कता हरायो हरिण ?

  प्रकाशित मिति
२६ चैत्र २०७४, सोमबार ०९:०४


हराउनु अघि खिचिएको तस्वीर

मेचीनगर । एक साता अघि मेचीनगर–९ फारामबस्तीमा समातिएको हरिण शङ्कास्पद ढङ्गले ‘वेपत्ता’ भएको छ ।

चैत १९ गते विहान ७ः३० बजेतिर स्थानीयबासीले समातेको कैलो रङको हरिणलाई पदमबहादुर दर्जीको आँगनमा बाँधेर राखिएको थियो ।

अन्दाजी १८÷२० किलोग्रामको सो हरिण समातिए पछि हेर्नेको घुइँचो लागेको थियो ।

तर, केही घण्टापछि हरिण हराएको हल्ला गाउँमा फैलिएको एक गाउँलेले बताए । हल्ला सुनेर दर्जीको घर पुग्दा त्यहाँ हरिण थिएन ।

हरिण कहाँ हरायो भन्ने विषयमा अहिले कोही पनि बताउन चाहँदैनन् । हरिण भागेको वा कतै कसैले लगेको पनि कसैले बताउन सकेका छैनन् ।

हरिण बाँधिएको घरकी चन्द्रकुमारी दर्जीले हरिण कता हरायो भन्ने विषयमा आफुहरुलाई केही थाहा नभएको लोकतन्त्र पोस्टसँग बताइन् ।

‘विहान गाउँलेहरुले हरिण पक्डेर हाम्रो आँगनमा बाँधेको कुरो साँचो हो’, चन्द्रकुमारीले घटना सुनाउँदै भनिन्–‘आआफ्नो काममा गइयो, दिउँसो फर्केर घर आउँदा बाँधेको ठाउँमा हरिण थिएन ।’

चन्द्रकुमारीले हरिण बाँधेको भेल्भेटको डोरी पनि देखाइन् । सुर्कानो पारिएको डोरी फुकेको र कतै चुडिएको छैन ।

हरिण बाँधेको स्थानको अवलोकन

डोरी हेर्दा सुर्कानो खुकुलो पारेर हरिण लगिएको हुन सक्ने आशङ्का छ । तर कसले र किन त्यो हरिण लग्यो भनेर कसैले भन्न सकेका छैनन् ।

दर्जी परिवार गाईभैँसीको व्यापार गर्छन् । त्यसदिन सोमवार परेकाले घरमा कान्छी बुहारीलाई छाडेर सबैजना धुलावारी बजार गएको चन्द्रकुमारी बताउँछिन् ।

घर रुङ्न बसेकी चन्द्रकुमारीकी कान्छी बुहारीले पनि कतिखेर हरिण हरायो भन्ने आफुलाई थाहा नभएको बताइन् ।

‘आँगनमा बाँधिएको हरिण हेर्न मान्छेहरु आइरहेका बेला म टिभी हेर्ने कोठामा भुसुक्कै निदाएछु’, चन्द्रकुमारीकी कान्छी बुहारी भन्छिन्–‘निद्राबाट व्युँझिएर हेर्दा आँगनमा हरिण थिएन ।’

समातिएको हरिणको घाँटी र खुट्टामा चोट थियो । दर्जीको घरमा हरिणको चोटमा बेसार र तेल दलेर सामान्य उपचार समेत गरिएको थियो ।

सो हरिण दिउँसो बस्तीको बीचबाट भागेर जङ्गलतिर गयो होला भनेर पत्याउन गाह्रो छ । हरिण फेला परेपछि त्यसलाई हेर्ने, चासो दिने र पछ्याउनेहरुको भीड नै थियो । भागेको भए कसैले न कसैले देख्ने थिए ।

हरिणलाई प्रहरी वा बन कार्यालय वा चिडियाखानामा जिम्मा दिने विषयमा विहान गाउँलेहरुविच चर्चा चाहिँ भएको थियो ।

इलाका प्रहरी कार्यालय धुलावारी र काँकरभिट्टाले सो दिन हरिण समातिएको कसैले खबर नगरेको जनाएका छन् ।

‘हामीलाई हरिण समातिएको भन्ने कतैबाट खबर आएन’–धुलावारी इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक खगेन्द्र रिजालले लोकतन्त्र पोस्टसँग भने ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक अमतलाल माझीले पनि हरिण समातिएको खबर नआएको प्रस्ट पारेका छन् ।

कसैले हरिण बिक्री गरेको वा काटेर खाएको भन्ने पनि पत्तो लाग्न सकेको छैन ।

मेचीनगर–९ कै नाम बताउन नचाहने एक गाउँलेले त्यो हरिणको दाम १८ हजार सुनेको बताए । तर उनले पनि हरिण कसले किन्यो वा कसले काटेर खायो भन्ने बताउन सकेनन् ।

चैत १९ गते यता स्थानीय कुनै चिडियाखानामा हरिणलाई संरक्षणका लागि लगिएको पाइएको छैन ।

जामुनखाडी सामुदायिक बनका एक पदाधिकारीले चैत १९ गतेयता कतैबाट कुनै हरिण संरक्षणका लागि नल्याइएको लोकतन्त्र पोस्टलाई जानकारी दिए ।

जिल्ला सामुदायिक बन महासङ्घ झापाका अध्यक्ष बेदप्रसाद भण्डारीले हरिणलाई नेपालको कानूनले संरक्षित बन्यजन्तुको सूचीमा राखेको जनाउँदै त्यसलाई बेच्न र काट्न नपाइने बताएका छन् ।

कानूनले नै बन्देज लगाएको हरिणको शिकार कसैले गरेको प्रमाणित भएमा सामुदायिक बनहरुले आफ्ना सदस्यलाई निलम्बन र १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने भण्डारी बताउँछन् ।

हालै भारतीय चर्चित अभिनेता सलमान खान राजस्थानमा २० वर्ष अघि एउटा हरिणको शिकार गरेको अभियोगमा केही दिन अघि जेल परेको घटना ताजै छ । उनलाई जोधपुर अदालतले ६ बर्ष जेल सजाय तोकेको छ ।

नेपालमा हरिण मारेको अभियोगमा भारतको भन्दा कडा कानून छ । त्यस्तो अभियोग प्रमाणित भएमा राष्ट्रि«य निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार अदालतले १० वर्षसम्म जेल सजाय गर्न सक्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: