ओलीले उपराष्ट्रपतिप्रति आक्रोश पोख्दै भने ‘चुनावको पक्षमा बोल्न सिक्नुस्’

  प्रकाशित मिति
८ फाल्गुन २०७७, शनिबार २०:१२


विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तालाई असहयोग गरिरहेको भन्दै उपराष्ट्रपति र सभामुखप्रति आक्रोश पोखेका छन् ।
उनले संवैधानिक उपराष्ट्रपति र सभामुख नै झगडिया बन्दै हिड्न थालेको टिप्पणी गरे ।

विराटनगरमा आज आयोजित नेकपाको ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले पहिलोपल्ट उपराष्ट्रपति नन्दवहादुर पुनको आलोचना गरेका हुन् ।

‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिँड्नुभएको छ । चुनाव गर्नु हँुदैन भन्नुहुन्छ, उहाँको पदले त्यसो गर्न दिन्छ ? हुन त उहाँ चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको तर अब त चुनावको पक्षमा बोल्न सिक्नुस्’, प्रधानमन्त्री ओलीको भनाई थियो ।

उनले सरकारको आलोचक रहँदै आएका सभामुख अग्नी सापकोटाप्रति समेत कटाक्ष गरे । आफू झगडिया नभएको जिकीर गरे भने सभामुख अग्नी सापकोटालाई किर्तेको आरोप लगाए । सापकोटाले सरकारविरुद्ध मुद्दा लिएर अदालत गएको उनको आरोप थियो ।

‘सभामुख भनेर छानियो तर झगडिया भएर निस्किए । सरकारविरोधी झगडिया हुन् सभामुख’, उनले भने, ‘उहाँले किर्ते सनाखत गर्नुभएको छ ।

सभामुख जस्तो पदको मान्छेले किर्ते गर्छ भन्दा पनि लाज लाग्छ । साँढे ३ बजे गएको प्रस्तावलाई १० बजे आएको भनेर सनाखत गरे ।’

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि अरु सभामा झैं ओलीले कडा आलोचना गरे ।

‘प्रचण्डजीको मलाई त माया लाग्छ, उहाँलाई पहिला वैद्यले छाड्नुभयो, अनि डाक्टर लिनुभयो, अहिले एउटा भाँक्री लिनुभएको छ, अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन’–ओलीले भने ।

राजनीतिक सिनबाट लगभग गायब हुन लागेका प्रचण्डलाई आफूले स्थापित गरिदिएको तर त्यो उनलाई नपचेको पनि प्रधानमन्त्री ओलीले टिप्पणी गरे ।

‘राजनीतिमा सिद्धी नै सकेका प्रचण्डलाई, दुई–चार सिटमा सीमित हुने प्रचण्डलाई ल्याएर ठूलो जुरो हालिदिएको थिएँ, जुरो हालिदिएपछि अनि लामो सिङ भएपछि उहाँमा अचानक अहंकार बढ्यो, षड्यन्त्रमा लाग्नुभयो’, प्रधानमन्त्री ओलीले थपे– ‘तर अब उहाँको नियति असफलताबाहेक केही हुन्न, तर अझै पनि उहाँलाई म भन्न चाहन्छु– तपाईं फर्कन चाहनुहुन्छ भने नेपाली जनताको सागरमा मिसिनुस् ।’

सभालाई गृहमन्त्री रामबहादुर थापा बादल लगायतले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओली विराटनगरको सभामा आउँदा केही व्यक्तिले कालो झण्डा समेत देखाएका थिए ।

अघिल्ला सभामा जस्तै विराटनगरमा नेकपाको सत्तारुढ ओली समूहले शनिवार आयोजना गरेको प्रदेशस्तरीय आमसभा भब्य रह्यो ।

सभामार्फत ओली समूहले प्रधानमन्त्रीको गृहप्रदेशमा आफ्नो समूहको बलियो उपस्थिति रहेको जनाउ दियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: