कन्यामका काल्दाइ

  प्रकाशित मिति
२९ जेष्ठ २०७३, शनिबार १७:१३


gnघर, आँगन र गोठ उस्तै जस्ता मात्र लाग्थे, परेवाका गुडँ पनि त्यस्तै नै जस्तो थियो, आँगनको सिरानको आरुको बोट पनि जहाँको त्यही नै थियो । झापाको उखुम गर्मीलाई छिचोल्दै पुगेको मेरो तातो शरीर कन्याम पुग्दा नपुग्दै शान्त सरोवरमा तैरिएझैँ भएथ्यो । तर जब म ‘काल्दाइ’का आँगनमा पुगेर ठिङ्ग उभिन पुगेँ, मेरो मन अनायसै ज्वारभाटामा मिसिएझैँ भयो । काल्दाइका घरमा म १५ वर्षपछि दोस्रो पटक पुगेको थिएँ ।

सबै भौतिक वस्तुहरू जहाँको त्यही भए पनि परिवेश भने विल्कुलै फरक थियो । भाउजुको उजाडिएको सिउँदो, उदास अनुहार अनि अभावै अभावबीच हुर्किएको उनको अभावको स्वरुपलाई जताततै विरक्ति नै विरक्तिको बादलले घेरेको पाएँ ।

मैले ठट्यौली गर्दै बोलाउने साइनो काल्दाइ अर्थात कमरेड भीमको घरको कुराचित्र हो यो । बेस्याहारको घर, भत्केर धाँजैधाँजा परेको आँगन, पशुविहिन गोठ, छानो बिनाको परेवाको गुँड अनि आँगन सिरानको सुकेको आरुको बोट विछोड, बेदना र सहाराविहिन एउटा मनुख्खे ।

काठमाडौँबाट प्रकाशित अग्निपथ साप्ताहिक म्यागेजिनको रिपोर्टिङका क्रममा ताप्लेजुङबाट फर्कदाँ कन्याम आएपछि हामी चढेको गाडी विग्रियो । झमक्क साँझ परेको थियो, २ घण्टा वितेपछि पनि गाडी बन्ने सुरसार थिएन, म सोचमग्न भए अब के गर्ने ? एउटै विकल्प थियो, नजिकै कुनै घरमा गएर बास माग्ने ।

धिपधिप बत्ती बलिरहेको नजिकैको घरमा गएँ । भित्र मान्छे भएको बुझेपछि बाहिरबाट बोलाएँ, भित्रबाट एउटा मान्छे बाहिर निस्कियो, मैले आफ्नो परिचय र समस्या बताएँ । उसले मलाई स्वीकृतिको मुण्टो हल्लाउँदै भन्यो– ठिक छ तपाई चिन्ता नगर्नुहोस् यो कन्याम हो, हामी अतिथिको मन दुखाउँदैनौँ । भित्र पसेर उसले आफ्नो झोला टिप्दै भन्यो– जाउँ मित्र । त्यो अपरिचितलाई दायाँबायाँ नसोधी म उसकै पछि लागेँ, उसले दश मिनेटको ओरालो र तेर्साे कुदाएपछि एउटा घरमा पु¥यायो, जहाँ रहेछन् भाउजु, छोरी चन्द्रा र छोरो विवेक ।

गोठमा गाईवस्तुको चहलपहल र परेवाको माधुर्य स्वर भित्रैबाट सुन्न सकिन्थ्यो । रौसे परिवार रहेछ, धेरैपछि आएको आफन्त झैँ गरे । गफैगफमा थाहा भयो कमरेड भीम छोरामा काइला रहेछन् । मैले पनि दोस्रो चोटीमै उनलाई बोलाउँदा काल्दाइ नै भने । भाउजु निक्कै हाँसेकी थिइन् । पछि थाहा भयो, भाउजुले पनि उनलाई बोलाउँदा काल्दाइ नै भन्ने गरेको रहेछ । त्यसपछि त सबै हाँसियो ।

खानपिनपछि काल्दाइ र मेरोबीच गफ पनि सुरु भयो, राजनीतिको प्रसङ्ग उनी आफैले उठाए । मैले आफु जनपक्ष्ीाय विचारको पत्रकार भएको बताएपछि उनले पनि परिवर्तन र मुक्तिका लागि क्रान्तिकारी पार्टीमा समाहित भएको बताए । काल्दाइसँग फगत परिवर्तन र मुक्तिको सपना थियो । उनी क्रान्तिकारी पार्टीमा प्रवेश गरेको सातवर्ष भएको रहेछ । उनका र मेरोबीच लामै राजनीतिक गन्थन भयो, म निक्कै थाकेको थिएँ, निदाउन खोज्दा पनि धर पाएको थिइन, कतिखेर निदाँए, आफैलाई थाहा भएन ।

उनी मलाई युद्धमा लागेर परिवर्तनको पक्षमा लड्न उकास्थे, जसरी उनलाई अरुले उकासेका थिए । म उनलाई मान्छे मार्नु मात्रै परिवर्तन होइन भन्ने जिकिर गर्थे, जे मैले बुझेको थिएँ र अहिले पनि ठीक यही हो भन्ने लाग्छ । भोलि बिहान बाँकी कुरा गर्ने भन्ने त्यो रात हाम्रो सम्झौता भएको थियो । उज्यालो नआउँदै भाउजुको धान्धान्धुन्धुन सुरु भएको थियो, काल्दाइ पनि उठिसकेको रहेछन्, म पनि बिहानै बाटो तताउने सुरमा उठेँ ।
श्रीअन्तुको सूर्याेदयले कन्यामलाई स्पर्श ग¥यो, आँगनमा परेवाको सानो सम्मेलन सुरु भयो । दुई वर्ष जेठा कान्छा चन्द्रा र विवेक एक÷एकवटा ट्यामामा दूध बोकेर किताबका झोलासँगै उकालो लागे, सायद उनीहरू ट्यूसन समेत पढ्दा रहेछन् । नित्य कर्म पछि मैले पनि आङ तान्दै आफ्नो झोला समाएँ, तर भाउजुको ढिपीले खाना नखाई उम्कने स्थिति नै भएन । त्यही समयमा पनि काल्दाइले फेरि क्रान्तिकारी कैरन सुरु गरे ।

उनको जीवन पनि उनले भनेजस्तै सङ्घर्षपूर्ण आरोह र अवरोहबाट उतारचढाव भएको रहेछ । जीवनको अधिकांश कथा काल्दाइको अभाव र सङ्घर्षमै व्यतित भएको पाएँ । त्यसैले पनि हुनुपर्छ उनका हरेक शब्दहरूमा सङ्घर्ष र मुक्तिको मसाल बलेको हुन्थ्यो । युवा अवस्थामै विद्रोहको चेतले भरिएका काल्दाइ आफु क्रान्तिको यात्रामा निस्किएकोमा गर्व गर्थे । छेउमा उभिएकी भाउजु उनका ओझिला कुरामा मौन समर्थन जनाएझैँ गर्थिन् । उनी पार्टीका जिल्ला स्तरका कार्यकर्ता रहेछन्, मसँग भेट भएको अघिल्लो साँझ उनी पश्चिम इलामको एउटा मिटिङ सकेर फर्किएका रहेछन् । दुई महिनापछि मसँगै हिजैमात्र उनी घर आएका रहेछन् ।

कुरै कुरामा उनले भने–पहिला त तपाईलाई सुराकी जस्तो लाग्यो, तर तपाईको हाउभाउ र कुरालाई नियालेपछि पत्रकार झैँ लाग्यो र म पनि ढुक्क भएँ, कतै बाटामा दुश्मनसँग जम्काभेटमा मरेको भए खबर त छाप्नुहुन्थ्यो होला नि ? मैले भने–अँ काल्दाइ मलाई चाहिँ तपाईसँग भेट्दा तपाईले भनेको दुश्मनले स्वागतम् गथ्र्याे होला नि होइन ? भाउजु खित्का छाडेर हासिन् । काल्दाइ र मेराबीच खाना पाकुन्जेल राजनीतिकै बारेमा चर्चा चल्यो, उनी मलाई हतियारबद्ध युद्ध मोर्चामा उभिन पटक–पटक आह्वान गर्थे, म उनलाई विचारको युद्धमा लाग्न प्रेरित गर्थे । उनी मलाई ध्वंश विना निर्माण हुँदैन भन्ने तर्क दिन्थे, म उनलाई ध्वंश र निर्माण कसलाई र किन भनेर प्रश्न गर्थे । अन्ततः रमाइलोमै हामीले एक अर्कालाई हार्दिकतापूर्वक एक–एक वटा तक्मा भिरायौँ, उनले मलाई जनपक्षीय विचारको पेटिबुर्जुवा पत्रकारको तक्मा दिए, मैले उनलाई क्रान्तिकारी विचारले ओतप्रोत भएको उग्र बामपन्थ जडसूत्रवादको तक्मा दिएँ । खाना खाइसकेपछि काल्दाइ, भाउजु, चन्द्रा र विवेकसँग विदा मागेर फेरि आउने शर्तमा बाटो लागेँ ।

युद्ध रोकियो, शान्तिवार्ता भयो, रोइरहेको देशका आँशु थामिए । काल्दाइको परिवारसँग भेट्ने मेरो तीव्र ईच्छा विविध कारणले रोकिएको थियो, होचा कदका चञ्चले स्वभावका फरासिला काल्दाइ, नहाँसी नबोल्ने भाउजु अनि प्यारा चन्द्रा र विवेकलाई म सँधै मन र आँखामा सम्झिरहन्थे । तर भेट हुन सकेको थिएन ।

तातो अगेनो, परेवा, गोठ, आरुको बोट मेरो सम्झनाको तरेलीमा आलै थिए । तर मेरो धोको अधुरो नै थियो । तर जब कन्यामका काल्दाइका आँगनमा लामो समयपछि उभिएँ, मलाई भाउजुले चिनिनन्, मैले पनि झण्डै उनलाई चिनिन । आफ्नो पुरानो भेटघाटको कुरा गरेपछि उनी बोलिनन् मात्र मलाई एकोहोरो हेरेर घोप्टो परेर रुन थालिन् । म आफै पनि अलिक बढी भावनामा बगेछु, उनी भित्र र बाहिरबाटै रोइन् म भित्रभित्रै रोएँ ।

एउटा घर भन्नुजस्तो मात्र घर अनि उनै भाउजु आफुलाई सम्हादै पछिल्लो घटना सुनाइन्–तेह्रथुमको भीडन्तमा काल्दाइले सहादत पाए रे । कक्षा १० पढ्दै गरेकी चन्द्राले पढाई छाड्नु प¥यो रे, उसको त विहे पनि भइसकेछ । घरको कन्तविजोग हेर्न नसकेर मलेसिया गएको विवेकले एक पटक फोन गरेपछि अहिलेसम्म बोलीसम्म सुन्न पाएको छैन रे ।

हिजैजस्तो लाग्थ्यो खुशीले छताछुल्ल भएको त्यो घर परिश्रम र मेहनतमा चम्केको त्यो घरका मान्छेहरूको अनुहार अनि अहिलेको टिठ लाग्दो सिङ्गो कथा । भाउजुका वेदनाका चित्कार सुन्दा सुन्दै म आफै भक्कानिएछु । राहतका नाममा किस्ता किस्ता गरेर सरकारले २० हजार दियो रे, अनि कमरेड भीम महान सहिद बन्नुभयो । उहाँको नाम इतिहासका पानामा रक्तिम अक्षरले लेखिएको छ भन्ने महान बोली मात्रै आफ्नो महान भनिएको पार्टीका तर्फबाट पाइयो रे, भाउजुले भक्कानिदै सुनाइन् । कन्यामका काल्दाइ अर्थात कमरेड भीम युद्धकालीन समाजको तात्कालिन परिवेशका एउटा काल्पनिक पात्र नै मान्न सकिएला । तर के यो वर्तमानको सामाजिक यथार्थको प्रतिनिधि पात्र बन्न सक्दैन ?

सगरमाथा जस्तो गह्रौ मृत्यु रोज्ने वा चराको प्वाँखजस्तो हलुका मृत्यु रोज्ने ? सामन्ती सत्ताको आजीवन दास बन्ने वा जनसत्ताको स्वतन्त्र आकाशमा उड्ने ? मालिकको सँधै नोकर बनेर आफ्ना दरसन्तान मानव दासको रुपमा दृष्टिबन्धक राख्ने या आफ्नो भाग्य र भविष्य आफैले कोर्ने जनताको राज रोज्ने ? यस्तै अरु धेरै सपनाको यात्रामा कमरेड भीमहरू लामवद्ध बनेका थिए । र, आज उनीहरू धेरैका घर कन्यामका काल्दाइकै जस्ता बनेका छन् । यो सत्य धेरैलाई अपच हुन सक्छ, उनीहरूले भन्छन्–यो बेकारको कुरा ।

आजको परिवेश हिजोको जस्तो छैन, हिजो सङ्कट र कष्ट थियो, आज सरल र सहज छ । भीमहरूका धेरै घरहरू आज मौन रोदन र पीडामा छटपटिएका छन्, चिच्याइरहेका छन्, सहारावीहिन बनिरहेका छन् । विडम्वना हो यो, यहाँ मुक्ति, बलिदान र स्वतन्त्रताको नाममा उर्लिने र उराल्ने नाराहरूको अन्तिम गन्तव्य भनेकै कुर्सी हो । जब त्यो कुर्सीमा जो कोही विराजमान बन्छ उसले नारा र हिजोलाई त भुल्छ भुल्छ, आफु र आफ्ना बाहेक न कसैलाई देख्छ, न चिन्छ, न त सम्झन्छ नै । जसरी हिजोका भीमहरूको कथा सुस्तरी सेलाउँदै र विलाउँदै गइरहेको छ ।
त्यसैले यी हरफहरू जन्मन पुग्छन्–‘मलाई र हामीलाई होइन जलजलालाई सोध, तिमीले त्यो दिन खाएको सपथ चन्द्रागिरीलाई सोध, तिमी त आकाश पाताल भएझैँ बद्लिएछौ, अहिले देखिरहेछु तिमी लालबाट पुरै नचिनिने घुरमैलो भैसकेका रहेछौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: