मेचीनगर, १८ असोज । महात्मा गान्धीको १५१ औं दिवसको अवसरमा भारतीय राजदुतावास काठमाडौंले झापाको कनकाई नगरपालिकासहित विभिन्न सरकारी तथा गैरसकारी संघसंस्थाहरुलाई एम्बुलेन्स र गाडी उपचार स्वरुप प्रदान गरेको छ ।
सो एम्बुलेन्स आधुनिक र सुविधा सम्पन्न रहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए । उनले एम्बुलेन्समा इसिजी तथा अक्सिजन मोनिटर, अटोमेड एक्सटर्नल डिफिव्रिलेटर, ट्राभलिङ भेन्टिलेटर, रक्तपाच जाँच उपकरण, स्टेथोस्कोप, ह्वील चियर, स्ट्रेचर र रेडियो संचार यन्त्र तथा फोर जी मोवायल डिभाइस जडान गरिएको बताए।
उनले नगरपालिककाको यो पहिलो एम्बुलेन्स भएको बताए । उनका अनुसार यस अघि कोभिड १९ का संक्रमितहरुलाई हस्पिटलसम्म पुर्याउन नगरले नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स भाडामा लिएको थियो ।
नगरमा विभिन्न संघसंस्थाबाट यस अघि छ देखि सात वटा एम्बुलेन्स सञ्चालनमा रहेको उनले बताए । कार्यक्रममा सरकारी तथा गैरसरकारी गैरनाफामूलक संघसंस्थालाई ४१ वटा एम्बुलेन्स र दुर्गम जिल्लाका छ वटा स्कूललाई बस उपहार स्वरुप प्रदान गरिएको थियो ।