एयर होस्टेज’ बन्न चाहन्थिन् तनुजा

  प्रकाशित मिति
१२ श्रावण २०७३, बुधबार २२:३४


tanuja bunu

शान्तिनगर । मावल जाने भनेपछि तनुजा कोइराला जहिल्यै फुरुक्क हुन्थिन् । शान्तिनगरको ब्राइट फ्युचरमा कक्षा ५ मा पढ्दै गरेकी उनले स्कुल विदा हुने वित्तिकै आमालाई भनिन्–‘आमा स्कुल छुट्टि भयो, म त भाइलाई लिएर मावल अहिल्यै जान्छु ।’

आमाले घरमा राख्न समेत ‘भोलि जानु, कपडा पनि किनिदिउँला’ भनेर फकाउनु परेको थियो । वुवा चन्द्रकान्त कोइराला वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा भएका कारण तनुजा, उनको एउटी दिदी तारा र भाइ नुतनको हेरचाहको जिम्मेवारी आमा वृन्दादेवी कोइरालाको काँधमा थियो । स्कुल छुट्टि हुँदा जहिल्यै पनि वृन्दाले नानीहरूलाई मावलमा पुर्याइदिने गरेकी थिइन् ।

तनुजाको असल आनीबानी स्मरण गर्दा आमा वृन्दा भक्कानिन्छिन् । उनका मुखबाट शब्द होइन, आँखाबाट आँशुको वर्षा हुन्छ । उनका अनुसार मावल जाने दिन विहानै उठेर तनुजाले घरको धन्धा सघाएकी थिइन् । त्यस दिन मुसुरी दाल र भात पकाएकी थिइन् तनुजाले । तरकारी केलाउन चाहिँ दिदी ताराले सघाएकी थिइन् । साइकलमा अगाडि भाइ र पछाडि तनुजालाई बोकेर वृन्दाले त्यस दिन शान्तिनगर–१ स्थित घरबाट करीव ५ किलोमिटरको दुरीमा रहेको बुधवारे–५ स्थित कान्छो मामा दिपक प्रसाइँको घरमा पठाएकी थिइन् ।

वृन्दाले घरायसी हतारोका कारण छोराछोरीलाई मामाकै घरको आँगनसम्म पुर्याउन भ्याइनन् । घर छेउ पुर्याएर ‘जाओ है नानीहरू’ भनेर उनी शान्तिनगर फर्केकी थिइन् । ‘फर्किनुस् तपाइँ, हामी पुगिहाल्छौँ, ७ दिन बसेर घर फर्किन्छौँ’ भन्दै आमालाई पठाएर रमाउँदै रमाउँदै तनुजा भाइलाई लिएर मावल गएकी थिइन् ।

तर दुर्भाग्य, घर फर्किन्छु भनेको ७ दिन नपुग्दै तनुजाको विभत्स हत्या भयो । मावल घरमै निष्पट्ट कालरात्रिमा अज्ञात निर्दयीले उनको किलकिले रेट्यो । उनले अन्तिम सास फेर्नु अघि ‘आमा’ र ‘मामा’ भनेको कसैले सुनेनन् ।

पढाइमा अब्बल र गायनमा अग्रणी तनुजा विद्यालय र गाउँकै अनुशासित र मिहेनती केटी थिइन् । घरमा पढाइसँगै आमालाई धन्धा सघाउने उनी स्कुलमा गठित स्वर्णिम वाल क्लवमा समेत सदस्य थिइन् ।

विद्यालयका प्रिन्सिपल गुणराज अर्यालका अनुसार तनुजाले गीत गाउने विभिन्न प्रतियोगितामा भाग लिएकी थिइन् । उनले प्रतियोगिता जितेर पुरस्कार पनि पाएकी थिइन् । सुरिलो गला भएकी उनी आफ्ना शिक्षक र साथीसँग आज्ञाकारी एवम् विनम्र रुपमा प्रस्तुत हुन्थिन् । यही स्वाभावले उनका साथी धेरै थिए ।

गायनमा प्रतिभाशाली भए पनि खासमा तनुजा ठूली भएर एयर होस्टेज बन्न चाहन्थिन् । ‘म ठूली भएर एयर होस्टेज बन्छु है भन्थी’, आमा वृन्दा छोरीको भनाइ जस्ताको तस्तै उद्धृत गर्दै सुनाउँछिन्–‘म गोरी छु, अग्ली पनि छु नि त !’ मासु नखाने तनुजा खीर असाध्य मन पराउँथिन् । नाच्नमा उनको रुचि थियो ।

तनुजाले नक्सामा वाहेक हवाइजहाज देखेकी छैनन्, त्यसमा यात्रा गर्नु त परैको कुरा भयो । तर आमा वृन्दाले ‘हवाइजहाजमा नमस्ते भन्दै स्वागत गर्ने राम्रा राम्रा तिमी जस्तै केटी हुन्छन्’ भन्ने कथा सुनाएको भरमा तनुजाको मनमा ठूली भएर एयर होस्टेज सपना सजिएको रहेछ ।
आमा वृन्दा सात दिन पछि आफै फर्किने कुरा भए पनि हत्याको घटना भएको दुई दिन अघि माइत घरमै पुगेर तनुजालाई भेटेकी थिइन् । ‘लिन आउनु है’ भनेका कारण वृन्दा साउन ६ गते विहीवार छोराछोरीलाई लिन जाने तयारीमा थिइन् । तर एक दिन अघि नै दुःखद् घटना भइदियो ।
तनुजाले मावल जानु अघि चुरा र मेहन्दी लगाउने आमासँग इच्छा गरेकी रहिछन् । वृन्दाले बजारमा किनिदिने सोच बनाएकी पनि रहिछन् । तर मावल जाने दिन छिटो मामा घर पुग्ने हतारोको कारण तनुजाले आमासँग मेहेन्दी र चुरा किनिमाग्ने कुरै विर्सिन् । वृन्दाले गन्जी र कट्टु चाहिँ किनिदिएकी थिइन् ।

उता मलेशियामा रहेका तनुजाका वुवा चन्द्रकान्त कोइराला छोरीको हत्याको खबर सुन्ने वित्तिकै स्वदेश फर्किए । उनी घटनाको तेस्रो दिन बुधवारे आइपुगे । विदेशको बसाइका कारण छोराछोरीसँग् झ्याम्मिने अवसर नपाएका उनी यही दशैँमा घर आएर छोराछोरीले जे जे माग्छन् त्यही त्यही किनिदिने सोचाइमा थिए । भइदियो अर्कै ।

करीव डेढ महिना अघि उनले तनुजासँग मेसेन्जरमार्फत भिडियो कलमा कुराकानी गरेका थिए । त्यही कुराकानी तनुजासँगको अन्तिम भेट भइदियो । ‘मलाई मीठाइ ल्याइदिनु ल’, तनुजासँगको अन्तिम कुराकानी सम्झदै चन्द्रकान्त भन्छन्–‘मेरी तनुले कहिल्यै मोवाइल चाहियो वा अरु यस्तो र उस्तो चाहियो भनेर डिमान्ड गर्दिनथी ।’

तनुजाको मृत्युले कोइराला निवासमा मात्र होइन, सारा शानितनगर र बुधवारे शोकाकूल भएको छ । अपराधी जोसुकै होस्, त्यसलाई छिटो भन्दा छिटो पक्रेर कडा कार्वाही गरियोस्–सबैको भनाइ यस्तै छ ।

दुई दिन अघि तनुजाका साथीहरूले स्वर्णिम वाल क्लवमार्फत हत्यारा पक्राउ गर्न माग गर्दै मौन र्याली निकाले । प्रहरीले ‘हामी घटनाको ७० प्रतिशत वास्तविकतामा पुगिसकेका छौँ’ भन्ने गरेको कोइराला परिवार बताउँछ । प्रहरीले अनुसन्धान राम्ररी गरोस् भन्ने दवाव बढ्दै गएको छ । तथापि यतिका दिन वितिसक्दा प्रहरीले घटनाको वास्तविकता जनसमक्ष ल्याउन सकेको छैन । अपराधी पत्ता लगाउन हुन थालेको विलम्वप्रति स्थानीयवासीमा भुसको आगोसरी असन्तोष फैलिन थालेको छ ।

तनुजाकी हजुरआमा धनमाया कोइरालाको नामबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टामा हत्याको घटना बारेमा साउन ८ गते जाहेरी दिइएको छ । त्यसमा अपराधीलाई किटानी गरिएको चाहिँ छैन ।

अपराधी पक्रिने प्रयास गरिरहेको जनाउँदै केही समय धैर्य गरिदिन प्रहरीले मृतकका परिवार र मिडियालाई आग्रह गर्दै आएको छ । केही दिनमै घटनाको सबै वास्तविकता मिडियासामू सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयका डीएसपी हरि शर्माले बताउँदै आएका छन् ।

(२०७३ साउन १३ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: