बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको १९ औँ साधारण सभा बिर्तामोडमा सम्पन्न भएको छ ।
प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले सञ्चालक समितिको तर्फबाट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा संस्थाले गत आर्थिक बर्षमा १ अर्ब ८५ करोड ५७ लाख ३९ हजार २९५ रुपैयाँको वासलात बनाएको उल्लेख छ । २९ हजार १९३ जना शेयर सदस्य रहेको संस्थामा हालको शेयर पूँजी २२ करोड ३६ लाख ८८ हजार ४०० रुपैयाँ रहेको छ ।
संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले संस्थाको कोषमा जम्मा २५ करोड ९४ लाख २४ हजार १२२ रुपैयाँ रहेको सुनाउँदै कर्णाली साकोसले सरकारले अघि सारेको ‘एक सदस्य, एक सहकारी’ अभियानलाई सफल पार्न संस्था सङ्ख्यात्मक भन्दा पनि गुणात्मक सदस्य बनाउने तर्फ अग्रसर भएको बताए ।
साधारण सभाको अवसरमा नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक डिल्ली दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराउदै निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेका थिए ।
साधारण सभाको अवसरमा संस्थाले विभिन्न समयमा विविध प्रकारको समस्या भोग्नु परेका सदस्यहरु तथा अशक्त व्यक्तिहरुलाई हौसला प्रदान गर्न राहत स्वरुप नगदसहित सम्मान गरेको छ ।
कार्यक्रममा बिर्तामोड नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, नेफ्सकुनका सञ्चालक घनश्याम अधिकारी, झापा जिल्ला सहकारी सङ्घका सचिव युवराज ढकाल, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक मोहन थापा लगायतले मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भूपाल बस्नेतले गरेका थिए ।