एमालेमा ‘अड्कियो हलो’

  प्रकाशित मिति
१४ जेष्ठ २०७४, आईतवार ०८:०३


gopal sirविर्तामोड । नेकपा एमालेको तर्फबाट मेयर र उपमेयरको उम्मेद्वार छान्न इटहरीमा बसिरहेकोे एक नम्बर प्रदेश कमिटीको बैठक एक हप्तादेखि अनिर्णित छ ।
झापाको मेचीनगर र विर्तामोड नगरपालिकाको उम्मेद्वार छान्न नसक्दा बैठक यति धेरै लम्बिएको हो ।

गत सोमवार सुरु प्रदेश बैठकमा यी दुई नगरको उम्मेद्वार चयनको विषयले प्रवेश पाएको थियो । जिल्लाका अरु १३ स्थानीय तहमा उम्मेद्वारको टुङ्गो लगाए पनि बैठकले यी दुई नगरमा निर्णय सुनाउन सकेको छैन ।

यति लामो अवधिसम्म बैठक बस्दा पनि उम्मेद्वार छान्न नसकेकोमा नगरमा पार्टीका आम कार्यकर्ता नेतृत्वसँग आक्रोशित भएका छन् । कार्यकर्ता पङ्तिबाट उम्मेद्वारको छिटो छिनोफानो गरेर चुनावी अभियान सञ्चालन गरिनु पर्ने दवाव बढिरहेको छ । तर प्रदेश सचिवालय कमिटीले कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

‘हिजो पनि निष्कर्ष निस्कन सकेन’, लोकतन्त्र पोस्टसँग नेकपा एमालेका झापा इञ्चार्ज एवम् सांसद रविन कोइरालाले भने–‘आज फेरि बैठक बस्दैछौँ ।’

दिनभरि बैठक बस्ने र रातिसम्म कुनै निष्कर्ष ननिस्केपछि बैठक स्थगित गर्ने क्रम चलिरहेको छ । यसले पार्टीको बलियो प्रभाव भएको मानिएका मेचीनगर र विर्तामोड जस्ता झापाका मुख्य नगरमा चुनावी अभियान अलपत्र परेको छ ।

स्रोतका अनुसार मेचीनगरबाट विष्णु प्रसाई र गोपाल बुढाथोकीमध्ये कसलाई मेयरको उम्मेद्वार बनाउने भन्ने विषयमा बैठक ज्यादा अल्झिरहेको छ । मेचीनगरमा मेयरको उम्मेद्वारमा सहमति जुट्ने वित्तिकै उपमेयरको नाममा टुङ्गो लागिहाल्ने बताइन्छ ।

उपमेयरका लागि मीना उप्रेती र रेणुका डाँगीमध्ये कसलाई छान्ने भन्ने विषयमा खासै रस्साकस्सी नहुने बताइएको छ । मेयरको रुपमा नाम सिफारिस भएकी शारदा शर्माको नाम पनि उपमेयरमा राख्न सकिने चर्चा भइरहेको बताइएको छ ।

‘मेयरमा कसको नाम आउँछ, त्यसको अपोजिट केमेस्ट्री हेरेर उपमेयरको फैसला गरिने हुँदा उपमेयरमा अप्ठेरो छैन’–प्रदेश कमिटी स्रोतको भनाइ छ ।

uml officeविर्तामोडमा मेयरका लागि धेरैको दावी भए पनि अन्तिम फाइट एकराज कार्की र ज्ञानु प्रसाईँविच भइरहेको छ । दुबैका नाममा सहमति नहँुदा हरिचरण शिवाकोटीको नाम अघि सार्ने कि भन्ने पनि बैठकमा छलफल चलेको स्रोतको भनाइ छ ।

उपमेयरमा मेचीनगरकै जस्तो मेयरको नाम फाइनल भए पछि केमेस्ट्री हेरेर छानिने भएको छ । विर्तामोडको उपमेयरमा पवित्रा महतरा र भीमा शिवाकोटीको नाममा छलफल केन्द्रित छ ।

उम्मेद्वार छान्न यति लामो रस्साकस्सी हुनुमा टिकट नपाउनेको आक्रोश आफुमाथि खनिएला कि भन्ने निर्णयकर्ताहरुको त्रासले निकै ठूलो काम गरेको अनुमान गरिएको छ ।

पार्टीभिको पहिल्यैदेखिको गुट राजनीतिले पनि अहिले आएर निर्णयमा प्रभाव पारिरहेको छ । ‘यो अति भयो, जो जुन गुटको भए पनि पार्टीकै उम्मेद्वार हुने हो, यसरी अनिर्णयको बन्दी हुनु राम्रो होइन’, विर्तामोडका एक एमाले कार्यकर्ता भन्छन्–‘इटहरीबाट निर्णय आउला र चुनावी अभियान थालुँला भनेर पर्खिएको एक हप्ता नै भइसक्यो ।’

प्रदेशमा निर्णय नभए यो विषय केन्द्रको स्थायी कमिटीमा पुग्ने छ । केन्द्रले प्रदेशमै मिलाउन दवाव दिइरहेको बताइएको छ । ‘किन पठाउनु पर्यो केन्द्रमा’, केन्द्रबाट यतै मिलाउन निर्देशन आएको बताउँदै प्रदेश कमिटीका एक सदस्यले लोकतन्त्र पोस्टसँग भने–‘आइतवार चाहिँ अब जसरी भए पनि निर्णय निकाल्छौँ ।’

प्रदेश कमिटीमा झापाका नेताहरु हिक्मत कार्की, रविन कोइरालाको प्रभाव ज्यादा छ । उनीहरुको सहमति बेगर अरु नेताले केही निर्णय गर्न सक्दैनन् । प्रदेश कमिटीको पूर्ण बैठकले यो विषयको छिनोफानो गर्न सचिवालयलाई अधिकार दिएको छ । सचिवालयको बैठक दिनहुँ बसिरहेको छ, तर अन्तिममा स्थगनमा टुङ्गिने गरेको छ ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: