ओली वैशाखसम्म प्रधानमन्त्री, त्यसपछि पत्तासाफ : प्रचण्ड

  प्रकाशित मिति
१४ पुष २०७७, मंगलवार १९:४८


फोटोहरु । अनलाइन खवर

झापा, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली वैशाखसम्म प्रधानमन्त्री रहने र त्यसपछि पत्तासाप हुने बताएका छन् ।

ओली श्री ३ महाराजाधिराज बन्न खोजेको भन्दै उनले जनताले साथ नदिने पनि बताए ।

‘ओली वैशाखबाट प्रधानमन्त्री हुन्नन् । त्यसपछि पत्तासाप,’ भृकुटीमण्डपमा आज आयोजित विरोध सभामा प्रचण्डले भने, ‘आजको नेपाल र विश्वमा श्री ३ महाराजाधिराज हुन्छु भनेर हुन्छ ?’

उनले कम्युनिष्ट पार्टी फुटिसकेको पनि बताएका छन् । संविधान बचायो भने दुई वर्षपछि चुनाव हुने पनि उनले बताए ।

अहिले चुनाव भए जितिहालिन्छ भनेर मख्ख नपर्न पनि उनले अन्य पार्टीका नेतालाई आग्रह गरेका छन् । ओली एक जनाले बाह्र सय केन्द्रीय सदस्य गठन गरेको पनि उनको भनाइ छ ।

आफूहरूको पक्षमा ७० प्रतिशत केन्द्रीय सदस्य रहेको भन्दै प्रचण्डले चुनाव चिन्हमा कुनै विवाद गरिराख्नु नपर्ने बताए । ‘एक जना व्यक्तिले १२ सय केन्द्रीय सदस्य बनाउने ? एक जनाको सनकमा संसद भंग हुने ? चुनाव घोषणा ?,’ उनले ओलीलाई लक्षित गर्दै भने ।

ओलीले असंवैधानिक कदम चालेकोले जनताले संघर्षबाटै सच्याउनुपर्ने बताएका छन् । प्रतिगमन नसच्चिएसम्म संघर्ष गरिराख्ने प्रचण्डको भनाइ छ । ‘अझै जरूरी परे कठोर संघर्ष हुन्छ तपाईंहरू तयार नै रहनुहोला,’ प्रचण्डले कार्यकर्तालाई भने ।

अदालतले ओलीले चालेका असंवैधानिक कदम सच्याउने भरोसा आफूहरूले गरेको उल्लेख गरेका प्रचण्डले तर सडकबाट संघर्ष भने अन्तिमसम्म पनि छाड्न नहुने बताएका छन् ।

‘अदालतसँग सम्मान गर्ने हो केही गर्न मिल्दैन । अदालले असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउनेछ,’ उनले भने, ‘अझै हामीलाई जनतामाथि भरोसा छ । जनताले सडकबाट पनि प्रतिगमन सच्याउन सक्छ ।’

वैशाखमा ओलीले चुनाव नगराउने पनि उनले बताए । ‘यो हुनेवाला चुनाव होइन । चुनाव हुन्छ भनेर भ्रम राख्न हुन्न,’ उनले भने, ‘हुँदाखाँदाको बहुमत छाडेर यस्तो दुर्घटना गर्नेले चुनाव गराउँछ ?’

प्रधानमन्त्री ओली कसैको गोटी भएको आरोप प्रचण्डको छ । तर, उनले कसको गोटी भएका हुन् भन्ने खुलाएनन् ।

(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: