कतै खाल्डो खन्दै पुर्दै, कतै डढाउँदै

  प्रकाशित मिति
२७ माघ २०७२, बुधबार ०७:१२


fohor 1
बढ्दो जनघनत्व र बजारहरूको विस्तारका कारण शहरमा फोहोरको उत्पादन बढेको छ । तर त्यसको विसर्जन गर्ने सही व्यवस्थापन हुन नसक्दा शहर बजारहरू दुर्गन्धित बनेका छन् ।

झापा । झापामा गाउँबाट नगर बन्ने व्रmम बढेसँगै फोहोरमैलाको व्यवस्थापन मुख्य चुनौती बन्दै गएको छ ।  केही वर्ष अघिसम्म भद्रपुर, दमक र मेचीनगर गरी ३ वटा मात्र नगरपालिका रहेकोमा हाल विर्तामोड, शनिअर्जुन, शिवसताक्षी, कनकाई र गौरादह थपिएर नगरपालिकाको सङ्ख्या ८ पुगेको छ ।

बढ्दो जनघनत्व र बजारहरूको विस्तारका कारण शहरमा फोहोरको उत्पादन बढेको छ । तर त्यसको विसर्जन गर्ने सही व्यवस्थापन हुन नसक्दा शहर बजारहरू दुर्गन्धित बनेका छन् ।

झापामा फोहोरमैला फ्याक्ने ठाउँ अभावका कारण व्यवस्थापनमा समस्या देखिएको भन्ने सबै नगरपालिकाको उस्तै भनाई छ ।
अधिकांश नगरमा फोहोर फ्याक्नका लागि व्यवस्थित ल्याण्डफिल्ड साइटको उपयुक्त स्थान छैन । जहाँ ल्याण्डफिल्ड साइटका लागि जग्गा खोजिएका छन्, त्यहाँ पनि स्थानीयको विरोधनले सञ्चालनमा आउन सकेको छैन ।

झापाको आठ नगरपालिकाबाट दैनिक ४५ टनभन्दा बढी फोहोर निस्कने गर्छ । तर, डम्पिङ साइट अभावमा यी नगरपालिकाबाट उत्पादित फोहोर कतै खाल्डो खनेर पुर्ने त कतै खोला किनारमा लगेर विसर्जन गर्ने गरिएको छ ।

सबैभन्दा पुरानो भद्रपुर नगरपालिकाले ल्याण्डफिल्ड साइटको अभावमा भारतीय सीमा नजिक मेची नदीको किनारमा फोहोर फाल्ने गरेको जनाएको छ । भद्रपुरबाट निस्कने फोहोर व्यवस्थापनका लागि चन्द्रगढी विमानस्थल नजिक रहेको हडिया खोला छेउमा साढे ६ विघा जग्गा नगरपालिकाले खरिद गरेको थियो । तर, स्थानीयबासीको विरोधका कारण सो स्थानमा ल्याण्डफिल्ड साइट बन्न नसकेको नगरपालिकाका अधिकृत सन्तोष घिमिरेले बताए ।

जसका कारण नगरपालिका मेची नदीको किनारमा फोहोर फाल्न बाध्य भएको उनको भनाई छ । हाल भद्रपुर नगरपालिका १, २ र ५ नम्बरको खोला किनारमा फोहोर विर्सजन भइरहेको उनको भनाई छ ।

विमानस्थल नजिक फोहोर फ्याक्दा चील र गिद्ध झुम्मिएर हवाई उडानमा व्यवधान खडा गर्ने भयले समेत त्यहाँ ल्याण्डफिल्ड साइट उपयुक्त नहुने वातावरणविद्हरूको भनाई रहेको छ ।

btm 1 (2)

उनले भविष्यमा सुरक्षित तवरले फोहोर व्यवस्थापनका लागि चन्द्रगढ सामुदायिक वनको खाली जग्गामा ल्याण्ड फिल्ड साइट बनाउने पहल भइरहेको जानकारी दिए ।
मेचीनगर नगरपालिकाको पनि स्थायी फोहोर फ्याँक्ने ठाउँ अभावमा वडा नम्बर ११ मा रहेको खाली जग्गामा खाल्डो खनेर फोहोर गाड्ने गरिएको छ । यहाँ दैनिक ५ टन फोहोर सङ्कलन हुने गरेको नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की बताउँछन् ।

मेचीनगर क्षेत्रको फोहोर व्यवस्थापनमा मेची उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरिदै आएको कार्कीले बताए । नगरमा फोहोर व्यवस्थापनका लागि मेचीनगर नगरपालिकाले वार्षिक ४० लाख रुपैयाँ खर्च गर्दै आएको छ ।

मेचीनगर क्षेत्रको काँकरभिट्टा, इँटाभट्टा र धुलाबारी क्षेत्रको फोहर सङ्कलन गरी निन्दा र मेची खोलामा समेत विसर्जन गर्ने गरिएको छ ।
नगरपालिकाले वडा नं. २ मा फोहर फ्याँक्नका लागि ६ विघा १८ कठ्ठा १० घुर जग्गा एक दशक अघि खरिद गरेको थियो । तर, स्थानीयवासीको विरोधका कारण ल्याण्डफिल्ड साइट फुटवल खेल्ने मैदान र गौचरनमा परिणत भएको छ ।

नगरपालिकाले काँकडभिट्टा उच्च माध्यमिक विद्यालको वडा नं. ११ मा रहेको २ विघा जग्गा लिजमा लिएर फोहोर व्यवस्थापन गर्ने नयाँ योजना अघि सारेको जनाएको छ ।

त्यसैगरी, जनघनत्व बढी भएको विर्तामोड नगरपालिकामा फोहोर व्यवस्थापन विकराल बन्दै गएको छ । दैनिक १५ टन भन्दा बढी उत्पादन हुने फोहोर नगरपालिकाले फ्याक्ने ठाउँ नपाएपछि खाली जग्गा खोजी खोजी खाल्डो खनेरै पुर्दै आएको जनाएको छ ।

नगरपालिकाका प्रशासन फाँट प्रमुख मेघराज वाँस्तोलाले ल्याण्डफिल्ड साइट नहुँदा व्यक्ति र जग्गा प्लटिङ गर्नेहरूको जग्गा मागेर फोहोर गाड्दै आएको बताए । उनले शनिअर्जुन र कनकाई नगरपालिकासँग मिलेर शनिअर्जुन र कनकाई नगरपालिका बीचमा पर्ने १२ विघा जग्गा खरिद गर्न समिति गठन गरिसकेको बताए ।

फोहोर व्यवस्थापन गर्ने झापाका नगरपालिकाले छुट्टाछुट्टै लक्ष्य लिए पनि कहिलेसम्म पूरा हुने निश्चित छैन । योजना पूरा हुने निश्चित नभएको अवस्थामा फोहोर व्यवस्थापनका लागि दीर्घकालीन साझा योजना नबनाए भयावह स्थिति सृजना हुने देखिन्छ ।

दीर्घकालीन एकीकृत योजनाका साथ ठोस काम नगर्ने र भएका ल्याण्डफिल्ड साइट अलपत्र परिरहँदा झापाका नयाँ तथा पुराना नगरपालिकामा फोहोर व्यवस्थापनको समस्या बिकराल बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: