कमजोर विद्यार्थीलाई वरदान

  प्रकाशित मिति
३ असार २०७३, शुक्रबार २३:०१


slc
यो बर्षको एसएलसी परीक्षाको नतिजा भर्खरै सार्वजनिक भएको छ । ८३ बर्षे इतिहास बोकेको एसएलसी परीक्षामा पहिलोपटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरिएको छ । फलामे ढोकाको नाम दिएर विद्यार्थीहरूमा मनोबैज्ञानिक त्रास सिर्जना गर्ने एसएलसी परीक्षा अब फलामे ढोका रहेन ।

यो बर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक हुँदै गर्दा कुनै परीक्षार्थीलाई फेल हुने डर थिएन । र, भयो पनि त्यस्तै एसएलसीमा कोही फेल नै भएन । ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक भए पछि विद्यार्थीको प्राप्ताङ्कका आधारमा ग्रेडिङ गरी नतिजा सार्वजनिक हुँदा कुनै विद्यार्थीले फेल भएको धब्बा झेल्नु परेन ।

प्राप्ताङ्कका आधारमा ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई गरी ग्रेगिङ गरिए पछि विद्यार्थीले उच्च शिक्षामा कुन बिषय पढ्ने भन्ने पनि ग्रेड सिडले नै तय गरिदिए पछि कमजोर विद्यार्थीहरूका लागि अत्यन्तै फाइदा पुगेको छ ।

कुनै एउटा बिषयमा कमजोर भएर एसएलसी परीक्षामा उत्तीर्ण हुन नसक्दा जीवनमा नै फेल भएको महसुस गराउने हाम्रो समाजको बुझाइलाई यो बर्षदेखि खारेज गरेको छ । समाज एसएलसी परीक्षाको पछाडि यसरी लागेको थियो कि मानौं एसएलसी भनेको जीवन जिउने लाइसेन्स हो, त्यो पास नगर्दा जीवन जिउनै नपाइने जस्तो गरेर एसएलसी फेल हुनेहरूलाई बाँच्नै गारो बनाउने गरेको थियो । तर यसपालीको नतिजाले कुनै एउटा बिषयमा कमजोर भए पनि उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ला गरेको छ भने समग्रतामा नै कमजोर विद्यार्थीहरूका लागि पनि प्राविधिक शिक्षाको अध्ययनलाई भने खुल्लै राखेको छ ।

यो प्रणालीको नतिजाले यदि कसैलाई फाइदा गरेको छ भने त्यो कमजोर विद्यार्थीलाई नै गरेको छ । सरसरर्ती हेर्दा डी र ई ग्रेड प्राप्त गरेका विद्यार्थीले कक्षा ११ को आवेदन दिन नपाउने भने पनि उनीहरूका लागि प्राविधिक बिषय जस्तै सव ओभरसियर, अमिन लगायतका बिषयमा भने प्रवेश दिने ब्यवस्थाले ती कमजोर विद्यार्थीहरू शीपमूलक शिक्षा आर्जन गर्न सक्नेछन् । जसका कारण उनीहरू छोटो समयको अध्ययनले नै आय आर्जनमा लाग्न सक्छन् ।

एसएलसी फेल भएकाहरूले शीप बिहिन भएर बैदेशिक रोजगारीमा जानु पर्ने बाध्यतालाई अन्त्य गर्दै शिपमूलक बिषय पढेर स्वदेशमा नै आय आर्जनको गतिलो अवसर प्राप्त गर्न सहज हुनेछ ।

त्यस्तै एसएलसीको नतिजा सार्वजनिक हुँदै गर्दा फेल भएर बर्षेनी कयौँ विद्यार्थीले आत्महत्या गर्ने दुःखद नियति पनि अब सदाका लागि बन्द भएको छ । एसएलसी फेल भनेको अबको पुरै जीवन असक्षम हो भन्ने कुरा एउटा १५⁄१६ बर्षको कलिलो मष्तिस्कमा हालिदिँदा त्यसले पार्ने नकारात्मक असरका बारेमा हामीले सोचेकै थिएनौं । त्यसैले पनि त्यस्ता खाले कमजोर विद्यार्थीहरूलाई यो ग्रेडिङ प्रणाली बरदान साबित भएको छ । त्यति मात्र होइन एसएलसीको नतिजालाई हेरेर समग्र देशको शिक्षा प्रणालीलाई गाली गर्ने संस्कृतिको पनि अन्त्य गरेको छ नयाँ प्रणालीले ।

यति हुँदा हुँदै पनि ग्रेडिङ प्रणालीका केही जटिलता पनि देखिएका छन् । त्यसमध्ये सबै भन्दा पेचिलो बनेको बिषय भनेको मार्कसिटको ठाउँमा वितरण गरिएको ग्रेड सिट अध्ययन गर्नै गारो देखियो । गारो यस मानेमा एउटा विद्यार्थीले प्राप्त गरेको ग्रेड सिट हेरेर त्यो विद्यार्थीले उच्च शिक्षामा कुन बिषय पढ्न पाउने र नपाउने भन्ने बारेमा सहजै भन्न सकिने अवस्था छैन । किनकि बिषयगत रुपमा प्राप्त गरेको ग्रेडका आधारमा मात्रै अब उच्च शिक्षाको बिषय छनौट गर्न पाइनेछ । त्यस्तै मार्कसिट प्राप्त नहुँदा परीक्षार्थीले कति अङ्क प्राप्त गरे भनेर सहजै भन्न सकिने अवस्था पनि छैन ।

विद्यार्थीहरूका लागि एसएलसी भन्ने बित्तिकै एउटा हाउगुजीको रुपमा चित्रण गरिएको थियो अब त्यो अन्त्य भएको छ । त्यसले कलिला मानसपटलमा सकारात्मक छाप छोडेको छ । तर बर्षैपिच्छे फेरिरहने प्रणालीले एसएलसी सहित हाम्रो शिक्षा पद्धतिलाई प्रयोगशाला बनाउने तर्फ भने सरोकारवाला निकाय बेलैमा सचेत हुनै पर्छ । कोही फेल नभएका सबै एसएलसी उत्तीर्ण भाई बहिनीहरूमा प्रगतिको कामना ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: