झापा, ५ कात्तिक । शिवसताक्षी–७ स्थित लालपानी–चन्द्रडाँगी जोड्ने कनकाई नदीमा ६ करोड २५ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुलको निर्माण हुने भएको छ ।
सङ्घीय सरकारको बजेटबाट पुल निर्माण हुने भएको हो । प्रदेश सांसद् हिरा थापा र शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन् ।
२०७८ असारसम्ममा निर्माण सम्पन्न गर्ने गरी पशुपति हरिहर जेभीले पुलको ठेक्का लिएको छ ।
पुलको लम्बाई ६४४ मिटर रहेको ठेकेदार कम्पनीका प्रतिनिधि राजेश राउतले बताए ।
पुल बन्ने खबरले स्थानीय खुशी भएका छन् । लालपानी र चन्द्रडाँगी जोड्ने पुल नहुँदा बर्खाको समयमा शिवसताक्षी ७ का बासिन्दालाई सुरुङ्गा, दुधे हँुदै तीनवटा यातायातका साधन बदलेर २२ किलोमिटर यात्रा तय गरी नगरपालिका कार्यालय पुग्नु पर्ने बाध्यता अब हट्ने वडा अध्यक्ष नविन इजम बताउँछन् ।