मेचीनगर । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगरमा सञ्चालित एनएमसी डेरी उद्योगको आइतवार एक समारोहविच उद्घाटन गरेका छन् ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १२ करोड ७५ लाख रुपैयाँ लगानीमा स्थापना भएको सो उद्योगको दुग्ध प्रशोधन कारखाना मेचीनगर–१३ को इटाभट्टामा रहेको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष ओलीले आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सहकारीहरूको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै कृषिमा आधुनिकीकरण र व्यावसायिकरण तीब्र तुल्याउनु पर्ने धारणा व्यक्त गरे ।
गत वर्षको बैशाख १२ गतेदेखि परीक्षण उत्पादन गरिरहेको एनएमसी डेरीले हाल स्टान्डर्ड मिल्क, योगर्ड, दही, मोही, घिउ, पनिर, आइसक्रिम, खुवा र मिठाइहरू उत्पादन गरी झापा र मोरङ जिल्लाको बजारमा बिक्री गरिरहेको छ ।
एनएमसी डेरी उद्योगले हाल १७ सय किसानबाट ८ हजार लिटर दुध सङ्कलन गर्दै आएको र उद्योगमा ५२ जना कर्मचारीले प्रत्यक्ष रोजगारी प्राप्त गरेको डेरीका प्रबन्ध निर्देशक श्याम मिश्रले जानकारी दिए ।