एमएनओको चुनाव चिन्ह गुम्दै

  प्रकाशित मिति
४ चैत्र २०७३, शुक्रबार ११:०६


mno

भद्रपुर । ‘कुखुराको भाले’ चुनाव चिन्ह लिएर यस अघिका निर्वाचनमा भाग लिएको मङ्गोल नेसनल अर्गनाइजेसन (एमएनओ)ले आउँदो स्थानीय निर्वाचनमा सो चुनाव चिन्ह र राजनीतिक दलको हैसियत गुमाउने सम्भावना बढेको छ ।

निर्वाचन आयोगले तोकेको अवधिभित्र राजनीतिक दल दर्ता नगराएको कारण सो पार्टीले स्थानीय चुनावमा स्वतन्त्र हैसियतबाट मात्र उम्मेद्वार उठाउन पाउने सम्भावना भएको हो ।

संविधान बमोजिम राजनीतिक सङ्गठन खोल्न र विस्तार गर्न कसैलाई थुनछेक नभए पनि निर्वाचनमा भाग लिन भने निर्वाचन आयोगमा दल दर्ता भएकै हुनु पर्ने व्यवस्था छ । दल दर्तामा पार्टी चुकेको अवस्था छ ।

पार्टीका झापा जिल्ला कमिटीका अध्यक्ष श्याम लिम्बुसहितको प्रतिनिधिमण्डलले विहीवार चन्द्रगढीस्थित निर्वाचन कार्यालयमा पुगी आफुहरुले राजनीतिक दलको हैसियतमै चुनावमा भाग लिन पाउनु पर्ने माग गरेको छ ।

भर्खर्रै पार्टीको जिल्ला अधिवेशनबाट नेतृत्व परिवर्तन भएको जनाउँदै नयाँ कार्य समितिको आधिकारिक नामावली समेत अध्यक्ष लिम्बुले निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यलाई बुझाएका छन् ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा गत माघभित्र राजनीतिक दलहरुले आफ्नो नाम दर्ता गराइसक्नु पर्ने भए पनि एमएनओले सो अवधिमा नाम दर्ता गराएको नपाइएको निर्वाचन अधिकारी आचार्यले बताएका छन् ।

यसपालीदेखि निर्वाचन प्रयोजनका लागि दलहरुले जिल्लामा समेत दललाई सूचीकृत गराउनु पर्ने प्रावधान भएको तर केन्द्रमा नाम दर्ता नहुँदा सो पार्टीलाई झापामा सूचीकृत गर्न नसकिएको आचार्यको भनाई छ ।

बेलैमा आयोगमा दल दर्ता गर्न नभ्याएको कारण होस् वा जिल्लामा सूचीकृत हुन नपाएको कारण नै किन नहोस्, यही कारणले एमएनओले स्थानीय चुनावमा उम्मेद्वार उठाउँदा यसपटक दलको पहिचान दिन नसक्ने र सोही कारण चुनाव चिन्ह समेत गुम्ने खतरा भएको छ ।

केन्द्रमा दल दर्ता हुन नपाउनुमा पार्टी दोषी नभएको उल्लेख गर्दै पार्टीका झापा अध्यक्ष लिम्बुले आयोगले नै आफ्नो पार्टीलाई पठाएको चिठी आयोगकै एउटा टेबुलको घर्रामा लुकाएको दावी गरे ।

लोकतन्त्रमा विश्वास गर्ने एउटा स्थापित राजनीतिक दलले चुनावमा दलको पहिचान सहित भाग लिन दिने वातावरण नबनाएको भन्दै एमएनओका नेताहरु निर्वाचन आयोगप्रति आक्रोशित भएका छन् ।

‘हामी निर्वाचनमा भाग लिन पाउँ भन्छौँ, उनीहरु पाउँदैनस् भन्छन्’, निर्वाचन आयोगप्रति बेखुशी व्यक्त गर्दै पार्टीका अध्यक्ष लिम्बु भन्छन्–‘यो त सरासर अन्याय भयो नि ।’

निर्वाचन आयोगले आफ्नो पार्टीप्रति नश्लका आधारमा विभेद गरेको र मुलुकका मङ्गोल मूलवासीहरुलाई चुनाव बहिस्कार गर्न बाध्य बनाउने षडयन्त्र गरिरहेको उनले आरोप लगाएका छन् ।

निर्वाचन आयोग (केन्द्र)मा १ सय ११ र झापामा ३१ वटा राजनीतिक दल मात्र दर्ता रहेको निर्वाचन अधिकारी आचार्यले बताए । दल दर्ताका आधारमा चुनाव चिन्ह बन्ने र मतपत्र बनाइने भएको छ ।

यसो हुँदा चुनाव चिन्ह कुखुराको भालेमाथि एमएनओको दावी लाग्ने छैन । कथम्कदाचित उसले सोही चुनाव चिन्ह पाए पनि स्वतन्त्र उम्मेद्वारको मात्र हैसियत पाउने छ ।

विभिन्न संसदीय चुनाव, संविधानसभाको चुनाव र अन्य चुनावमा भाग लिदै आएको एमएनओले मङ्गोल मूलवासीको हक र अधिकारको वकालत गर्दै आएको छ ।

झापा, इलाम लगायतका पूर्वी जिल्लामा प्रभाव रहेको र पश्चिमका विभिन्न जिल्लामा समेत विस्तारित यो राजनीकित दललाई २०४६ सालपछिको सुरुका चुनावमा साम्प्रदायिक विचारधारा बोकेको भन्दै चुनावमा भाग लिनबाट वञ्चित गरिएको थियो । यसको संस्थापक चर्चित राजनीतिज्ञ गोपाल गुरुङ हुन् । उनको गत वर्ष निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: