भद्रपुर । नयाँ नाम र स्वरुप दिइए पनि यही चैत ३ गतेदेखि देशभर एकसाथ सुरु हुने माध्यमिक तहको कक्षा १० को परीक्षाका लािग सरकारी तयारी भने पुरानै एसएलसी परीक्षाको जस्तै छ ।
सरकारले शिक्षा नीतिमा परिमार्जन गरी यस वर्षदेखि कक्षा १० को परीक्षालाई ‘एसएलसी’ नभनी ‘माध्यमिक तहको परीक्षा (एसईई)’ अर्थात ‘साधारण परीक्षा’ भनिएको छ ।
तर परीक्षाको केन्द्रीय बोर्डबाट प्रश्न पत्र आउने शैली, सुरक्षाको व्यवस्था र मर्यादित बनाउने नाममा गरिने कडाइको तयारी हेर्दा विद्यार्थी, अभिभावक र परीक्षा सञ्चालक सरकारी निकायले पहिलेको एसएलसीभन्दा कुनै मानेमा पनि सामान्य अनुभूति गर्ने ठाउँ पाउने छैनन् ।
सरकारले कक्षा १०, ११ र १२ लाई माध्यमिक तह मानेको छ । अबदेखि कक्षा १२ को परीक्षालाई एसएलसी मान्ने भनिएको छ ।
झापा जिल्ला शिक्षा कार्यालयले मङ्गलवार पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार एसईई परीक्षामा लागि झापाबाट १५ हजार ६ सय २२ जना परीक्षार्थी रहेका छन् ।
त्यसमध्ये नियमिततर्फ १४ हजार ९४ जना, एक्जाम्टेडतर्फ ४ सय ८५ र स्तरवृद्धितर्फ १ हजार ४३ जना परीक्षार्थी छन् ।
प्राइभेटतर्फ १ जना, प्राविधिकतर्फ १ सय ३० जना, खुलातर्फ १ सय ६१ जना, भूटानी शरणार्थीतर्फ ३५ जना र कारागारतर्फ २ जना परीक्षार्थी रहेको समेत जिशिकाले जनाएको छ ।
परीक्षालाई मर्यादित तुल्याउन झापाका ५३ वटा परीक्षा केन्द्रमा सुरक्षाका लागि ५ सय ३० जना प्रहरी परिचालन हुने भएका छन् ।
प्रश्न पत्र पहिले नै परीक्षा केन्द्रको नजिकको प्रहरी कार्यालयमा पुर्याइएको छ भने उत्तरपुस्तिका सम्बद्ध केन्द्रमा पुगिसकेको छ ।
जिशिका झापाका उपसचिव उद्धव विष्टले परीक्षालाई मर्यादित बनाउन गेटमा विद्यार्थीको तलासी हुन सक्ने, परीक्षा केन्द्रसम्म मोवाइल लगिएको भए त्यसलाई स्वीचअफ गरिने, निरीक्षकको क्रियाकलाप समेत अनुगमन गरिने, चिट चोर्न र चोराउन नदिइने बताएका छन् ।
जिशिअ योगेन्द्र बरालको सभापतित्वमा पत्रकार सम्मेलन भएको थियो । कार्यक्रममा बोल्दै जिशिअ बरालले परीक्षालाई मर्यादित रुपमा सफल बनाउन सबै सरोकारवालाको उत्तिकै दायित्व भएको बताउँदै पहिलेको एसएलसी जस्तो फलामे गेटको रुपमा अबदेखि एसईई परीक्षालाई नलिइएको धारणा व्यक्त गरे ।
तर सहभागी पत्रकारहरुले सरकार आफैले एसईई परीक्षालाई पहिलेकै एसएलसीको जस्तो हाउगुजी बनाउने गरी प्रचार र तयारी गरेको टिप्पणी गरेका थिए भने सबै सञ्चारकर्मीले परीक्षास्थलको रिपोटिङ गर्न पाउने व्यवस्था मिलाउन माग गरेका थिए ।
सो अवसरमा बोल्दै शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चौलागाइँ, सचिव उमेशकुमा साहुजी, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका झापा अध्यक्ष शिवकुमार राजभण्डारी र पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले विभिन्न सुझाव दिएका थिए ।