झापा, ११ कात्तिक । अदालतले दुई महिना कैद एक करोड १५ लाख रुपैयाँ जरिवाना ठहर गरेका झापाका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैङ्किङ कसुरसम्बन्धी अभियोगमा गत वर्षको पुस महिनामा उच्च अदालत विराटनगरको इलाम इजलासले कनकाई नगरपालिका वडा नं. ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईलाई उक्त कैद र जरिवानाको फैसला गरेको थियो ।
तर अभियुक्त प्रसाई हालसम्म फरार थिए । झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई आफ्नै गाउँबाट पक्राउ गरेको थापाले जानकारी दिए ।
दसैं विदाका कारण अदालत बन्द रहेको हुँदा प्रसाईलाई विदापश्चात मात्र अदालतसमक्ष उपस्थित गराइने थापाले जानकारी दिएका छन् ।
जेल जानु पर्ला भनेर लुकीलुकी भाग्दै आएका अभियुक्त प्रसाई दसैंमा आएका बेला घरबाटै पक्राउ परेका हुन् ।