कमला पहिलो प्रत्यक्ष निर्वाचित महिला सांसद

  प्रकाशित मिति
२२ मंसिर २०७४, शुक्रबार १५:०२



झापा । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कमला रोका पूर्वी रुकुमबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो निर्वाचित महिला सांसद बनेकी छिन् ।

कान्छो जिल्लाको रुपमा परिचित पूर्वी रुकुमबाट विजयको खाता खोलेर वाम गठबन्धनका उम्मेदवार रोकाले संघीय नेपालको नयाँ यात्रा शुरु गरेकी छिन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन लड्ने थोरै महिलामध्ये रोका एक उम्मेदवारको रुपमा मैदानमा उत्रिएकी थिइन् । रोकाले प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई छ हजार २८ मत अन्तरले पराजित गरेकी थिइन् ।

निर्वाचन आयोगले प्रकाशित गरेको आधिकारिक तथ्यांक अनुसार वाम गठबन्धनका साझा उम्मेदवार रोकाले १० हजार ४३४ मत ल्याएकी छिन । सो निर्वाचन क्षेत्रका दुवै प्रदेशसभा सदस्यमा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

विसं २०४६ देखि नै राजनीतिमा लागेका रोका कक्षा १० मा अध्ययन गर्दागर्दै भूमिगत भएकी थिइन् । उनले २०५२ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको संघर्षमा पूर्णकालीन भई भूमिगत राजनीति शुरु गरेकी थिइन् ।

माओवादीका नेताहरुका अनुसार उनी माओवादीको पहिलो महिला छापामारसमेत हुन् । विसं २०३२ पुस १५ गते रुकुमको प्वाँङमा जन्मनुभएकी रोका ‘महिला कमजोर हुँदैनन्, पुरुष जतिकै सक्षम छन्’ भन्ने मान्यता स्थापित गर्न सफल हुनुभएको छ ।

उनी २०५३ सालमा माओवादी जिल्ला समितिको सदस्य थिइन् । विसं २०६१ सालमा माओवादीको केन्द्रीय सदस्यमा रुपमा निर्वाचित भएकी रोका हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यसमेत हुन् ।
रुकुमको अति दुर्गम मगर किसान परिवारमा जन्मिएकी रोका लेखिका समेत हुन् । कथा तथा निबन्धका साथै विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ समेत लेख्दै आएकी छिन् ।

अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित वृत्तचित्र ‘दी सारी सोल्जर’मा रहेका विभिन्न पात्रहरूमध्ये एक साहसी पात्रको रुपमा रोकालाई उल्लेख गरिएको छ । उक्त वृत्तचित्रमा साहसी महिलाको रुपमा नेकपा(एमाले)का नेत्री रामकुमारी झाँक्रीलाई समेत समेटिएको छ ।

उनका श्रीमान् गणेशमान पुन पूर्व आपूर्तिमन्त्री एवं वाइसिएलको पूर्वअध्यक्ष हुन् । उनले प्रशासन, निर्वाचन आयोग, सुरक्षाकर्मीसहित सबै सरोकार भएकालाई समेत धन्यवाद ज्ञापन गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: