त्यो दिन सम्झदा अहिले पनि नेपालीहरुको मन थुरुरु काम्छ । केहीबेर बेस्सरी धरती हल्लिदा कत्रा कत्रा महल धुलोपिठो भए । कामधन्धामा व्यस्त कयौ मानिसले ऐया पनि भन्न भ्याएनन् ।त्यो दिन, २०७२ सालको वैशाख १२ गते महाभूकम्प गएको दिन थियो । शिक्षा क्षेत्रमा राष्ट्रको सेवा गरिरहनु भएको विर्तामोड -५ निवासी जानुका गुरागाईले त्यही भूकम्पको सम्झना गर्दै आजै लेख्नुभएको कविता प्रस्तुत छ–
धरती कामेको दिन
जानुका गुरागाई
आज वैशाख १२ गते
हाम्रो घर हल्लिएको दिन
हिमाल पहाड तराई अनि
मधेश पनि हल्लिएको दिन
सबैभन्दा बढी मानिसहरुको
मन हल्लिएको दिन ।
गगनचुम्बी महल अनि
ओत लाग्ने छाप्रा र घर लडेको दिन
मठ मन्दिर र धरहरा ढलेको दिन
हुने खाने र हुँदा खाने एक भएको दिन ।
आमा रोएको अनि बुबा भक्कानिएको दिन
छोरी बुहारीले सिन्दुर पुछेको दिन
ज्वाइँ र छोराको साथ छुटेको दिन
छरछिमेक र आफन्त गुमाएको दिन ।
भोक, प्यास र निन्द्रा हराएको दिन
रुवावासी, कोलाहल, र वेदनाले
धरती कामेको दिन
आज वैशाख १२ गते
भूकम्पले त्रासदी विछ्याएको दिन ।।
विर्तामोड–५, झापा