मेचीनगर । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवाबीच सत्ता सहकार्यको विषयमा कुराकानी भएको खुलासा भएको छ ।
आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवाले ओलीसँग भएको कुराकारी भएको स्विकार्दै ओलीले सरकारमा साथ खोजेको बताएका थिए ।
नेकपा संसदीय दलका उपनेता सुबास नेम्वाङ प्रधानमन्त्री ओलीको दुत बनेर देउवालाई भेट्न गएपछि कांग्रेस सत्तामा जाने तरखर गर्दैछ कि भन्ने प्रश्न उब्जिएको छ ।
किनकी प्रधानमन्त्री ओलीले सरकारमा साझेदारीको प्रस्ताव गरेको सन्देश नेम्वाङले देउवालाई दिएका थिए ।
कांग्रेस केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल पनि सो भेटघाटमा सहभागी रहेको थाह भएको छ ।
कांग्रेस कार्यसमितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवा–नेम्वाङ्गबीचको भेटघाटबारे प्रश्न उठाएपछि सभापति देउवाले कुराकानी भएको जानकारी दिंदै त्यस विषयमा डा.रिजाल बढी जानकार रहेको बताए ।
यसअघि गएको १७ गते बुधबार पनि ओली र देउवाबीच बालुबाटारमै लामै छलफल भएको र त्यसको भोलिपल्टै प्रधानमन्त्री ओलीले संसदको अधिवेशन अन्त्य गरेको पनि बुझिएको छ ।
यी गतिविधिहरुले संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयमा कांग्रेस सभापति देउवाको पनि सहमति त थिएन ? भन्ने प्रश्न पनि उठेको छ ।
वैठकमा सभापति देउवाले प्रधानमन्त्री ओलीले फोन गरेर आफू घेरावन्दीमा परेकाले साथ दिनु पर्यो भनेपछि भेटघाट भएको बताएको वैठकमा सहभागी केन्द्रिय सदस्यहरुले बताएका छन् ।
बैठककै बीच पत्रकारहरुसँग कुराकानी गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि ओली–देउवा भेटघाट भएको स्विकार गरे ।
बैठकमा देउवाले पार्टीका दोस्रो पुस्ताका नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल लगायतसँग छुट्टै छलफल गरेका थिए ।
केन्द्रीय सदस्य डिला संग्रौला र नविन्द्र राज जोशीले भने सभापति देउवाले आफ्नो भेट संवैधानीक आयोगको विषयमा छलफल गर्नका लागि भएको भन्दै बैठकमा जानकारी गराएका थिए ।
नेकपाभित्र आन्तरिक कलह चुलिएर प्रम ओलीको कुर्सी हल्लिरहेको बेला ओली देउवाको भेट र सत्ता साझेदारीको छलफलले राजनीतिक खिचडी नयाँ ढंगले पाक्दै गरेको संकेत गरेको छ । (ईमेजखवर)