ओरियन्सको बन्धकबाट भाग्न सफल

  प्रकाशित मिति
१४ फाल्गुन २०७६, बुधबार १३:२५


खगेन्द्र घिमिरे

मेचीनगर । गाउँघरमा ट्रयाक्टर चलाएर जीविका चलाउँदै आएका थिए, दोलखाको बैतेश्वर गाउँपालिकाका १९ वर्षीय अनिश खड्का ।

ग्रामीण क्षेत्रमा बस्ने अनिशलाई स्थानीय युवा राज पौडेलले आश्वासन दिए, ‘झापा जाउँ स्काभेटर चलाउने काम पाइन्छ, म जागिर मिलाई दिन्छु ।’ राजको यो कुरालाई अनिशले नकार्न सकेनन् । विपन्न परिवारका खड्काले रोजगारी पाउने आशमा झापा आउने निर्णय गरे ।

ती दुवैजना झापा आए । झापाको काँकरभिट्टा नजिकै आइसकेपछि निर्माणाधीन एसियन हाइवेमा प्रयोग हुँदै गरेको स्काभेटर देखाउँदै उनले यसमा तिमीले काम गर्नुपर्छ भन्दै लोभ देखाउन थाले ।

त्यहाँ काम गर्न केही दिनको तालिम लिनुपर्छ भन्दै राजले अनिशलाई सिलिगुडी पुर्याए । पारि (सिलिगुडी) जाँदा नाकामा कसैले सोधेमा सौदा गर्न गएको भन्नु भनेको अनिशले बताए । त्यसपछि छुट्टाछुट्टै हिँडेका दुवैजनाको भेट पानीट्याङ्कीमा भयो । त्यसपछि उनीहरु गाडी चढेर सिलिगुडीतर्फ लागे ।

राजले अनिशलाई सिलिगुडी पुर्याए । त्यसपछि सहभागी अरुसँगै उनले पनि तालिम लिन थाले । तर, तालिममा क्षमता विकास, मोटिभेसन जस्ता विषय सिकाउन थालेपछि आफू सशङ्कित भएको उनले सुनाए । राजले तालिम लिँदै गर्दा अनिशबाट ६ हजार लिए । र, भने, ‘केही दिनपछि रोजगारी सुरु हुन्छ, उताभन्दा यतै काम राम्रो हुन्छ, सुरुमा एक लाख लगानी गर्नुपर्छ ।’

तर, अनिशलाई यो सम्भव थिएन । उनले आफू पैसा निकाल्न नसक्ने बताए । तर, राजले भने, ‘मासिक २५ हजार हुन्छ, घुम्न पाइन्छ, पछि गाडी पनि पाइन्छ ।’ त्यसपछि अनिशलाई आशा पलायो ।

अनिशले आफु चाहिँ घरमा भन्न नसक्ने भनेपछि तीनै राजले घरमा कुरा गरेपछि आमा बुबाले ऋण काढेर एक लाख रुपैयाँ पठाएको बताए ।

रकम पठाएपछि आफूलाई केही औषधि दिइएको र कोठाभित्रै राखेको उनको भनाइ छ । उनले भने, ‘पैसा पाएपछि राज हुन्जेल मलाई एकछाक खाना दिँदै आएका थिए ।’

केही दिनपछि अरु साथीहरु लिएर आउने भन्दै उनी पनि गएपछि आफू अरु साथीहरुसँगै कोठामा बस्न थालेको तर, केहीदिन पछि त्यहाँका कर्मचारीले मानसिक तनाव दिन थालेका उनी बताउँछन् ।

केही दिनपछि बिहान आफूलाई निधारमा कर्मचारीले अनौठो झोल दल्न लगाउन थालेपछि उनी दिनभरि एकोहोरो हुन थालेका थिए । यति मात्र होइन, कम्पनीले आफूलाई कोठाबाट बाहिर निस्कन समेत दिन छाडेको उनले बताए ।

उनीहरु कोठामै आएर अब सदस्य बनाउनुपर्छ अनि मात्र यहाँबाट बाहिर जान पाउने भन्दै धम्की दिन थालेका अनिशले बताए ।

कम्पनीका थापा नाम गरेका कर्मचारीले नेपाल गएर उजुरी गरिस् भने आफूलाई बाँकी नराख्ने भन्दै धम्क्याउने गरेका उनको गुनासो छ । उनले तेरो किड्नी समेत गायव हुने दिन गन्ती सुरु भएको भन्दै धम्काउने गरेको अनिशले आँखाभरी आँशु बगाउँदै भने ।

बेलुका कोठामा आउँदै गालामा कुट्ने गरेको उनको दुःखेसो छ । अन्ततः आफूले एक लाख बुझाइसकेपछि १६ दिनसम्म बन्धक भएपछि आफूले भागेर नेपाल जाने निर्णय गरे ।

आफूसँग एक रुपैयाँ समेत नभएका उनले बिहान ढोका खोल्ने कर्मचारीलाई ठेल्दै आफू भाग्न सफल भएको उनले सुनाए । बिहान ५ बजे बाहिर निस्किएका उनी नौलो ठाउँ भएका कारण ५ जनाभन्दा बढीलाई सोध्दै हिँडेर ५ घण्टामा नेपाल काँकरभिट्टा आइपुगेका थिए ।

काँकरभिट्टा आइपुगेका उनले विभिन्न सङ्घसंस्था, प्रहरीलाई भेटेर उनले यो पीडा सुनाए । प्रहरीले उनलाई यस विषयमा दोलखा गएर उजुरी गर्न सुझाव दिए । उनलाई सङ्घसंस्थाले केही सहयोग गरेर घर पठाएका छन् ।

उनले हामीसँगको कुराकानीमा आफूलाई लोभ देखाउँदै यो अवस्थामा पुर्याउने राजलाई कारवाहीको माग गर्दै ऋण लागेको पैसा उठाइदिन सहयोग मागेका छन् । आफू जस्तै अरु नेपालीलाई यस्ता कम्पनीको लोभमा नपर्न उनले आग्रह समेत गरे ।

उता यसै कम्पनीका एक सिनियर कर्मचारीले फेसबुक कुराकानीमा त्यो मान्छेले गलत बोलेको भन्दै बचाउ गरे । उनले त्यो मान्छे आफूहरुसँग सम्पर्कमा नरहेको बताए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले ती युवा प्रहरीको सम्पर्कमा आएका र विषयवस्तु बुझेर दोलखा प्रहरीसँग सहकार्य गर्न भनी पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: