कठोर व्रत जितीयाको लैंगिक समाजशास्त्र

  प्रकाशित मिति
१ आश्विन २०७९, शनिबार १३:४३


सुधा देव 
सप्तरी, १ असोज । राजविराज नगरपालिका–७ खर्साल टोलकी ६६ वर्षीया उर्मिलादेवी देव ४८ वर्षदेखि जितिया व्रत बस्दै आएकी छिन् । विवाह भएको वर्षदेखि नै उनले जितिया व्रत बस्न थालेकी हुन् । व्रतको उद्देश्यबारे उनी भन्छिन्, ‘सन्तान प्राप्तिका लागि व्रत बस्न थालेकी थिएँ ।’

पाँच सन्तानमध्ये चार छोराछोरी गर्भमा भएको बेला उनले जितिया व्रत बस्नु परेको थियोे । देव भन्छिन्, ‘अहिलेसम्म एक थोपा पानी पनि नखाई व्रत लिँदै आएकी छु । शरीरमा कहिल्यै कुनै समस्या आएन । अहिलेसम्म सजिलै भएको छ ।’ सन्तानको  दीर्घायु र परिवारको सुख शान्तिका लागि वर्षमा एक पटक व्रत बस्न आनन्द लाग्ने उनको भनाइ छ ।

सप्तरी राजविराज नगरपालिका–१ पडरियाकी ६२ वर्षीया सरितादेवी झाले पनि ४० वर्षदेखि जितिया व्रत बस्तै आएकी छिन् । उनले दोस्रो सन्तानका रूपमा छोरा पाएपछि व्रत सुरू गरेकी हुन् । छोरा भएका आमाले कुनै हालतमा व्रत बस्नै पर्छ भन्ने मान्यता रहेकाले परिवारबाट दबाब आउन थालेपछि व्रत सुरु गरेको उनले बताइन ।

राजविराज नगरपालिका–६ खर्साल टोलकी ३६ वर्षीया कविता यादव पनि यसपालि व्रत बस्ने सोचमा छिन् । ‘अब त छोरा पनि ठुलो भयो, कहिले जितिया व्रत सुरु गर्छाै ? अहिलेसम्म किन सुरु नगरेकी ? भन्छन् । गुनासो गर्न थालेपछि यस वर्ष व्रत बस्ने निर्णय गरे ।’ उनले भनिन्, ‘पाँच वर्षदेखि व्रत बस्न लागि जेठानीले ढिपी गर्दै आउनुभएको छ । सबैले लिएको देख्दा मलाई पनि व्रत नबसे केही हुन्छ की भनेर डर लाग्न थालेको छ ।’

कविताले थपिन्, ‘पानी नखाई दिनभर त बस्न नसक्ने मान्छे ३६ घण्टासम्म कसरी बस्न सकुँला ? चिन्ता लागेको छ । तर हिम्मतका साथ गर्ने तयारीमा छु ।’ 

जितियालाई हिन्दु धर्मालम्बीहरूले गर्ने सबैभन्दा कठोर व्रतको रूपमा लिइन्छ । तराई मधेशका महिलाहरू छोराको दीर्घायु, सुस्वाथ्य तथा सन्तान प्राप्तिका लागि सदियाँैदेखि यो व्रत बस्दै आएका छन् । अष्टमी तिथि सुरु भएदेखि नवमीसम्म व्रतालु महिलाले एक थोपा पानी पनि नखाई निराहार ३६ घण्टा व्रत बस्नुपर्ने हुनाले यसलाई कठोर व्रत मानिएको राजविराज–३ राजदेवी रोडकी ५० वर्षीया रूपा झाले बताइन् ।

जितिया व्रत लिँदा व्रतालु महिलाको मृत्युु भएको समाचार पनि आउने गरेको छ । राजविराज–२ तेतरी गाछीकी ६५ वर्षीया मीना देवले भनिन्, ‘यसवर्ष आज शनिवार दिन रात र भोलि आइतबार साँझ ५ बजेसम्म व्रत बस्ने र ६ बजे मात्र पारण गर्ने अर्थात पानी वा अन्य खानेकुरा खान सकिन्छ ।’

व्रतको विधि
राजविराज नगरपालिका–१६ बोरियाकी ५५ वर्षीया विमला देवका अनुसार, जितिया व्रत सुरु गरियो भने छोड्न मिल्दैन । बिरामी वा कुनै औषधि नखाई नहुने अर्थात जटिल अवस्थामा मात्र छोड्न मिल्छ । 

सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको संकल्प गरिन्छ । व्रतालुले दिवङ्गत सासू, जेठानी, नन्द, आमा, फुपूसासू तथा तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलन छ । यस व्रतलाई षोडष मातृका श्राद्घ पनि भन्ने गरेको स्थानीय पण्डित शम्भु मिश्र बताउँछन् । सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरूलाई दीर्घजिवी बन्ने आर्शीवाद देऊ’ भन्ने कामना गर्ने गरेको मिश्रको भनाइ छ ।

व्रतका दिन बिहानै उठेर घर लिपपोत गरेर चोखो पारिन्छ । पिना, तेल, घिरौलाको पात, जियलको पात, बाँसको पात, नयाँ लुगा बोकेर महिलाहरू छिमेकी महिलासँग समूहमा पोखरी तिर जान्छन् । पोखरीमा पुगेपछि तोरी पेलेपछि बन्ने खोस्टा अर्थात पिना लगाएर नुहाउँछन् । नयाँ लुगा लगाएर पितृ तथा ‘जिमुतवाहन’ देवतालाई पिना, तेल र बाँस, घिरौँला तथा जियलको पात चढाउँछन् ।

व्रतको अघिल्लो दिन बेलुका व्रतालु महिलाले विभिन्न प्रकारका खाना, दही, मिठाइ, माछा, कोदोको रोटी खान्छन् । भोलिपल्ट बिहान ४ बजे व्रतालु महिलाले आँगनमा घिरौलाको पातमा पितृ तथा जिमुतवाहनलाई दही, चिउरा, चिनी, केरा, मिठाई, पान, सुपारी चढाउने चलन छ ।

व्रत लिएको दिन बेलुकी जतिजना छोरा छन्, त्यति वटा नरिवल, फलफूललगायत पूजा सामग्री राखेर डाली भर्छन् । डालीलाई छोराले पानको पातले छोपिदिन्छन् । व्रत सकेपछि घरमा भएको छोरा, नातिले डाली खोल्छन् । डालीबाट प्रसाद झिकेर पुनः पितृ र जिमुतवाहनलाई चढाई सबैलाई बाँडेर दिएपछि व्रतालुले पानी पिउने र अन्य खानेकुरा खाने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: