कचनकबलमा सर्पदंश उपचारले पायो अनुमति

  प्रकाशित मिति
३० जेष्ठ २०७८, आईतवार ०८:१४


स्वास्थ्य केन्द्र बनियानीको फाइल फोटो ।

बनियानी, ३० जेठ । झापाको दक्षिणी भेगमा पर्ने कचनकबल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेको छ ।

विषालु सर्पको डसाईबाट वर्षेनी धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था भएका कारण सो दक्षिण झापाका बासिन्दाले विगत लामो समयदेखि स्थानीय क्षेत्रमै सर्पदंश उपचार केन्द्रको माग गर्दै आएका थिए ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले कचनकबलको बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको गाउँपालिकाका अध्यक्ष अन्जार आलमले जानकारी दिए ।

महाशाखाले चार वर्षका लागि अनुमति प्रमाणपत्र जारी गरेको छ । स्वास्थ्य विभागले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई परिपत्र गरी कचनकबलको सर्पदंश उपचार केन्द्रलाई आवश्यकता अनुसार एन्टी स्नेक भेनम उपलब्ध गराउन निर्देशन दिएको सो क्षेत्रका प्रदेश सांसद् बसन्त बानियाँले बताए ।

स्वास्थ्य मन्त्रालयले प्रदेश नं. १ कै मोरङको केराबारी गाउँपालिकाको कालापानी सर्पदंश उपचार केन्द्र र प्रदेश नं. २ सप्तरीको कञ्चनरुप नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत सर्पदंश उपचारको अनुमति प्रदान गरेको छ ।

झापा मुलुककै सर्पदंशका बढी घटना हुने जिल्ला हो । हाल झापाको चारआली र दमकमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् ।

कचनकबलको बनियानीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउने भएपछि स्थानीयमा खुशियाली छाएको छ । सामाजिक सञ्जालमा सर्वसाधारणदेखि राजनीतिक दलका नेता र जनप्रतिधिहरुले यसलाई स्वास्थ्यका क्षेत्रमा ठूलो उपलब्धिको रुपमा चर्चा गरिरहेका छन् ।

‘‘कचनकबलबासीको लामो समयदेखिको चाहनाको रुपमा रहेको सर्पदंश उपचार केन्द्र सञ्चालन स्वीकृति प्राप्त भएको समाचारले असाध्य खुशी तुल्याएको छ,’’ झापा क्षेत्र नं. ३ का निवत्र्तमान संघीय सांसद् राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्–‘‘यसका लागि प्रयत्न गर्ने सबैलाई धन्यवाद ।’’

असार ३ गते निवत्र्तमान संघीय सांसद् राजेन्द्र लिङ्देनले केन्द्रको विधिवत उद्घाटन गर्ने र सोही दिनबाट उपचार सुरु गरिने गाउँपालिका अध्यक्ष आलमले बताए । चालु आर्थिक वर्षमा गाउँपालिकाले सर्पदंश उपचारका लागि रु. ७ लाख बजेटको व्यवस्था गरेको थियो ।

सर्पदंश उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रकै २ जना स्वास्थ्यकर्मीलाई विशेष तालिम प्रदान गरिएको र एक जना एमबीबीएस तहका चिकित्सक समेत नियमित उपलब्ध हुने उनले जानकारी दिए ।

हाल प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीका लागि अक्सिजनको सुविधा छ । अध्यक्ष आलमले भेन्टिलेटरको अभाव रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: