कति समावेशी छन् गठबन्धन

  प्रकाशित मिति
३० कार्तिक २०७४, बिहीबार १३:०५


स्थानीय तहको निर्वाचनमा करिब सात सय महिला उपप्रमुख र उपाध्यक्ष निर्वाचित भएका छन् । प्रत्येक वडामा(एक दलित सहित ) दुई जना महिला अनिवार्य निर्वाचित गर्नुपर्ने स्थानीय तह निर्वचन ऐन २०७४ले व्यवस्था गरेपछि, बाध्य भएर राजनीतिक दलले महिला उम्मेदवार बनाएका थिए । यस व्यवस्थाले देशभरका लाखौँ महिलाले राजनीतिमा भाग लिने अवसर पाए । सात सय ५३ स्थानीय तहमा ३५ हजार ४१ जनप्रतिनिधि मध्ये १४ हजार ३ सय ५३ जना महिला निर्वाचित भएका छन् । स्थानीय तहमा ४०.९६ प्रतिशत महिलाको उपस्थिति हुन आउँछ । यो नेपालको लागि श्रेयको विषय हो ।

स्थानीय तहको निर्वाचन सम्पन्न गरेपछि हौसिएको राजनीतिक दलहरु प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनका निम्ति तयारी गर्दैछन् । मंसिर १० र २१ गते दुई चरणमा हुने निर्वाचनमा सबै राजनीतिक दलले आफ्ना उम्मेद्वार तयार गरी, मनोनयन समेत गरिसकेका छन् । तर उम्मेद्वारको नाम हेर्दा राजतन्त्रकै झल्को आउँछ । जसरी राजतन्त्रको समयमा नाम मात्रको समावेशी शैली अपनाएको थियो त्यही शैलीको पदचाप पछ्याउने काम त भएको छैन ?

नेपाली राजनीतिमा क्रान्तिको उद्गम थलोको रुपमा चिनिने जिल्ला झापाको पनि हविगत उस्तै छ । शिक्षित जिल्लाका रुपमा चिनिने झापा जिल्लामा राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभाको निम्ति उत्साहजनक रुपमा मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्यालय झापाले दिएको जानकारी अनुसार प्रत्यक्ष निर्वाचनका लागि प्रतिनिधिसभातर्फ ५९ र प्रदेशसभातर्फ ८७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
नेपाली राजनीतिकमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कारण दुई गठबन्धन बिचमा हुने चुनावी तालमेलले महत्व राख्छ । झापामा भने वाम गठनबन्धनमा राप्रपा पनि मिसिएको छ भने, नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा छ । झापाबाट कांग्रेस र वाम गठबन्धनकै उम्मेद्वारहरु मध्येबाट निर्वाचित हुनेमा दुईमत छैन ।

प्रत्यक्षतर्फका उम्मेद्वारः
झापामा चुनावी तालमेलका निम्ति वाम गठबन्धन(राप्रपा समेत समावेश) र कांग्रेस चुनावी मैदानमा मजबुत रुपमा उत्रिएकाले तिनीहरुले उम्मेद्वारी दिँदा के कति समावेशी गरे भन्ने, मूल्याङ्कन गर्नुपर्ने आवश्यक छ । लोकतन्त्रको पहरेदार भन्न रुचाउने नेपाली कांग्रेसले झापाको प्रतिनिधिसभातर्फ पाँच निर्वाचनमा चार जना खस आर्यलाई उम्मेद्वार बनाएको छ, र एक जना जनजातिलाई उम्मेद्वार बनाएको छ । प्रदेशतर्फ दश निर्वाचन क्षेत्रमा आठ जना खस आर्य, एकजना जनजाति र एकजना मधेशीलाई उम्मेद्वार बनाएको छ । प्रतिनिधिसभामा झापा क्षेत्र न. ४ मा देउमान थेवे जनजाति उम्मेद्वार हुन । प्रदेशसभामा क्षेत्र न. ३ (क)मा भूमिप्रसाद राजवंशी जनजाति (ख)भागिरथ कुमार पोद्दार मधेशी समुदायबाट उम्मेद्वार बनाइएको छ भने, बाँकी सबै खस आर्य समुदायका छन् । प्रतिनिधसभा पाँच जना र प्रदेशसभाका दश जना सबै उम्मेद्वारहरु पुरुष छन् ।

देशमा आमूल परिर्वतन ल्याउने हुँकार मच्चाएर वाम गठबन्धन गरेका एमाले र माओवादी केन्दकातर्फबाट झापामा संयुक्त उम्मेद्वारी दिइएका छन् । प्रतिनिधिसभातर्फ झापामा प्रभावशाली दुई नेताले पनि उम्मेद्वारी दिएका छन् । झापाको निर्वाचन क्षेत्र न.५ बाट एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उम्मेद्वारी दिएका छन् र क्षेत्र न.३ बाट नेपाली कांग्रेसका सचिव कृष्ण सिटौलाले दिएका छन् । प्रतिनिधिसभाका लागि पाँच उम्मेद्वार मध्ये क्षेत्र न. ३ मा राजेन्द्र लिङ्गदेन (राप्रपा) क्षेत्र न.४ मा लालप्रसाद साँवा लिम्बु दुई जना जनजाति समुदायबाट छन् भने, क्षेत्र न. २ मा पवित्रा निरौला खरेल एक जना महिला छन् । एक महिला सहित तीन जना खस आर्य समुदायबाट छन् । प्रदेशसभाका दश जना उम्मेद्वार मध्ये, क्षेत्र न. २ (ख) मा बृख प्रधान, क्षेत्र न. ३ (ख)मा पूर्णप्रसाद राजवंशी,क्षेत्र न.४(क)मा झलकबहादुर मगर क्षेत्र न. ५(ख) मा अर्जुन राई चार जना जनजाति समुदायबाट छन् बाँकी छ जना, खस आर्य समुदायबाट छन् । प्रतिनिधिसभातर्फ एक जना महिला बाहेक बाँकी सबै उम्मेद्वारहरु पुरुष छन् ।
झापाको प्रत्यक्षर्फको सिनारी हेर्दा बाम गठबन्धन कांग्रेसका उम्मेद्वारहरु बिच प्रतिस्पर्धा हुने देखिन्छ । क्षेत्र न. १ मा सुरेन्द्र कार्की र कांग्रेसका विश्वप्रकाश शर्मा,क्षेत्र न.२ मा उद्धव थापा र पवित्रा निरौला खरेल,क्षेत्र न.३मा कृष्ण सिटौला र राजेन्द्र लिङ्गदेन, क्षेत्र न.४ मा लालाप्रसाद साँवा र देउमान थेवे, क्षेत्र न. ५ मा खगेन्द्र अधिकारी र केपी शर्मा ओली बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । जसमध्ये क्षेत्र न. ४ मा दुई मध्ये जो विजयी भए पनि, जनजाति विजयी हुने निश्चित छ र क्षेत्र न.३ बाहेकका १,२ र ५मा खस आर्यबाट विजयी हुने अनुमान लगाउन सकिन्छ । झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चार निर्वाचन क्षेत्रबाट चारजना पुरुष विजयी हुनेमा कुनै शंका छैन ।

वि.स.२०६८ को जनगणना अनुसार झापाको कुल जनसंख्या ८ लाख १२ हजार ६ सय ५० छ । महिला ४ लाख २७ हजार ५सय ५४ र पुुरुष ३ लाख ८५ हजार ९६ छन् । जातिगत आधारमा हेर्ने हो भने ब्राम्हण र क्षेत्रीको जनसंख्या २ लाख ५३ हजार ३ सय ३९ छ । ब्राहम्ण, क्षेत्रीको जनसंख्या करिब ३२ प्रतिशत छ र बाँकी जातजातिको जनसंख्या ६८ प्रतिशत छ । कांग्रेसले प्रतिनिधिसभा प्रदेशसभामा ८० प्रतिशत र बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा ६० प्रतिशत ब्राहम्ण क्षेत्रीको उम्मेद्वारी दिएका छन् । झापाका मुख्य आदिवासी राजवंशी, गनगाई, थारु, मेचे, ताजपुरिया, धिमाल, झागड, किसान र सतार मध्ये प्रदेशसभामा दुई जना राजवंशीलाई मात्र उम्मेद्वार बनाएका छन् ।

झापाका पाँच निर्वाचन क्षेत्रमा ५लाख ८५ हजार १ सय ६६ मतदाता छन् । जातिगत आधारमा यदि ३२ प्रतिशत ब्राहम्ण क्षेत्री मतदाता मान्ने हो भने,बाँकी ६८ प्रतिशत अरु जातजाति छन् । त्यसैगरी आधा महिला मतदाता छन् । यसरी हेर्दा ६८ प्रतिशत जातजातिका मतदाताले ब्राहम्ण क्षेत्रीलाई मतदान गरी विजयी गराउँन बाध्य हुन्छन् र आधा भन्दा बढी महिला मतदाताले प्रदेशका दश वटै क्षेत्र र प्रतिनिधिसभाका चारवटा क्षेत्रमा पुरुष उम्मेद्वारलाई विजयी गराउन बाध्य हुन्छन् ।

समानुपातिकतर्फका उम्मेद्वारः
दलहरुले समानुपातिकको बन्द सूचीमा अनिवार्य खस आर्य, आदिवासी, मधेशी, दलित, थारु, मुस्लिम, आपांग र पिछडिएको क्षेत्रका उम्मेद्वारको नामसहित बन्द सूची बुझाउनुपर्छ । त्यस सूचीमा पचास प्रतिशत महिलाको नाम समावेश गर्नुपर्नेछ ।

झापाबाट नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबाट गरी जम्मा पच्चीस जनाको नाम समानुपातिक सूचीमा राखेका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभाका महेन्द्रकुमारी लिम्बु जनजाति महिला र भारतेन्दुकुमार मल्लिक मधेश पुरुष हुन । प्रदेशसभाका तमर राई र गोपाल तामाङ्ग पहाडे जनजाति, चन्द्रकला भण्डारी र सीता पौडेल खस आर्य महिला, दिपेन्द्र ढकाल खस आर्य पुरुष हुन् । भिमप्रसाद राजवंशी सीमान्तकृत जनजाति, ओम सरावगी मधेशी पुरुष र सुष्मा मल्लिक मधेशी महिला हुन् ।
एमालेले प्रतिनिधिसभामा चार जना समानुपतिक सूचीमा राखेका मध्ये देव घिमिरे खस आर्य,विमला वि.क. दलित महिला, कमला थापा मगर जनजाति महिला र कमारी मेचे लोपोन्मुख जनजाति महिला हुन । प्रदेशसभाको समानुपातिक सूचीमा लोकबहादुर धिमाल र भीम खवास सीमान्कृत समूह, जसमाया गजमेर दलित महिला रोमनी भट्टराई खस आर्य समूहबाट छन् ।

माओवादी केन्द्रले समानुपातिक सूचीको प्रतिनिधिसभा र प्रदेशसभामा धर्मशिला चापागाई खस आर्य महिला,रोशन कन्दङ्गवा जानजाति पुरुष,विद्यानन्दसिंह राजवंशी सीमान्तकृत जनजाति पुरुष र बन्दना झागड अतिसिमान्तकृत जनजाति समूहबाट नाम समावेश गरेको छ । तीन दल नेपाली कांग्रेस,एमाले र माओवादी केन्द्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूचीमा समावेश गरिएका जनजाति, महिला,दलित मधेशी,सीमान्तकृत समूहका पनि अधिकांश नामहरु राजनीतिमा हालिमूहाल भएकै जातिबाटै रहेका छन् ।

सबै जसो दल देशमा समावेशी लोकतन्त्र जति पनि वकालत गरेर थाक्दैन्न । तर, समावेशी चरित्र देखाउनुपर्ने बेलामा भने यो या, त्यो, बहानामा उही सत्ताको भोग गर्न पल्केका समुदायलाई नै अघि सार्छन । दलहरुको यो चालाले राज्यसत्तामा हालीमुहाली गर्दै आएका जात,वर्ग र लिङ्गलाई मात्रै लोकतन्त्रमा कतिन्जेल जनताले मतदान गरेर विजयी गराउँनुपर्ने हो जनताले सोच्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: