कनकाई र बीएन्डसीले रेफर गरेका बालकको उपचार अभावमा मृत्यु

  प्रकाशित मिति
२७ श्रावण २०७७, मंगलवार १९:४२


मेचीनगर, २७ साउन । कोरोना त्रासले रेफर गरिएका मेचीनगरका एक बालकको हस्पिटल डुलाउँदा डुलाउँदै मङ्गलबार मृत्यु भएको छ ।

मेचीनगर–५ का पासाङ तामाङका ११ वर्षीय छोरा सागर तामाङको मृत्यु भएको हो ।

आइतबार ज्वरो आएपछि सागरलाई उपचारका लागि सबैभन्दा पहिला कनकाई हस्प्टिल बिर्तामोड लगिएको थियो । स्थानीय दिनेश तामाङका अनुसार कनकाईले सामान्य उपचार गरेर घर पठाएको थियो ।

सोमबार ज्वरो बढेकोले उनलाई उपचारका लागि राति १ वजे नै फेरि कनकाई हस्पिटल पुर्याइएको थियो । कनकाईले बालकलाई वीएन्डसी हस्प्टिल लैजान सिफारिस (रेफर) गरेको थियो ।

त्यसपछि बालकलाई बीएन्डसी हस्पिटल लगिएको थियो । बीएन्डसी हस्पिटलले इमर्जेन्सीमा भर्ना गरेर उनको उपचार सुरु गरेको थियो । सोही क्रममा छातीको एक्स–रे गरेपछि निमोनिया भएको ठहर गर्दै कोरोना संक्रमण हुनसक्ने समेत आशङ्का गर्दै विरामीको पीसीआर गर्न र धरान वा विराटनगर लैजान सिफारिस (रेफर) गरेको थियो ।

बीएन्डसी हस्पिटलले समेत रेफर गरेपछि विरामीका आफन्त अप्ठेरोमा परेका थिए । त्यसपछि बालकको उपचार अभावमै विहान ४ बजेतिर मृत्यु भएको थियो ।

फुटबल खेल्दा खुट्टाको कुर्कुचामा ठोकिएर सामान्य घाइते सागरलाई त्यसपछि ज्वरो आउन थालेको थियो । ज्वरो आएर सास फेर्न अप्ठेरो भएकोले टाइफाइड हुन सक्ने जानकारी गराउँदै विरामीका आफन्तले कनकाई र बीएन्डसी हस्पिटलमा उपचार गरिदिन निकै आग्रह गरेका थिए । तर त्यहाँका स्वास्थ्यकर्मीहरुले उपचार गर्न नमानेको पीडित पक्षको गुनासो छ ।

मेचीनगर–५ का वडाध्यक्ष योगेन थापा मगरले हस्पिटलहरुले उपचार नगरेकै कारण सागरको मृत्यु भएको दावी गरे ।

‘कोरोना महामारीको समय छ भन्दैमा अन्य विरामीको उपचारै नगरी वेवास्ता गर्नु ठिक भएन,’ वडाध्यक्ष थापाले प्रश्न गर्दै भने–‘उपचार नै नगर्ने हो भने हस्पिटल हुनु र नहुनुको के अर्थ रह्यो ?’

उपचार अभावमा मृत्यु भएका बालकको मङ्गलवार दिउँसो स्थानीय नदिमा अन्त्येष्टि गरिएको छ ।

बीएन्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बालकको उपचार नगरिएको भन्ने आरोप अस्वीकार गरेका छन् ।

ज्वरो आएको र सास फेर्न गाह्रो भइरहेको अवस्थामा बालकलाई उपचारका लागि बीएन्डसीमा ल्याइएको र एक्स–रे गरेरै निमोनिया भएको थाहा भएपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको कारण पीसीआर परीक्षण गराउन र कोभिडको उपचार समेत हुने हस्पिटलमा लैजान रेफर गरिएको गिरीले दावी गरे ।

उनले कोभिडको उपचार र पीसीआर परीक्षण बीएन्डसी हस्पिटलमा नहुने बताए ।

यता कोभिड नलागेको अवस्थामा समेत विरामीले स्थानीय हस्पिटलमा उपचार नपाएको भन्दै मेचीनगरबासी आक्रोशित भएका छन् ।

ज्वरो आउँदैमा हस्पिटलहरुले उपचार नगरी रेफर गर्ने अवस्था आउनु चिन्ताजनक भएको सामुदायिक प्रहरी सेवा केन्द्र धुलावारीका अध्यक्ष प्रह्लादमणि ओली बताउँछन् । ‘जनताले उपचार पाउने ग्यारेन्टी हुनुपर्छ’–ओली भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: