‘कमरेड जोसना’ अब रहिनन्

  प्रकाशित मिति
९ पुष २०७३, शनिबार १९:४७


josana-1मेचीनगर । नहाँसी नबोल्ने, सबैलाई स्नेही व्यवहार गर्ने र राजनीतिक आस्थामा निष्ठापूर्वक उभिने एउटा सतिसाल जस्तो स्वाभिमानी जीवन विताइरहेकी एमाले नेतृ जोसना धिमालको शुक्रवार निधन भएको छ ।

मेचीनगर–९ नकलबन्दा घर भएकी ४२ वर्षीय जोसना मजदुर राजनीतिबाट उदाएकी एमाले नेतृ हुन् । शुक्रवार विहान ८ बजेतिर मुखबाट अत्यधिक रक्तश्राव भएपछि उपचारका लागि अस्पताल लैजान नभ्याउँदै उनको निधन भएको थियो ।

दोस्रो संविधानसभा चुनावमा नेकपा एमालेबाट समानुपातिक सदस्यको उम्मेदवार बनेकी उनी हाल सांसद रहेका रविन कोइराला सँगसँगै हरेक चुनावी सभा र कार्यक्रममा मत माग्न सक्रिय भएकी थिइन् । पार्टीले उनलाई समानुपातिक सदस्य बनाउने पक्कापक्की जस्तै भए पनि अन्ततः उनलाई सो पदमा चुनिएन ।

अविवाहित जोसना धिमाल समुदायकी चम्किली नेतृ थिइन् । नकलबन्दा चिया बगानमा मजदुरी गर्दागर्दै उनी राजनीतिमा होमिएकी थिइन् ।
नेकपा एमालेको १ नं. क्षेत्रीय कमिटीको सचिवालय सदस्य, अखिल नेपाल महिला सङ्घको झापा जिल्ला कमिटी सदस्य एवम् क्षेत्रीय इञ्चार्ज र जिफन्टको जिल्ला सदस्य रहेकी उनी धिमाल समुदायबाट पार्टीको उच्च पदमा पुगेकी नेतृ थिइन् ।

josana-2साधा जीवन विताउने र उच्च विचार बोक्ने जोसनाका आमा, भाइ र वहिनी छन् । उनको अन्त्येष्टि पार्टी सम्मानका साथ शुक्रवार मेची नदीमा गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रविन कोइराला र एमाले नेता विष्णु प्रसार्इँले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

सयौको उपस्थिति रहेको शवयात्रामा पार्टीका जिल्ला नेता, मजदुर लगायतको उपस्थिति थियो । शवयात्रामा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक, अनेमसङ्घ केन्द्रीय सचिव मेनुका पोखरेल, प्रदेश नं. १ सदस्य पवित्रा खरेल, अनेमसङ्घ जिल्ला अध्यक्ष जसमाया गजमेर लगायतको उपस्थिति रहेको थियो ।

सांसद् रविन कोइरालाले जोसना एउटी साहसिक एवम् प्रतिबद्ध राजनीतिक कार्यकर्ता भएको बताएका छन् ।
‘जोसना कमरेडसँग मेरो २०४६ सालपछि भेट भएको हो’, सांसद कोइराला जोसनाको राजनीतिक जीवन बारे भन्छन्–‘धिमाल समुदायबाट हुर्किएकी महान प्रतिभाको निधनबाट एमालेलाई ठूलो क्षति भएको छ ।’

रोग पत्तो लाग्नै पाएन

josana-3जोसना विगत ४ महिनादेखि घाँटी दुख्ने समस्याबाट पीडित थिइन् । बारम्वार घाँटी दुखेपछि उनले स्थानीय र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गराइन् ।

घाँटी दुख्ने र श्वास प्रश्वासमा असजिलो हुने समस्या बढेको थियो । यसलाई उनले सुरुमा सामान्य रुपमा लिइन् । जब निकै गाह्रो भयो, तब नेकपा एमालेले पनि जाँच र उपचारमा सघायो ।

नेकपा एमालेका क्षेत्र नं. १ का इञ्चार्ज गोपाल बुढाथोकीका अनुसार स्थानीय जाँचपछि उनलाई क्यान्सर लागेको आशङ्का गरेर स्वास्थ्य परीक्षणकै लागि चितवनस्थित क्यान्सर अस्पताल लगियो ।

तर ३ पल्टको वायोप्सी (घाँटीको मासुको टुक्राको परीक्षण)बाट उनलाई क्यान्सर नभएको रिपोर्ट आएको थियो । तथापि उनको समस्या भने ठिक भएको थिएन ।

औषधि खाएर केही ठिक भए जस्तो भएपछि जोसना घरमै बसेर स्वास्थ्य लाभ गरिरहेकी थिइन् । फेरि घाँटी दुख्न र मुखबाट रक्तश्राव हुन थालेपछि ४ दिन अघि विर्तामोडको वीएन्डसी हस्पिटलमा जोसनालाई भर्ना गरियो । इएनटी विशेषज्ञ डाक्टरले लाख जनामा एकलाई मात्र लाग्ने

क्यान्सर सङ्क्रमण भएको आशङ्का गर्दै फेरि चितवन क्यान्सर अस्पताल रेफर गरेका थिए ।
पटक पटक जाँच गर्दा समेत रोगको यकिन नभएपछि अब काठमाडौँ वा भारत लैजाने भनी पार्टी र जोसनाको परिवारविच सल्लाह भइरहेको बेला शुक्रवार विहान एक्कासी उनको निधन भएको एमाले नेता बुढाथोकी बताउँछन् ।
पछिल्लो अवस्थामा जोसना बोल्न र खान नसक्ने गरी विरामी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: