वनमा पनि एमाले–काङ्ग्रेसकै भिडन्त

  प्रकाशित मिति
३१ आश्विन २०७४, मंगलवार ०८:५९


धुलावारी । मेचीनगरको मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं.१ मा नयाँ कार्य समितिका लागि आज निर्वाचन हुँदैछ ।

सहमतिबाट नयाँ नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रव्रिmयाबाट अघि बढ्नु परेको हो । दलीय प्रभावले गर्दा वनमा दुई अलग–अलग समूह बनाई उपभोक्ताहरु चुनावी मैदानमा उत्रिएका छन् ।
गत साउनमा सम्पन्न स्थानीय तहको निर्वाचनको झल्को वनमा देखिएको छ । आफ्ना दलबाट उठाइएका उम्मेद्वारलाई जिताउन उपभोक्ताहरुले घरदैलो अभियान सम्पन्न गरिसकेका छन् । एक उपभोक्ताका अनुसार वनको निर्वाचनमा आफ्ना उम्मेद्वारलाई जिताउन ‘भातपानी’ छाडेरै लागि परेका छौँ ।

मागुरमाडी वनमा यसअघि पनि चुनाव मज्जाले नै लाग्ने गरेको इतिहास छ । ठूला पार्टीका क्षेत्रीय स्तरका नेताहरु सो वनको उपभोक्ता रहेकाले पनि चुनावमा कडा प्रतिष्पर्धा हुँदै आएको छ । उनीहरुले वनको निर्वाचनलाई आफ्नो राजनीतिक प्रतिष्ठासँग जोडेका छन् । त्यसैले सो वनमा सहमतिबाट नेतृत्व चयन हुन सकेको छैन । काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, सङ्घीय फोरम लगायतका पार्टीहरुको यो वनमा प्रभाव छ ।

राष्ट्रिय राजनीतिमा दलहरुबीच भएको समीकरण जस्तै मागुरमाडी वनको चुनावमा पनि त्यस्तै भएको छ । काङ्ग्रेस, सङ्घीय फोरम पार्टी निकटका उपभोक्ता एकातिर छन् भने एमाले–माओवादी निकटका उपभोक्ताको गठबन्धन चुनावी मैदानमा छ ।

काङ्ग्रेसको लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा उद्धव बानियाँ चुनावी मैदानमा छन् भने एमाले–माओवादी लगायतको बाम गठबन्धनबाट बमबहादुर बेघालाई अघि सारिएको छ ।

काङ्ग्रेसका बानियाँ स्थानीय स्तरमा लोकप्रिय युवाका रुपमा चिनिन्छन् । त्यस्तै एमालेका बेघा वन संरक्षकका रुपमा परिचित छन् । उनी यसअघि दुईपटक वनको अध्यक्ष भइसकेका छन् ।

निर्वाचन समितिले नयाँ नेतृत्व चयन गर्न निर्वाचन तालिका सार्वजनिक गरेपछि असोज २६ गते उम्मेद्वारी मनोनयन दर्ता सम्पन्न भएको थियो । निर्वाचन समितिका सदस्य वेदनिधि पौडेलका अनुसार १५ जना सदस्य निर्वाचित हुनेछन् । बाँकी दुईजना मनोनित गरिनेछ ।

पौडेलका अनुसार तीन जना सदस्य सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । क्षेत्र नं. २ मा कदवा किसान र ५ नं.मा कमला पराजुली र भीष्म प्रसाई सर्वसम्मत सदस्य भएका हुन् ।

निर्वाचनमा उपाध्यक्ष पदमा अमर फम्बो र जोखेन मेचे, सचिवमा दिलकुमारी तामाङ र रेणुका चिमरिया, सहसचिवमा भीमराज राई र मुना थपलिया तथा कोषाध्यक्षमा पिङ्गला भट्टराई र लक्ष्मी ढकालबीच प्रतिस्पर्धा हुँदैछ ।

६ सय ४८ घरधुरी रहेको सो वनको निर्वाचनमा १ हजार २६० जनाले मतदान गर्न पाउने छन् । एक उपभोक्ता घरबाट दुईजनाले मतदान गर्न पाउने निर्वाचन समितिले जनाएको छ । जसमा एक महिला र एक पुरुष अनिवार्य गरिएको छ ।

निर्वाचन जित्न दुवै समूहले महत्वकांक्षी योजना अघि सारेका छन् । उपभोक्तालाई दिने सेवा सुविधादेखि हात्ती नियन्त्रणसम्मका योजना देखाएर उपभोक्ताको मन र मत तान्ने प्रयास गरिएको छ ।
…………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: