झापा, ४ जेठ । कचनकवल गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका कालिन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्षमा नेकपा एमालेका नवराज भट्टराई विजयी भएका छन् ।
गाउँपालिकाको सात वडामध्ये ६ वटा वडामा प्यानलसहित गाउँपालिकाको अध्यक्ष काँग्रेसले जितेको हो । प्रमुख पदमा काँग्रेससँग गठबन्धन गरेका नेकपा एमालेले एउटा वडासहित गाउँपालिका उपाध्यक्ष जितेको छ । २०७४ सालको निर्वाचनमा राप्रपाले गाउँपालिकामा बहुमत ल्याएका थिए ।
राजवंशी ११ हजार ४७७ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी राप्रपाका अन्जरा आलमले ६ हजार ६६७ मत ल्याएका छन् । आलम निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । त्यस्तै माओवादीका बुद्धिप्रसाद नेपालले ६६४, जनता समाजवादी पार्टीका ज्ञानबहादुर राईले १०९ , लोकतान्त्रिक समाजवादी पार्टीका कर्णलाल राजवंशीले १०१, नेकपा एकीकृत समाजवादी पार्टीका खेपचरण यादवले ५४, जनमत पार्टीका वाकसिंह राजवंशीले २० र स्वतन्त्र उम्मेदवार विनोदकुमार खरेलले १८ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई निर्वाचित भएका छन् । भट्टराईले ८ हजार १४३ मत ल्याएका छन् । उनले प्रतिद्वन्द्वी निमसरि राजवंशीले पराजित गरेका हुन् । राजवंशी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् । राजवंशीले ६ हजार ८०१ मत प्राप्त गरिन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका हेलामती राजवंशीले १३७ र जनमत पार्टीका सरस्वती मुखियाले २५ मत ल्याएका छन् । वडाध्यक्षतर्फ वडा नम्बर १ मा काँग्रेसका महावीर लिम्बू , २ मा एमालेका लेखनाथ खत्री , ३ मा काँग्रेसका ग्यास अजमल मिया , ४ मा काँग्रेसका नुरुजजमा मिया , ५ मा काँग्रेसका मोहम्मद नूर आलम , ६ मा काँग्रेसकै चिन्तामणि खरेल र ७ मा पनि काँग्रेसकै भरत राजवंशी निर्वाचित भएका छन् ।