करोडको घर बनाउँदा बीस हजारको सीसी क्यामेरा राख्नुहोस्

  प्रकाशित मिति
२२ माघ २०७६, बुधबार २०:००


मेचीनगर । झापाका प्रहरी प्रमुख कृष्णराज कोइरालाले हरेक परिवारले घर निर्माण गर्दा सीसी क्यामेरा लगाउन सके सुरक्षा बलियो हुने धारणा व्यक्त गरेका छन् ।

‘घाम–पानी र चिसो–तातोका लागि जसरी घर बनाउन हामी करोडौं लगानी गर्न पछि पर्दैनौं,’ प्रहरी उपरीक्षक कोइराला भन्छन्–‘त्यसमा मात्र २० हजार रुपैयाँको सीसी क्यामेरा जडान गर्न कञ्जुस्याइँ नगरौं ।’

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मङ्गलवार काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजना गरेको सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण र शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उपरीक्षक कोइरालाले सर्वसाधारणलाई उक्त रचनात्मक सुझाव दिएका हुन् ।

दुनियाँ प्रविधिको प्रयोगले अघि बढिसकेको विभिन्न उदाहरण दिदै उनले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सीसी क्यामेराको ठूलो महत्व रहने बताए । प्रहरीको जनशक्ति न्यून भएको हुँदा अब शान्ति सुरक्षाका लागि नागरिकको दर्विलो साथ चाहिएको उनले बताए ।

कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरीले कानूनको पालना र प्रविधिको प्रयोगमा जोड दिनुपर्ने सुझाव दिए । उनले लागू पदार्थ तस्करले मेची खोलाको बगरमा गाईवस्तु चराएको बहाना गरी ओसारपसार गरिरहेको जानकारी दिदै प्रहरीले चनाखो भएर निगरानी गर्नुपर्ने बताए ।

मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले मुलुककै प्रवेशद्वार काँकरभिट्टाको शान्ति सुव्यवस्थाका लागि सीसी क्यामेरा जडान लगायतका कार्यमा नगरपालिका सदैव सहयोगी रहेको बताइन् ।

मेची भन्सार कार्यालयका प्रमुख ध्ुवराज विश्वकर्माले नाकामा जडान गरेको सीसी क्यामेराको सहायताले कार्यकक्षमा बसीबसी आफुले निगरानी गर्दै आएको जनाउँदै सीमा क्षेत्रका बासिन्दामा भारतीय बजारमा गएर सामान किन्ने गलत बानी रहेको बताए ।

काँकरभिट्टा इलाका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बिना बर्दीका प्रहरीको रुपमा रहेका समुदायको साझेदारीबेगर शान्तिसुरक्षा बलियो हुन नसक्ने बताए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमको मेचीनगरस्तरीय समितिको सहकार्यमा भएको सो कार्यक्रममा भन्सार राजस्व गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेल, काँकरभिट्टा खानेपानी समितिका अध्यक्ष हर्क फियाक, वडाध्यक्षहरु ललित तामाङ, नविन बराल, योगेन्द्र थापा, नेकपा मेचीनगरका अध्यक्ष माधव अर्याल, नेपाली काङ्ग्रेसका सुरेन्द्र बुढाथोकी, मेची सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेल, समाजबादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, प्राज्ञ सुभद्रा भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

छलफलको अवसरमा सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष बिना तामाङ, होटल सङ्घका मेचीनगर अध्यक्ष रामबहादुर तामाङ, सामजिक अभियन्ता गोविन्द न्यौपाने, शिक्षासेवी हिम्मत क्षेत्री, यातायात व्यवसायी केशव गिरी, यातायात मजदुर नेता खडानन्द भण्डारी, श्रीकृष्णथुम्की विकास समितिका अध्यक्ष महिन्द्र मल्ल लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: