भद्रपुर, ८ वैशाख (रासस) ः झापाका सामुदायिक बनहरुले ढलेका र सुकेका रुख निकाल्न नपाउँदा करोडौंको बनपैदावार यसवर्ष खेर गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सरकारले कोभिड १९ को सङ्क्रमण नफैलियोस् भनेर बन्दाबन्दीमा जङ्गल प्रवेशमा समेत रोक लगाएको छ । जेठ १५ गतेसम्ममा बनभित्रको ढलापडा रुखको कटान मुछान र दाउरा सङ्कलन, घाटगद्दी गरिसक्नु पर्ने वार्षिक कार्ययोजनामा उल्लेख छ । बन पस्न नै नपाइने भएपछि यसपटक कार्ययोजना बमोजिम काम गर्न सामुदायिक बनहरुले पाएका छैनन् ।
सामुदायिक बन राष्ट्रिय उपभोक्ता महासङ्घकी केन्द्रीय सदस्य सङ्गीता थापाले झापाका सामुदायिक वनहरुले वन पैदावर कटान मुछान गर्न नपाउँदा यसवर्ष ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताइन् ।
उनले भौतिक दूरी कायम गर्दै कोभिड १९ को सङ्क्रमणबाट जोगिने उपायसहित बन क्षेत्रमा वार्षिक कार्ययोजना अनुरुप कटान मुछान फुकुवा गरिदिनु पर्ने माग गरिन् । नियमसङ्गत रुपमा ढलापडा रुख सङ्कलन गर्न नदिइएका कारण बन्दाबन्दीको मौका छोपेर बनमा चोरी तस्करी फस्टाइरहेको उनले बताइन् ।
झापामा ५९ वटा सामुदायिक वन रहेको र तीमध्ये कनकाई नगरपालिकामा रहेको प्रजापति र कचनकचल गाउँपालिकाको दुर्गाबिटा सामुदायिक वनले मात्र बन्दाबन्दी सुरु हुुनु अगावै कटान मुछानको काम सम्पन्न गरेको सामुदायिक वन महासंघ झापाका जिल्ला अध्यक्ष बेदप्रकाश भण्डारीले जानकारी दिए ।
“राज्यको ठूलो सम्पति सामुदायिक वन हो”, उनले भने, “तर सरकारले समुदायमैत्री नीति नअपनाउने हो भने झापाका हरेक सामुदायिक वनले सरदर रु. २० लाखको स्रोत गुमाउने स्थिति छ ।” उनले सामुदायिक वनहरुमा उपभोक्तालाई बन्दाबन्दीको अवस्थामा बनपैदावार स्याहार्न रोक्ने हो भने तस्करको रजाई हुने बताए ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिरा पोखरेलले बन्दाबन्दीको समयमा तस्करबाट वन जङ्गल जोगाउन मुश्किल परेको बताए । “महामारी फैलिएको छ सरकारले घरबाट बाहिर ननिस्कन भन्दै बन्दाबन्दी गरेको छ,” उनले भने, “आँखा झिमिक्क गरिसक्दा तस्करले काठ उठाइहाल्छन् ।”
उनले सामुदायिक वनमा यतिबेला मान्छेको अनाधिकृत चहलपहल बढेको बताए । उनका अनुसार निगुरो टिप्ने, सिमसार क्षेत्रमा माछा मार्ने, बन्यजन्तु र काठ चोरी तस्करी गर्नेसँगै युवायुवतीको डेटिङस्थल समेत वन क्षेत्र नै भएकोमा चिन्ता व्यक्त गरे ।
डिभिजन बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जिल्ला प्रशासनसँग समन्वय गरेर ढलापडा रुखको कटानमुछान कार्य गर्ने बारेमा छलफल चलाउन सकिने बताए । बन्दाबन्दीको अवस्थामा मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने आदि पालना गर्दै बन संरक्षणको कार्य गर्नका लागि पहल गरिने उनले बताए ।
तर वार्षिक कार्ययोजना अनुसार कात्तिकमा खुला भएको रुख कटानमुछानको काममा सामुदायिक बनहरु आफैले ढिलाई गरेको उनले बताए । उनले झापाका आधाभन्दा बढी सामुदायिक बन समितिहरुले वार्षिक कार्ययोजना बमोजिम डिभिजन बन कार्यालयबाट सङ्कलन अनुमति लिन नआएको समेत जानकारी दिए ।