‘एमालेले फस्टबाहेक अरु हुन जानेकै छैन’

  प्रकाशित मिति
११ असार २०७४, आईतवार १०:२८


bishnu-dai
कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा अगुवाको रुपमा जहिल्यै उभिदै आएका विष्णु प्रसाई यतिबेला नेकपा एमालेको तर्फबाट मेचीनगरको प्रमुख ९मेयर० पदको उम्मेद्वार बनेका छन् । जनप्रतिनिधिको क्षेत्रमा अनुभवी र राजनीतिक क्षेत्रमा जुझारु नेताको छवि बनाएका उनीसँग चुनावी सेरोफेरोमा लोकतन्त्र पोस्ट दैनिकका प्रधान सम्पादक मोहन काजी र खबर मञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेलले गरेको कुराकानी प्रस्तुत छ–

चुनावी अभियान कसरी कहाँ पुग्यो ?
नेकपा एमालेको अत्यन्त उर्वर भूमिको रुपमा चिनिएको झापा जिल्लाको सुदूरपूर्वी मेचीनगरमा बिजयको झण्डा फहराउँदै बडो उत्साहपूर्वक हामे चुनावी अभियान अघि बढिरहेको छ । आम सचेत मतदाताले कुन पार्टीले मुलुकको स्वाधीनताको रक्षा गर्न सक्छ, जनतालाई समृद्धिको लक्ष्यमा पुर्याउन सक्छ, कसले सङ्घर्ष, निष्ठा र त्यागको राजनीति गर्दै आएको छ भन्ने राम्ररी पहिचान गरेका छन् । नेकपा एमाले यस परीक्षामा जहिल्यै फस्ट हुँदै आएको छ । बोर्डमा पनि फस्ट र डिस्ट्रिकमा पनि फस्ट हुँदै आएको छ । नगरमा पनि फस्ट हुने निश्चित छ । हामीले जनतालाई घरदैलोमै पुगेर अरुले झुक्याउलान्, छक्याउलान्, झुठा प्रलोभनमा फँसाउँलान् भनेर सचेत पार्दै हिँडेका छौँ । जनताले त्यस्ता झुठा कुरा गर्नेलाई पहिल्यैदेखि चिन्दै आएका छाँै, चिन्ता लिनु पर्दैन भनेका छन् । अब हामी असार १४ गते उत्साहबर्धक मतदान र त्यसपछि सूर्य ध्वजावाहक सबै उम्मेद्वारहरुले भारी मतले जितेको क्षणको पर्खाइमा छौँ ।

पार्टीले तपाईंलाई नै किन उम्मेद्वारको रुपमा रोज्यो होला ?
हाम्रो पार्टीमा उम्मेद्वार बन्न लायक एकसेएक सक्षम नेताहरु हुनुहुन्छ । जनताको मन मात्रै होइन, मत पनि जित्ने पार्टी भएकाले उम्मेद्वार बन्न योग्यता पुगेका धेरै साथीहरुको नाम सुरुमा आउनु स्वाभाविक हो । म तिनै सक्षम साथीहरुमध्येबाट छानिएको हुँ । सायद पार्टीले इतिहास सम्झियो होला । १७ वर्षको उमेरदेखि जनसेवा गरेर पञ्चायतकालमा धाइजन गाउँको जनपक्षीय प्रधानपञ्च, जिविसको उपसभापति हँुदै नेपाली जनताको हरेक समस्यामा जुध्ने एउटा जुझारु कार्यकर्ता देखेर पार्टीले मलाई मेयरको टिकट दिएको मैले बुझेको छु ।

मेचीनगरमा नेकपा एमालेको साङ्गठनिक अवस्था कस्तो छ ?
नेकपा एमाले वडा तहदेखि नै साङ्गठनिक आधार बलियो भएको अनुशासित पार्टी हो । यसलाई कुनै आँधीबेहरी र सुनामीले त केही लतार्न सक्दैन भने सानो तिनो हल्ला र बतासको के कुरा गर्नु ? यसभित्र मुलुकलाई परिवर्तनको दिशामा लैजान सङ्घर्ष गरेको अनेकौ अनुभव छ, इतिहास छ । पुरानो इतिहास बोकेका हजारौँ नेता छन् भने नवीनतम् प्रविधि र ज्ञानसँग साक्षात्कार भएका लाखौँ युवा शक्ति गोलबद्ध छ । यस्तो तागत नहुँदो हो त हामीले पहिलो चरणको चुनावमा सत्तारुढ नेपाली काङ्ग्रेस र माओबादी केन्द्र गठबन्धन गरेर भिड्न आउँदा पनि पहिलो शक्ति हुने गरी चुनाव जित्न सक्ने थिएनौँ । देशलाई माया गर्ने, सबै वर्ग र समुदायको उत्थान गर्ने, लोकतन्त्रलाई आम जनताको हितसँग जनमुखी ढङ्गले गाँस्ने जनताको बहुदलीय जनबाद जस्तो बैचारिक अस्त्र भएको हाम्रो पार्टी दोस्रो चरणको चुनावमा पनि पहिलो नै हुने पक्कापक्वी छ । निर्वाचन अभियानलाई नियाल्दा नेकपा एमालेसँग कुनै पनि पार्टीले टक्कर दिन सक्दैन भन्ने हामीलाई विश्वास छ ।

bisn nu 12

चुनाव जित्ने आधार के–के हुन् ?
चुनाव जित्ने मुख्य आधार भनेको सही नीति, सही नेतृत्व र जनताको विश्वास हो । यी तीन चीज नेकपा एमाले बाहेक अरुसँग छँदैछैन भनेर म ठोकुवा गर्न सक्छु । जनतालाई सङ्गठित गरेको पार्टी नेकपा एमाले हो । अर्को कुरा नेकपा एमाले त्यो पार्टी हो, जुन पार्टीले राष्ट्रियताको पक्षमा बोलेको छ । राष्ट्रियताको लागि अहिले पनि सङ्घर्ष गरिरहेको छ । जुन पार्टीले जेष्ठ नागरिकलाई सम्मान गर्छ, जुन पार्टीले युवालाई रोजगारीको प्रत्याभूति गरेको छ । सुकुम्बासीलाई आवास बनाइदिने सङ्कल्प गरेको छ । जुन पार्टीले उद्योगमैत्री वातावरणको प्रण गरेको छ । जुन पार्टीले पर्यटनलाई व्यवस्थित गर्न खाका बनाएको छ । जुन पार्टीले मेचीनगरका नदी नियन्त्रण गर्न घोषणापत्र लिएर आएको छ । जुन पार्टीले पूर्वीद्वारमा बुद्धको सन्देश दिन खोजिरहेको छ । त्यो पार्टीले नजिते कुन पार्टीले जित्छ ? महिला सशक्तिकरण, जेष्ठ नागरिकलाई सम्मान, अपाङ्ग, अशक्तलाई सम्बोधन गरेको छ । ज्येष्ठ नागरिकलाई जसले भत्ता दिने परिपाटी सुरु गर्यो र त्यसलाई बढाएर मासिक ५ हजार पुर्याउने घोषणा गरेको छ, त्यो पार्टी एमाले नै हो । जनताका समस्यालाई योजनाबद्ध ढङ्गले सम्बोधन गर्ने पार्टी नेकपा एमाले हो । नेकपा एमाले बोल्ने मात्र होइन, जनताका अगाडि कमेन्टमेन्ट गरेका कुराहरु पूरा गरेरै देखाउने पार्टी हो । हामीसँग मेचीनगरलाई हराभरा बनाउने र पाँच वर्षमा गाउँ–गाउँमा कालोपत्रे पुर्याउने, शुद्ध खानेपानीको व्यवस्था, बालश्रमको अन्त्य गर्ने, भ्रष्टाचारलाई जरैदेखि उखाल्ने योजना छ । हामीसँग अनुभव छ, त्यसकारण सहजरुपमै नेकपा एमालेको जीत सुनिश्चित छ ।

मेयरमा निर्वाचित भए तपार्इंको पहिलो काम के हुनेछ ?
मेयरमा निर्वाचित भएपछि म साझा मान्छे हुने छु । सबैलाई बराबर ढङ्गले व्यवहार गर्नेछु । कर्मचारी साथीहरुलाई अनुशासित र जिम्मेवार ढङ्गबाट काम सम्पन्न गर्नु भन्ने निर्देशन दिने छु । राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र नराम्रो काम गर्ने कर्मचारीलाई कारवाही गर्ने कुराको घोषणा गर्नेछु । हामीले अघि सारेको घोषणापत्र अनुसारको काम एक वाक्य नछुटाइ पूरा गर्ने छु ।

महत्वाकांक्षी घोषणा पत्र लिएर आउनुभएको छ, कार्यान्वयनमा कसरी विश्वास गर्ने ?
ढुक्क हुनुहोस्, घोषणापत्रका सबै योजना कार्यान्वयन हुनेछन् । हामीसँग इच्छा शक्ति छ । मानिस चन्द्रमामा पुग्ने कुरा सम्भव थियो होला ? तर, आकांक्षा र मेहनत गर्नेहरु पुगे । मेचीनगरलाई समृद्ध बनाउन कुनै गाह्रो छैन । जसरी समृद्ध मेचीनगर निर्माण गर्न घोषणापत्र लिएर आएका छौँ, त्यसरी नै मेचीनगर बनाएरै छाड्नेछौँ । यो मेरो प्रतिबद्धता हो । अरुहरुको जस्तो ढाट्नका लागि काल्पनिक सङ्कल्प गरेको होइन । नेकपा एमाले जे बोल्छ, जे लेख्छ, जतिसुकै कसिठन किन नहोस्, त्यो पूरा गरेरै छाड्छ । यसका लागि हामीलाई विश्वास गर्ने ठूलो जनमत पछाडि छ ।

मेचीनगरमा अन्य पार्टीको पोजिसनलाई कसरी हेर्नु भएको छ ?
मैले अन्य पार्टीको पोजिसनको आँकलन गर्नु त्यति उपयुक्त नहोला । उम्मेद्वार हो ठूलो कुरा गरिहाल्यो पनि भन्लान् । तर, यो क्षेत्रमा विगतलाई हेर्नुहोस् वा वत्र्तमान, एमालेको विकल्प नै छैन । विगतमा साविक मेचीनगर, बाहुनडाँगी, ज्यामिरगढी, धाइजन, दुहागढीमा नेकपा एमाले एउटा सशक्त पार्टीको रुपमा उभिएको छ । पार्टीहरु प्रतिस्पर्धामा आउनु स्वाभाविक नै हो । तर, उनीहरु चुनावमा भिड्न आउन सक्छन्, नेकपा एमाले सँगसँगै दौडिन सक्दैनन् ।

आम मतदातालाई के भन्न चाहनुहुन्छ ?
चुनाव जित्ने कुरा एउटा नेता एउटा मेयर वा उपमेयरको कुर्सीमा बस्ने विषयसँग मात्र जोडिने कुरा होइन । नेकपा एमालेको जितसँग मुलुकको स्वाभिमानको र समृद्धि सोझै गाँसिएर आउँछ । राष्ट्रियता रह्यो भने मात्र नेपाली रहन्छन् । नेपाल रह्यो भने मात्र पार्टी रहन्छ । त्यसकारण नेकपा एमालेले आफूभन्दा पनि राष्ट्रलाई कसरी बचाउने भन्ने कुरामा लडाइँ लड्दै आएको छ । यो लडाइँमा तपाईंहरुको साथ अपरिहार्य छ । अर्को कुरा, नेकपा एमालेले मात्रै नेपाली जनताको न्याय र समृद्धिको नेतृत्व गर्न सक्छ । त्यसैले यो जिम्मेवारी नेकपा एमालेलाई दिनुपर्छ र मेचीनगरवासी मतदाताहरुले यो कुरा बुझ्नुभएको छ भन्नेमा म विश्वस्त छु । म लगायत मेयर, उपमेयर, वडाध्यक्ष, सदस्य लगायत सबै पदका उम्मेद्वारहरुलाई सूर्य चिह्नमा मतदान गरिदिनु हुन आह्वान गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: