भद्रपुर, ३१ असार । कचनकवल गाउँपालिकाको छैटौँ गाउँ सभाले चालु आर्थिक वर्ष २०७७÷७८ का लागि ५३ करोड ८९ लाख ६० हजार एकसय रुपैयाँको बजेट बहुमतले पारित गरेको छ ।
गाउँपालिकाको असार १० गतेबाट सुरु भएको गाउँ सभा अन्त्य गर्दै परिषद सदस्यहरुको बुधवार बसेको बन्द सत्रको बहुमतले बजेट पारित गरेको हो ।
बजेटलाई उपाध्यक्ष निमसरी राजवंशीले लिखित प्रतिवेदन मार्फत सार्वजानिक गरेकी थिइन् ।
उपाध्यक्ष राजवंशीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पूजीँगत तर्फ २५ करोड ६६ लाख १८ हजारसहित ५३ करोड ८९ लाख ६० हजार एक सय रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
गाउँपालिका अध्यक्ष अञ्जार आलमको अध्यक्षतामा सभा सुरु हुने वित्तिकै ४ जना वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आफ्ना वडामा आउने ६० लाख बजेटबाट १० लाखमा झारिएको भन्दै सभा बहिस्कार गरेका थिए ।
वडा नम्बर २ का वडाध्यक्ष मेखबहादुर भट्टराइले वजेट पेश गर्न गाउँपालिका उपाध्यक्ष रोस्टममा जान लाग्दा कार्यपालिका बैठकमा भएको सहमती विपरित अध्यक्ष, उपाध्यक्षले बजेट तयार गरेको प्रति आपत्ति जनाउँदै विपक्षी दल भनेर विभेद गरेको ठहर गर्दै गाउँ सभा बहिस्कारको घोषणा गरेका थिए ।
यसरी गाउँ सभा बहिस्कार गर्ने वडाध्यक्षहरुमा ४ नम्वरका वडाध्यक्ष प्रमानन्दसिंह रावजंशी, ६ नम्वर वडाध्यक्ष कुलबहादुर कार्की र ७ नम्वरका वडाध्यक्ष भरतकुमार राजवंशी रहेका छन् ।
त्यसैगरी नेपाली काँग्रेस र नेकपाबाट विजयी वडा सदस्यहरुले पनि राप्रपामय बजेट बनाएको भन्दै वडाध्यक्षहरुसितै बहिस्कार गरेका थिए ।
बजेट बहिस्कार बारे प्रष्ट्याउँदै वडा नम्वर ६ का अध्यक्ष कुलबहादुर कार्की कार्य पालिका बैठकमा एक करोड वजेट मागिएकोमा प्रत्येक वडालाई ६० लाख दिने सहमती तोडेर अध्यक्ष, उपाध्यक्षले वजेट पारित गर्ने बेला १० लाखमा झारो टारेको आरोप लगाएका छन् ।
यस्तै वडा नम्वर ४ का अध्यक्ष प्रमानन्दसिंह राजवंशी गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई जन्मदर्ता, मृत्यु दर्ता तथा नागरिकताको सिफारिस गर्ने मात्र बनाएर विकासविहिन भूमिकामा ल्याउन खोजेको आरोप लगाए ।
उनले वडाको सन्तुलित विकासका लागि टोल–टोलबाट ६० लाखका योजना वडा सदस्यसहित वडाध्यक्षहरुले तय गरेको भए पनि अन्तिममा बजेट कटौती गरेपछि बहिस्कारको विकल्प नभएको सुनाए ।
यता गाउँपालिका अध्यक्ष आलम भने अघिल्लो वर्ष दीर्घकालिन आयोजना अन्र्तगत भएको १० करोड खर्च वापतको रकम तिनु पर्ने बाध्यताले वडामा बजेट कटौती भएको बताउँछन् ।
उनका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकार तथा संघीय सरकारले दिने भनेको अनुदान घटेपछि सोही अनुदानका आशमा निर्माण गरिएका आयोजनाका रकम यसवर्ष तिनु पर्ने बाध्यता आइपरेकाले वडामा बजेट घटाउनु पर्ने बाध्यता परेको प्रष्ट्याएका छन् ।
७ वटा वडा रहेको कचनकवलमा ४ र ७ नम्वर वडाध्यक्षसहित ८ जना नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् भने तत्कालीन एमालेबाट २ र ६ नम्वर वडाध्यक्षसहित ६ जना जनप्रतिनिधि निर्वाचित छन् ।
काँग्रेस र नेकपा सम्बद्ध जनप्रतिनिधिले बहिस्कार गरे पनि राप्रपाको बहुमत भएका कारण गाउँसभाले बजेट पारित गर्न सफल भएको छ ।