ओलीको ५ दिने डेटलाइनमा के–के भए त गतिविधि ?

  प्रकाशित मिति
१ भाद्र २०७७, सोमबार २१:४५


मेचीनगर, १ भदौ । साउन २८ गते नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ५ दिनभित्र पार्टी विवाद समाधानको एउटा ‘सिनारियो’ देखिने दावी गरेका थिए ।

एपी वान टेलिभिजनबाट प्रशारित ‘द बाभ्रो डेल्टा शो’मा पत्रकार भुषण दाहालको प्रश्नमा ओलीले भनेका थिए, ‘हप्ता दश दिन होइन्,पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस् । के हुन्छ सिनारियो ?’, ओलीले भनेका थिए, ‘भोलि एक भनेर काउण्टडाउन सुरु गर्नुस् ।’

ओलीले दिएको ५ दिने ‘डेडलाइन’ पूरा भएको छ । तर, पार्टीको विवाद समाधानको कडी भने निस्किएको छैन ।

विगत दुई महिना यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक विवाद सुल्झिन सकेको छैन । यद्यपि, विवाद समाधान तर्फ ल्याण्डिङ उन्मुख दिशामा पुगेको नेताहरुले बताउन थालेका छन् ।

नेताहरुले आ–आफ्नै दावी गरिरहँदा पार्टी भित्रको विवाद बाहिर खुल्ला रुपमा देखिएको छ । यता, ओली निकट नेताहरु भने प्रधानन्त्रीले नै सहमतिको खाका बनेको भनिसकेको भन्दै फेरि पार्टी विवाद अन्त्य हुने आश्वासन दिइरहेका छन् । आरोपप्रत्यारोपको क्रम जारी नै छ । त्यसैले राजनीतिक विष्लेषक श्याम श्रेष्ठ नेकपाको विवाद मिल्ने सुत्र अझै फेला नपरेको बताउँछन् ।

‘यो त पदकै लडाइ हो । पार्टीको विधान देखाउने कुरा मात्रै हो । मिलिसकेको भन्न नै मिल्दैन । किनकी पदको भागबण्डा मिलेको छैन्,’ उनले भने ।

तर, संवाद दुबै तर्फबाट सुरु भएकाले अब सहमतिको सम्भावना बलियो भएको उनले बताए ।

ओलीले दिएको ५ दिने डेटलाइनमा के–के भए त गतिविधि ?

पहिलो दिन ः दुई अध्यक्षबीच ४ घण्टा छलफल

ओलीको ५ दिने अल्टिमेटमको भोलिपल्टै अध्यक्षद्वय ओली र प्रचण्डबीचको एक साता लामो संवादहीनता तोडियो ।

साउन २० गतेपछि ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुन सकेको थिएन । ओली प्रचण्डबीच बिहीवार झण्डै चार घण्टा लामो छलफल भयो ।

साउन २१ गतेका लागि भेटघाटको मिति तय भए पनि अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले छुट्टै पत्रकार सम्मेलन गरेपछि वार्ताको वातावरण बिग्रिएको थियो ।

त्यसो त प्रचण्ड र महासचिव विष्णु पौडेल पनि आफ्ना सुरक्षाकर्मीहरुलाई कोभिड–१९ संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका थिए । साता लामो आइशोलेसनबाट निस्किएर उनीहरुबीच छलफल भएको थियो । तर विवाद समाधानमा कुनै निर्णय हुन सकेन ।

दोस्रो दिन ः ६ सदस्यीय कार्यदल गठन

दुई अध्यक्षबीच शुक्रवार पनि छलफलले निरन्तरता पायो । भेटवार्ताले पार्टीको समस्या सुल्झाउनका लागि भन्दै ६ सदस्यीय कार्यदल गठन ग¥यो ।

कार्यदलमा पार्टी महासचिव विष्णु पौडेलसहित स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल रहेका छन् ।

पार्टी विवाद समाधानका लागि बनाइएको कार्यदलमा पनि भागबण्डा मिलाइएको छ । कार्यदलमा ओली, प्रचण्ड र नेपालका दुईरदुई जना सदस्यहरु रहेका छन् ।

तेस्रो दिन ः कार्यदलको पहिलो बैठक, गठनप्रति शीर्ष नेताको असन्तुष्टी

विवाद सुल्झाउन बनेको कार्यदलले शनिवारबाटै नै काम थाल्यो। शनिवार भैंसेपाटीको एक निजी घरमा बसेको कार्यदलको बैठक अनौपचारिक छलफलमा सिमित भयो ।

कार्यदलका सदस्यहरुले शनिवारको बैठकमा सामान्य छलफल भएको बताएका थिए ।

शनिवार नै नेकपाका शीर्ष नेताहरुले कार्यदलको वैधानिकतामाथि प्रश्न उठाएका थिए । दिउँसो अध्यक्ष प्रचण्डसँग भेट गरी वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले कार्यदल सचिवालय बैठकबाट अनुमोदन हुनुपर्ने माग राखेका थिए ।

तीनैजना नेताले दुई अध्यक्षको सहमतिले मात्रै समस्या समाधान नहुने भन्दै कार्यदलको कार्यादेशका लागि सचिवालय बैठकको बोलाउन माग गरेका थिए ।

चौथो दिन ः कार्यदलको दोस्रो बैठक

आइतवार कार्यदलको दोस्रो बैठक बस्यो । बैठकबाट औपचारिक रुपमा विवाद समाधानका लागि काम सुरु भएको एक नेताले बताए ।

तर, बैठकमा छलफल भएका विषयहरुका बारेमा भने केही खुलाइएको छैन । कार्यदललाई समाधानका लागि खाका तयार गर्न ‘डेडलाइन’ समेत दिइएको छैन । उनीहरुलाई केही दिनमै समाधानका लागि गृहकार्य गरेर मस्यौदा पेश गर्न भनिएको छ ।

आइतवार प्रधानमन्त्री ओलीले सोमवार बिहानका लागि सचिवालय बैठक पनि आब्हान गरे । यसलाई धेरैले विवाद समाधानको यात्राका रुपमा हेरे ।

पाचौं दिन ः सचिवालय बैठक, कार्यदल अनुमोदन

प्रधानमन्त्री ओलीले विवाद सकिने भन्दै तोकेको अन्तिम दिन सोमवार सचिवालय बैठक बस्यो ।

बिहान बालुवाटारमा बसेको बैठकले समस्या सुलझाउनका लागि बनाइएको कार्यदल अनुमोदन ग¥यो । जुन माग झलनाथ, माधवकुमार र नारायणकाजीले प्रचण्ड सामु राखेका थिए ।

‘आजको सचिवालयको बैठकले केही समय यता पार्टीमा देखा परेका समस्या त्यसको समाधान र संकटको निकासका निम्ति भइरहेको छलफललाई व्यवस्थित ढंगले अघि बढाएर टुंगोमा पु¥याउन अध्यक्ष कमरेडहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गरेर सुझाव पेश गर्न जुन पहल गर्नुभयो त्यसलाई बैठकले सकारात्मक रुपमा लिँदै धन्यवाद दिएको छ’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आजको बैठकले उक्त कार्यदललाई अनुमोदन गरेको छ ।

कार्यदलले राष्ट्रका सामु देखिएका कार्यभारलाई पूरा गर्न पार्टी र सरकार सक्षम हुनेगरी गर्नुपर्ने कामहरूका बारेमा सुझाव दिन सफल हुनेछ भन्ने आशाका साथ कार्यदललाई बैठकले शुभकामना दिएको छ ।’

कार्यदलले मस्यौदा पेस गरेसँगै सचिवलायमा छलफल गर्ने र स्थायी समितिमा अनुमोदनका लागि लैजाने दुई अध्यक्षबीच समझदारी रहेको छ ।

पार्टी सञ्चालनको सम्पूर्ण कार्यकारी अधिकार प्रचण्डमा कायम रहनेगरि सहमति हुन सक्ने नेताहरु बताउँछन् । जुन कुरामा यसअघि नै सहमति भएको थियो । तर, ओली र प्रचण्डबीच शक्ति बाँडफाँड हुन सकेको थिएन ।

हाल हुने सहमतिमा अध्यक्षका रुपमा ओली पनि कायमै रहने बताइएको छ । प्रधानमन्त्रीका रुपमा ओलीले पूर्ण कार्यकाल नै सञ्चालन गर्नेछन् ।

दुई अध्यक्षबीच विवाद समाधारको सुत्रका रुपमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा समेत छलफल भएको छ ।

दुई वर्ष कार्यकाल पूरा गरेका जोसुकै मन्त्रीलाई पनि हटाएर नयाँ मन्त्री नियुक्त गर्ने विषयमा दुवै अध्यक्ष सहमत भएको बताइएको छ ।

विवाद समाधानका लागि गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठनको खाका र प्रस्ताव पनि तयार पार्ने बताइएको छ । प्रदेशका केही मुख्यमन्त्री हेरफेरको पनि सम्भावना रहेको छ ।

(पहिलो पोष्टबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: