एसएलसीको ग्रेड र प्राविधिक शिक्षा

  प्रकाशित मिति
११ असार २०७३, शनिबार ०७:५७


27 gyanendra niraula

बिगतमा फलामे ढोका भनिने एसएलसी परीक्षाको नतिजा यसपाली सामान्य ढोकाको रुप धारण गरेर गत हप्ता मात्र प्रकाशित भएको छ । परिक्षा दिएका सबै पास हुने एसएलसी परीक्षा पास गरेर पनि उच्च शिक्षामा बिगतमा जस्तो सजिलै आफूले छनोट गरेको बिषय पढ्न पाउने अवस्था यो बर्ष देखिएन । एसएलसी परीक्षामा पहिलोपटक लागू गरिएको ग्रेडिङ प्रणालीका कारण बिद्यार्थीले प्राप्त गरेको ग्रेडले नै उसले के–के बिषय पढ्न पाउने र नपाउने भन्ने निर्धारण गर्ने भएकाले पनि उच्च शिक्षाको बिषय छनोटमा अन्योलता कायम नै छ । एसएलसी पास गरेका कैयौं बिद्यार्थीहरु आफूले प्राप्त गरेको ग्रेड सिडका आधारमा कुन बिषय पढ्न पाइन्छ अनि कुन–कुन बिषयमा आफूले अध्ययन गर्ने बाटो बन्द भएको छ भन्ने कुरा अहिले पनि बुझ्न सकिरहेका छैनन ।

यो अन्योलता कायम नै रहे पनि अन्तिम कुरा हो भने एसएलसी पास गरेका सबै बिद्यार्थीले ११ को आवेदन फारम भर्न नपाउने निश्चित छ भने सबै बिद्यार्थीहरुका लागि प्राविधिक शिक्षाको ढोका भने खुल्ला रहेको छ । ग्रेड डि र ई ल्याउने बिद्यार्थीले कक्षा ११ को प्रवेश पाउँदैनन तर उनीहरुले पनि सिटिईभिटिको पाठ्यव्रmममा आधारित प्राविधिक शिक्षा अध्ययन गर्न पाउनेछन् । यसरी हेर्दा अबका दिनमा प्राविधिक बिषय पढ्ने बिद्यार्थीको सङ्ख्यामा उल्लेख्य बृद्धि हुनेछ । त्यसैले होला यतिबेला प्राविधिक बिषय अध्ययन गराउने शैक्षिक संस्थाहरुले आफ्नो बिज्ञापनको मुख्य आकर्षणका रुपमा नै डि र ई ग्रेड प्राप्त गरेर एसएलसी उत्तीर्ण गरेका बिद्यार्थीलाई बनाएका छन् । तर, के डि र ई ग्रेडका लागि मात्र हो त प्राविधिक शिक्षा ? के कमजोर बिद्यार्थीका लागि मात्रै प्राविधिक शिक्षा पढ्न पाउने भनेर प्राविधिक शिक्षाको अवमूल्यन गर्न खोजिएको हो कि डि र ई ग्रेडमा पास गरेका बिद्यार्थीहरुलाई । अरु तिर जाने बाटो बन्द छ भनेर खिल्ली उढाउन खोजिएको हो भन्ने बिषय पेचिलो बनेको छ ।

प्राविधिक शिक्षा जसबाट एउटा युवा सीप सिकेर तत्काल स्वरोजगार बन्न सक्छ । आफ्नो पढाई सकेको भोलिपल्टदेखि नै उ आफ्नै बल बुतामा रोजगारी सृजना गर्न सक्छ । त्यस्तो महत्वपूर्ण बिषय जसले कहालीलाग्दो बैदेशीक रोजगारको लहड लाई रोक्न सक्छ । तर, यस्तो बिषयमा सबै भन्दा कमजोर बिद्यार्थीले प्राथमिकता पाउँदा एउटा राम्रो ग्रेड ल्याएर प्राविधिक शिक्षा पढ्न चाहनेका लागि भने बाटो बन्द गर्ने सम्भावना बढेको देखिन्छ । त्यो के मानेमा भने कमजोर बिद्यार्थीले पनि पढ्न पाउने बिषय धेरै राम्रो नम्बर ल्याएर एसएलसी पास गरेको मानिस पनि पढ्ने र भन्ने अथवा त्यो बिषय त कमजोरहरुको लागि हो भन्ने बुझाई भर्खरै एसएलसी पास गरेका कलिलो मस्तिप्कमा अमिट छापका रुपमा बस्यो भने त्यो हाम्रो जस्तो मुलुकका लागि दुर्भाग्य हुन जान्छ ।

अबको शिक्षाको आवश्यकता भनेको शीपमुलक र स्वरोजगार मुलक प्राविधिक शिक्षा नै हो तर यसपालीको एसएलसीको ग्रेडिङ प्रणाली पछि भने प्राविधिक शिक्षाका बारेमा केही भ्रम सृजना गरेको देखिन्छ । कमजोरहरुले मात्रै पढ्ने भन्ने भान हुने गरी प्राविधिक शिक्षालयहरुको बिज्ञापन र कक्षा ११ मा भर्ना हुन निश्चित मापदण्ड पुरा गर्नु पर्ने भएका कारण प्राविधिक शिक्षाको महत्व झन खुम्चिएर पो जाने हो कि भन्ने चिन्ता पनि यति बेला बढ्न थालेको छ । त्यसैले प्राविधिक शिक्षा आजको आवश्यकता हो तर त्यसलाई ग्रेडिङ कमजोर भएका कारण बाध्यताको अध्ययनमा परिणत गर्न खोज्नुले भविष्य अनिश्चित बनाउने छ । त्यसैले सरोकारवाला निकाय सबैले प्राविधिक बिषय बाध्यात्मक अवस्थाको उपज होइन कि यो स्वरोजगार बनेर मुलुक बिकासको मुख्य साधन हो भनेर बुझ्न र बुझाउन ढिलो गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: