कपडाले छोपेको पहिचान

  प्रकाशित मिति
८ आश्विन २०७३, शनिबार ०९:५५


khagindra

पहिलोपटक काठमाडाँैमा सार्वजनिक सवारी चालकको रुपमा महिलालाई देखेकी थिएँ । कस्तो गर्व महसुुस भएको थियो पहिलोपटक महिलाले चलाएको टेम्पोमा बसेर यात्रा गर्दा । मन गर्वले फुलिरहेकै बेला पनि मनकै एक कुनामा ती महिलाहरूको व्यावहारिक पक्षको अनुमान पनि आइरहेका थिए । हाम्रो समाजका महिलाहरू घरमा गृहिणी भएर रहेकै बेलामा होस् या त मेला पात र अफिस अनि समाजका काम गर्ने आर्थिक र बौद्धिक पक्षमा तल्लो तहदेखि धेरै माथिल्लो तहका महिलाहरूले आजसम्म पनि कुनै न कुनै रुपमा पुरुष प्रधान समाजको खप्की खाइरहनु परेको देखिरहेका आँखा र बुझिरहेको मनले ती ड्राइभर महिलाहरूको व्यावहारिक र घर गृहस्थीको पक्षको अनुमान लगाउनु त्यति कठिन कार्य होइन ।

त्यसो भन्दैमा सबै महिलाहरु पीडित नै छन् भन्ने पनि होइन । श्रीमतीले घर बाहिरको, अफिसको काम गरेर, जागिर खाएर श्रीमान घर भित्रको काममा व्यस्त रहेर पनि राम्रोसँग घर व्यवहार चलाएका उदाहरण पनि प्रसस्तै छन् । जे भए पनि आजसम्म पनि हाम्रो समाज पुरुष प्रधान नै रहेको छ र त्यो समाजका महिलाले सङ्घर्ष गरेर केही साहसिला काम गरेको देख्ता मन त्यसै प्रफुल्लित हुन्छ । त्यस्तै मनमा हर्ष आनन्द छरिरहेको एउटा दृष्यले चन्द्रगढीमा बिगत १ वर्षदेखि मेरो मन तानिरहेको थियो । चन्द्रगढीमा बाक्लो रुपमा देखिरहेर पनि त्यसबारे केही लेख्न सकिरहेकी थिइन । तर, आज त्यहीँ दृष्य मेरो आँखा अगाडि, मेरो निकटमा आयो, त्यसैले चुप लागेर मन भित्र त्यो विषयलाई खुम्च्याएर राखिरहन सकिन ।

विषय महिला सवारी चालककै हो । झापा चन्द्रगढीमा विगत एक वर्षदेखि सल र मास्कले अनुहार छपक्क छोपेर एक महिलाले सिटी सफारी चलाइरहेकी छिन् । उनी पछि खुल्ला अनुहारमा अरु दुई महिलाहरू पनि आए सिटी सफारी चालकको रुपमा । तर, ती खुल्ला अनुहारका महिलाहरू सिटी सफारीमा यात्रु लिएर कुदेका दृष्य आज भोलि देखिँदैन । उनी निरन्तर सिटी सफारीमा कुदिरहेकी हुन्छिन् यात्रुसहित । उनी को हुन् ? किन अनुहार लुकाएर सिटी सफारी चलाउनु परेको होला उनलाई ? के अनुहार देखाएर सिटी सफारी चलाउन मिल्दैन उनले ? यिनै जिज्ञासाहरूले उनी सामु पु¥यायो मलाई ।

उनको छेउमा पुगेर मैले–प्रश्न गरेँ, ‘तपाइँको अनुहार हेर्न मन छ’ भनेर । उनी हाँसिन् तर अनुहार खोलिनन् ।

किन लुकाउनु भएको अनुहार ?

उनले सहज रुपमा भनिन्–‘मलाई अनुहार देखाउन लाज लाग्दैन तर मेरो अनुहारमा एलर्जी आउँछ धुलोको, त्यसैले छोपेकी हुँ ।’ उनको उत्तरप्रति शङ्का गर्न मन लागेन । किनकि आजको समय सोखमा बाँच्नेहरूको पनि हो ।

झापा चन्द्रगढीको सदरमुकामदेखि नजिकै रहेको डाँगीबारीमा २ छोरासँग बसेर जीवन विताइरहेकी शिला रिमाल रहिछन् ती महिला । श्रीमान विदेशमा पैसा कमाउन गए पनि आत्मनिर्भर बन्नका लागि उनले सफारी चलाउन थालेकी रहेछिन् । श्रीमानले कमाइहाल्छ भनेर अरु धेरै महिलाहरू जस्तो मोज गरेर बस्न मन नलाग्दा उनले सहकारीबाट ऋण लिएर सिटी सफारी कुदाउन सुरु गरेकी रहिछन् । हाल उनको महिनामा २५÷२६ हजार हुन्छ, महिनामा १६ हजार उनले सफारी किनेको किस्ता बुझाउनु पर्छ अरु पैसाले उनलाई घर खर्च गर्न पुग्छ त्यसरी श्रीमानले कमाएको पैसा बचाउन सफल भएकी छन् उनी ।

‘तपाईँसँगै चन्द्रगढी क्षेत्रमा सिटी सफारी कुदाउने २,३ जना महिलाहरू थिए नि खै आजकाल ?’–मैले उनलाई प्रश्न गरेँ ।

‘उनीहरूलाई बुढोले शङ्का ग¥यो रे, कुदाउन छोडे’–उनको उत्तर थियो ।

‘तपाइँलाई चाहिँ शङ्का गर्नुहुन्न श्रीमानले ?’–फेरि मैले प्रश्न तेस्र्याए ।

‘काम गर्न पैसा कमाउन सजिलो छ र ? शङ्का गरे पनि काम त गर्नै प¥यो, यसै बसेर हुन्छ र ? समस्या त हुन्छ नि, कहिले केटाहरूले जिस्क्याउन खोज्छन्, धम्क्याउन खोज्छन्, म त सँगसँगै बाझ्छु, टेर्दिन’ –उनले भनिन् ।

समस्या त सवैका हुन्छन् तर साना समस्याहरूलाई पनि पहाड बनाएर कामबाटै हात झिक्नुभन्दा समस्यालाई सामान्यीकरण गर्दै आफ्नो पेसामा दत्तचित्त भएर लाग्ने शिलाको दृढ विश्वासलाई सलाम गर्न मन लाग्यो ।

धेरै लामो समयदेखि मलाई रहस्यमय र शङ्कास्पद लागेकी ती महिलासँगै पुगेर पनि उनको अनुहार खोल्न र हेर्न सकिन । तर उनको बारेमा यति लेख्न पाउँदा पनि मन हर्षित भएको छ । उनले आफ्नो मर्जीले अनुहार छोपेकी भए पनि बाध्यताले कुनै महिलाले अनुहार लुकाएर काममा जानु नपरोस् यही कामना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: