मेचीनगर ।। काकरभिट्टामा मुख्य कार्यालय सहित झापाका अन्य ठाउँहरुमा शाखा कार्यालय सञ्चालन गरिरहेकोे नेपाल बहुद्देशीय सहकारी संस्था(एनएमसी) लाई दिएको सिमित बैकिङ कारोबार गर्ने ईजाजत नेपाल राष्ट्र बैंकले रद्द गरेको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक सुचना प्रकाशित गरी एनएमसीलाई दिएको सिमिति बैकिङ करोबार गर्ने ईजाजत रद्द गरिएको जनाएको हो ।
नेपाल राष्ट्र बैंकले ईजाजत दिंदाको गरेको शर्त बिपरित एनएमसीले काम गरेको पाईए पछि सचेत गराउँदा पनि चित्त बुझ्दो जवाफ नआए पछि ईजाजत रद्द गर्नु परेको राष्ट्र बैंकले जनाएको छ ।
ओभर ड्राफ्ट प्रकृतिका कर्जा प्रदान गरेको, प्रबन्ध निर्देशक स्वयमको धितोमा आफु संलग्न समितिबाट निर्णय गरी कर्जा प्रदान गरेको, एकाघर परिवारका सदस्यहरुलाई कर्जा प्रदान गर्ने गरेको, संस्थाको दैनिक कामकारवाहीमा सञ्चालक समितिका सदस्यहरु संलग्न हुने, राष्ट्र बैंकको स्वीकृति नलिई शाखा सञ्चालन गरेको र अन्य सहकारी संस्थाहरुलाई आफुमा गाभ्ने गरेको, बिना कुनै योजना अन्य ब्यवशायमा लागानी गरेको र राष्ट्र बैंकको निरीक्षण प्रतिवेदनको बेवास्ता गरेको लगायतका संस्थागत सुशासन बिपरित गतिबिधि गरेका कारण देखाउँदै राष्ट्र बैंकले एनएमसीको सिमित बैंकिङ कारोबारको अधिकार खोसेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा १ को खण्ड “ज” बमोजिम मिति २०७४÷०२÷३० को निर्णय अनुसार एनएमसीको सिमिति बैंकिङ कारोबारको ईजाजत रद्द गरिएको नेपाल राष्ट्र बैंक लघुबित्त प्रबद्र्धन तथा सुवरिवेक्षण बिभागले जारी गरेको सार्वजनिक सुचनामा भनिएको छ । नेपाल बहुद्देशीय सहकारी संस्था नेपाल कै धेरै कारोबार भएको सहकारी संस्थाका रुपमा चिनिएको छ ।