्रमुखमा चारआलीका प्रकाश पौडेल, उत्कृष्ट बजार प्रतिनिधि काँकरभिट्टाका यादव थापा र दिर्घसेवा पुरस्कार सगरमाथा कार्यालयका पूर्वप्रमुख कृष्ण पौडेललाई प्रदान गरिएको छ ।

कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइराला र सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: