कर्मयोगी र ‘कर्मठ पुरस्कार’

  प्रकाशित मिति
४ बैशाख २०७३, शनिबार ०६:०२


fulmuni & bimalaमेचीनगर, ४ बैशाख । ‘पुरस्कार’ शब्द बडो उत्साहप्रद लाग्छ । यसमा सम्मान, प्रोत्साहन र मूल्याङ्कन प्रतिध्वनित हुन्छन् । यसले मानिसलाई नदी जस्तै निरन्तर मिहिनेत गरी गन्तव्यमा पुग्न प्रेरित गरिरहन्छ । त्यसैले त यसलाई हर कोही व्यक्ति अन्तर्मनबाटै श्रद्धा गर्छ ।

पुरस्कारको यस्तो महत्त्व र दृष्टिकोण आज पर्यन्त रहि रहेको छ । हाम्रो समाजमा धेरै पुरस्कार स्थापना गरिएका छन् र ती नियमित वितरण पनि भइरहेका छन् । तर पुरस्कार वितरण विवादित पनि बनेका छन् । पुरस्कार विवादित बन्ने कुरा हाम्रो देशको मात्र समस्या भने होइन । विश्वभरि नै यस्ता विवाद भएका छन् । सानाभन्दा साना पुरस्कारदेखि संसारकै ठुला पुरस्कार पनि वितरणका सन्दर्भमा विवाद मुक्त छैनन् ।

पुरस्कार स्थापना गर्नु र वितरण गर्नुभन्दा पनि मुख्य कुरा पुरस्कृत हुने व्यक्तिको जीवनमा त्यसले पार्ने प्रभाव हुन्छ । त्यसैले पुरस्कार स्थापना र वितरण दोयम कुरा हुन् भने पुरस्कृत व्यक्तिको जीवनमा त्यसले पार्ने प्रभाव मुख्य कुरा हो । कतिपय पुरस्कार वितरण र प्राप्तिपछि सुनिने प्रतिव्रिmयाले पुरस्कार शब्दप्रतिको विश्वास भत्किन पनि सक्छ । तर, समाजमा पुरस्कार शब्दप्रतिको अटल आस्था जोगाइ रहने कर्म पनि भइरहेका छन् भलै ती चर्चामा नआएका हुन सक्छन् ।

गत हप्ता काँकरभिट्टामा सुसेली साहित्यिक परिवारले आयोजना गरेको सुसेली १३ औँ अङ्क लोकार्पणका अवसरमा सुसेली प्रतिभा पुरस्कार र वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार प्रदान गरियो । सुसेली प्रतिभा पुरस्कारबाट कवि बिमला चिमरिया पुरस्कृत भइन् भने कर्मठ महिला पुरस्कारबाट मेची नगर पालिका वडा नं. १२ आयाबारी निवासी तथा टोकला चिया बगानमा कार्यरत मजदुर फुलमुनी उराउ पुरस्कृत भइन् । यहाँ म प्रतिभा पुरस्कारबाट पुरस्कृत कविको बारेमा होइन पुरस्कृत मजदुरको बारेमा लेख्न चाहन्छु । किनकि पुरस्कारले पार्ने प्रभाव कविको जीवनमा अब सुरु हुने छ भने त्यसको उत्पादनात्मक प्रभाव भविष्यमा देखिने छ ।

चन्द्रगढी निवासी वेद कुमारी रेग्मीले सुसेली साहित्यिक परिवारका नाममा स्थापना गरेको एक लाख दश हजार रुपैयाँको अक्षयकोषबाट प्राप्त ब्याजले प्रत्येक वर्ष एक कर्मठ महिलालाई पुरस्कृत गरिएको साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले बताउनु भयो । पहिलो पल्ट फुलमुनी उराउलाई प्रदान गरिएको दश हजार एक सय राशीको उक्त पुरस्कारले उनको जीवनमा तत्काल प्रभाव पारेको कुरा उनी स्वयम् तथा उनलाई चिन्ने तथा उनका बारेमा कल्पना सिटौलाले गरेको परिचयबाट पहिलो पल्ट सुन्ने जो कोहीको मुहारमा झल्केको खुसी र सँगै खस्दै गरेको आँसुले प्रस्ट पार्दै थियो । फुलमुनी उराउलाई उक्त पुरस्कार दिइने निर्णय गरेसँगै उनलाई चिन्नेहरू पुरस्कारका लागि सही व्यक्ति छनोट गरिएको बताउँदै थिए ।

यो पुरस्कार वितरण देशको परिवर्तित चेतनाको प्रतिबिम्ब पनि हो । पुरस्कार र सम्मान भन्ने कुरा कुलीनहरूको मात्र पेवा होइन, भुइँ मान्छे र तिनका सङ्घर्षहरू पनि पुरस्कृत हुन्छन् भन्ने इतिहास निर्माण हुँदै थियो । महिला सशक्तीकरणका ठुला ठुला योजना बनाउने पाँचतारे एनजिओहरूलाई सशक्तीकरणको पाठ पढाउँदै थियो वेद कुमारी रेग्मी कर्मठ महिला पुरस्कारले । दैनिक महिला हिंसाका घटना समाचार बनिरहने देशको एउटा सीमान्त सहरमा भने महिलाको पौरख र कर्मयोग सम्मानित हुँदै थियो ।

अति सीमान्तकृत उराउ समुदायमा वि.सं. २०२० सालमा झापाको टाघनडुब्बामा जन्मेकी फुलमुनीको विवाह वि.सं. २०४० सालमा तत्कालीन काँकरभिट्टा गाविस वडा नं. २ निवासी रुपचन उराउसँग भएको थियो । रुपचन उराउ टोकला चिया बगानमा कार्यरत एक स्वाभिमानी व्यक्ति थिए । पञ्चायती कालमा मजदुरको हक अधिकारको बारेमा आवाज उठाएकै कारण उनी जागिर खोसुवामा परे । वि.सं. २०४६ मा प्रजातन्त्र पुनस्र्थापना भएपछि रुपचनको जागिर पुनर्बहाली भयो । वि.सं. २०४८ देखि फुलमुनी पनि सोही बगानमा मजदुरको रुपमा काम गर्न थालिन् । श्रीमान् मजदुर नेता भएकाले घरमा समय दिन नसक्ने । तिन सन्तानकी आमा उनले चिया बगानको कामसँगै छोराछोरी हुर्काउनु परेको त्यो क्षणलाई समस्याको रुपमा लिइनन् । किनकि उनकै भनाइमा संरक्षण गर्ने श्रीमान् थिए भने दुई जनाको कमाइले छाक टरेकै थियो ।

तर, वि.सं. २०५२ सालमा श्रीमान् रुपचन उराउलाई रेबिज रोग लाग्यो । एक कुशल, कर्मठ, निःस्वार्थी तथा स्वाभिमानी मजदुर नेताको रुपमा देशमै चिनिएका रुपचन उराउको उपचार हुन सकेन । त्यति बेला काँकरभिट्टामा कनकाई नर्सिङ होम थियो । आजभन्दा २० वर्षअघि काँकरभिट्टामा नर्सिङ होम थियो भन्दा त्यसपछि जन्मेकालाई पत्याउन मुस्किल हुन्छ । किनकि आज काँकरभिट्टामा दुई वटा जुवा खेलाउने क्यासिनो छन् तर एमबिबिएस डाक्टरको सुविधा भएको पनि हस्पिटल छैन । कनकाई नर्सिङ होममा झापा, मोरङ, इलामका चिया बगानका मजदुरहरूको ओइरो थियो । साथै यस क्षेत्रका वासिन्दा तथा हजारौँ कम्युनिस्ट कार्यकर्ता उनको स्वास्थ्य लाभको कामना गरि रहेका थिए । विधिको विधान २०५२ चैत १७ गते रुपचनले देह त्याग गरे ।

अरुका लागि रुपचन एक मजदुर नेता थिए तर उराउ परिवारको लागि संरक्षक थिए । १० वर्षकी ठुली छोरी, ६ वर्षको छोरा र ३ वर्षकी छोरीको लालनपालन फुलमुनी उराउको एक्लो कमाइले धान्नु प¥यो ।

पति वियोगको पीडा र आर्थिक अभावसँग जुध्दै निरन्तर छोराछोरीको लालनपालनमा जीवन बिताएकी फुलमुनी उराउले जीवनमा आफूले गरेको दुःखलाई समाजले मूल्याङ्कन गरेर पुरस्कृत नै गर्ला भन्ने नसोचेको बताइन् । रुपचन उराउको टोकला चिया बगानमा प्रतिमा निर्माण गरेको चिया मजदुर युनियनले प्रत्येक वर्ष चैत १७ गते स्मृति दिवस आयोजना गरिरहेको कुरालाई उनी आफ्नो श्रीमान्प्रति चिया मजदुर युनियनले सम्मान गरेको ठान्छिन् । तर, आफूले गरेको सङ्घर्ष नै जीवनमा पुरस्कार दिने विषय बन्छ भन्ने चाहिँ उनलाई लागेको थिएन रे ।

फुलमुनी उराउ पुरस्कृत हुने कुरा सुनाउन पुण्यप्रसाद खरेल उनको घर आइपुग्दा उनी चिया बगान गइसकेकी थिइन् । उक्त समाचार सुनाउने जिम्मा पुण्य सरले मलाई दिनु भएको थियो । साँझमा उनलाई सो कुरा सुनाउँदा पत्याइनन् । उनलाई पुरस्कार भन्ने कुरा साह्रै ठुलो कुरा हो र यो बडे बडे मानिसले मात्र पाउँछन् भन्ने थाहा थियो अरे । उनलाई त्यसो नलागोस् पनि कसरी ? किनभने पुरस्कारको वितरण प्रव्रिmया नै जो छ । मानिसले समाज हेरेर नै त सिक्ने र आफ्नो धारणा निर्माण गर्ने हो ।

पुरस्कार ग्रहणका लागि मञ्चमा बोलाइएदेखि नै उनका आँखा भरिएका थिए । उनको परिचय गराउँदा उनी आँसु पुछि रहेकी थिइन् । प्रमुख अतिथि सह प्राध्यापक शुभ लक्ष्मी राईले दोसल्ला ओढाउँदा उनी भाव विह्वल बनेकी थिइन् । कार्यव्रmमपछि उनलाई मैले कस्तो अनुभव भयो भनी सोध्दा उनले भनेकी थिइन्, “हामी त मजदुर मान्छे, काम गर्न मात्र जान्दछुम् । बोल्न पनि आउँदैन तर हाम्रो कामलाई पनि मान्छेले हेरेको हुँदो रहेछ ।”

उनको अभिव्यक्तिमा हाम्रो समाजको यथार्थ प्रतिध्वनित हुन्छ । वर्षाैँदेखि शोषण र अन्यायको रापमा बाँचेका निमुखा जनताका लागि बिहान बेलुका छाक टार्नेभन्दा अरु सोच्ने फुर्सद नै कहाँ छ र ! राज्य सञ्चालनको जिम्मेवारी लिएका जन भावना कदर नगर्ने जन प्रतिनिधिहरुको अकर्मण्यताका कारण प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा पनि मूल प्रवाहीकरण, समावेशी, सशक्तीकरण जस्ता कुरा फुलमुनीहरुको जीवनमा आउन सकेको छैन ।

त्यसैले अब पनि नेताको मुख ताकेर र नेतालाई गाली गरेर जीवन व्यतित गर्नुभन्दा समाजमा शिक्षितले अशिक्षितलाई, हुनेले नहुनेलाई, सक्षमले कमजोरलाई सशक्त बनाउने प्रयास गर्नुपर्छ । वेद कुमारी रेग्मी पुरस्कार यही उद्देश्यबाट स्थापना भएको देखिन्छ । साथै पुरस्कार स्थापना गर्नुभन्दा पुरस्कार दिइने व्यक्ति छनोट गर्नु झन् चुनौतीपूर्ण हुने भएकाले पुरस्कारको नाम सार्थक बनाउने कर्मठ महिला फुलमुनी उराउलाई छनोट गर्नु सराहनीय कार्य हो ।

वास्तवमा हाम्रो देशमा ठुला कुरा भ्रम मात्र भएका छन् अनि सामान्य लाग्ने कुरा सत्य भएका छन् । त्यसैले महत्त्वाकाङ्क्षी भ्रामक कुरा गर्नुभन्दा मानव जीवनमा सधै सकारात्मक प्रभाव जमाउने सामान्य कार्य गर्नु बडो अर्थपूर्ण र आनन्ददायक हुन्छ । जब पुरस्कार स्थापना, वितरण र ग्रहण आश र त्रासबाट मुक्त हुन्छ तब यस्ता साधारण लाग्ने सत्य कुरा समाजमा स्थापित हुन्छन् । यस सन्दर्भमा वेद कुमारी रेग्मी पुरस्कारले सुरुवात गरेको कार्य प्रशंसनीय र अनुकरणीय छ । यसले समाजका निमुखा, सीमान्त समुदाय तथा मिहिनेतका साथ दुःखमा विचलित नभई सन्तानको भविष्य निर्माणमा लागिरहेका हरेक नारीहरूलाई आत्मबल प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: