कसरी चल्छ नेपालको शासन प्रशासन ?

  प्रकाशित मिति
१५ भाद्र २०७४, बिहीबार १६:५१


ramchandra-dai

केही समय पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँका सडकमा भएका खाल्डाखुल्डी पुर्न निर्देशन दिए । प्रचण्ड प्रधानमन्त्री हुँदा पनि जताततै निर्देशन दिएको सुनियो । अहिले सञ्चारमन्त्री मोहनबहादुर बस्नेत नेपाल दुरसञ्चार प्राधिकरणको काठमाडाँै स्थित कुनै कार्यालयमा पुगेर कर्मचारीको हाजिरी छडके चेकजाँच गरेर इएटेन्डेन्स मेसिनमा टेप टाँसेर फर्किए भन्ने समाचार आयो । नेकपा एमालेका नेता गोकर्ण विष्ट बिजुली मन्त्री भएको बेला पैसा नतिर्ने सरकारी कार्यालयको अथवा ग्राहकको लाइन काट्न कर्मचारीको टोली लिएर आपैmँ फिल्डमा निस्किएका थिए । राजाको प्रत्यक्ष शासनकालमा विशेषगरी तत्कालीन युवराजाहरु मन्त्रालयमा पुगेर निरीक्षण गरेको र निर्देशन दिएको जस्ता घटना प्रमुख समाचार बनेर आउँथे ।

यसो किन गरिन्छ ? अर्थात किन गर्नुप¥यो ? के मन्त्री, प्रधानमन्त्रीको लेभलबाट गरिनु पर्ने नै काम हो ? मलाई लाग्छ यस्तो होइन । हामी यति सतही भइसक्याँै कि हामीलाई परिणामको होइन, प्रचारको भोक छ । प्रचारको भोक पूरा गर्न सञ्चारकर्मीलाई साथमा लिएर यस्ता काम गर्छौँ र मिडियामा समाचार आएपछि आपूm पपुलर भएको सन्तुष्टि लिन्छौँ । यस्ता काम र प्रचारले के नतिजा दिए त्यो कहिल्यै फर्केर हेर्ने गरिदैन जस्तो लाग्छ ।

देशमा प्रधानमन्त्रीको टिममा मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री छन् । मन्त्रालय, सचिवालय, विभाग र थरिथरिका कार्यालय छन् । त्यहाँ काम गर्न बसेका, कामको जिम्मा लिएका, काम गर्ने शर्तमा सेवासुविधा लिएर बसेका सचिव, उपसचिव, सहसचिव, विभागीय प्रमुख, सहायक, महाप्रबन्धक, प्रबन्धक, कार्यालय प्रमुखलगायत थरिथरिका जिम्मेवार मानिस छन् । चेनअफ कमाण्ड छ । को कसको मातहत हुन्छ ? कसले कसलाई रिपोर्टिङ गर्नुपर्ने हो ? कसले कोबाट आदेश लिनुपर्ने हो ? नीति नियममा के छ ? के गर्नुपर्छ ? के गर्नु हुँदैन ? सबै लेखिएको होला । तल्लो तहको कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गरे वा नगरेको हेर्ने माथिल्लो तह होला । त्यसको पनि माथिल्लो तह होला । ती सबै निकम्मा भए, काम गर्न नसक्ने भए भन्ने मन्त्री प्रधानमन्त्रीलाई लागेको हो भने उनले दिएको आदेश कसले पालन गर्लान् त ? मैले बुझेको त जनप्रतिनिधि अर्थात नेताकोे काम नीतिगत नेतृत्व गर्ने हो । काम गर्नका लागि प्रशासनिक ढाँचा माथिदेखि तलसम्म छ । प्रशासनिक संरचनाले काम गर्नुपर्छ । यदि प्रशासनिक संरचना काम गर्न लायक छैन भने त्यसलाई काम गर्न सक्ने कसरी बनाउने हो त्यसबारेमा आवश्यक चिन्तन गर्ने, नीति बनाउने र दुरुस्त गराउने काम नेताको हो । प्रचारका लागि सञ्चारकर्मीलाई सँगै लिएर हिँड्ने र तह मिचेर, प्रकृया मिचेर, चेन अफ कमाण्डको मर्यादा नाघेर प्रधानमन्त्री, मन्त्री र सांसदले तल्ला तहका कर्मचारीलाई निर्देशन दिँदै हिँड्दा सर्वसाधारण जनतालाई एकछिन गरिटोपलेको जस्तो देखाउन र प्रचारमा आउन त काम लाग्दो हो । तर, त्यस्ता पाराले दिगो परिणाम दिने छैन । भएको पनि त्यस्तै छ । यो जग हँसाई हो ।

त्यसैले, देशको कार्यकारी प्रमुख र मन्त्रीहरुले मुख्य सचिव र सचिवलाई काम गर्न नीति र निर्देशन दुवै दिनुपर्छ । नीतिको पालना भए÷नभएको हेर्नुपर्छ, निर्देशनको कार्यान्वयन भए÷नभएको नियमित रिपोर्टिङ लिनुपर्छ । रिपोर्टिङ सही हो कि गलत हो त्यसको मूल्याङ्कन गर्ने, छड्के चेक गर्ने, कामको बारेमा बुझ्ने, लक्ष्य र अवधि तोक्ने, अवधिमा लक्ष्य अनुरुप काम भएको छ कि छैन नियमित समीक्षा गर्ने, लक्ष्य अनुरुप काम नभएको भए कारण पत्ता लगाउने, नीतिगत समस्या भए सोको गाँठो फुकाउने, श्रोत साधनको अभाव भए सो को व्यवस्था गर्ने, भएको साधन श्रोतको उपयोग नभएको भए उपयोग किन भएन पत्ता लाउने, काम गर्न अल्छि गर्ने, बहाना बनाउने, कमिसनको पर्खाइमा बसेर ढिलासुस्ती गर्ने, काम गर्न अयोग्य र असहयोग गर्ने कर्मचारी भए तिनलाई नियम नीति अनुसार कार्वाही गर्न सचिवलाई निर्देशन दिने, सचिवले नटेर्ने गरेमा उनलाई नै कार्वाही गर्ने गर्नुपर्छ । तर, चेन अफ कमाण्ड नाघेर प्रधानमन्त्री, मन्त्रीले विभागीय प्रमुख वा कार्यालय प्रमुखलाई निर्देशन दिँदै हिँड्ने र त्यसको पालना नहुने कुराले एकछिनको प्रचार त होला तर निर्देशन दिनेको गरिमा बढ्दैन । नेपालीमा एउटा उखान छ ‘मुतको न्यानो’ भन्ने । यो त्यस्तै मात्र हो ।

यति कुरा बुझ्न ठुलो जान्ने बुझ्ने हुनु जरुरी छैन । प्रधानमन्त्री, मन्त्री सांसदले निरीक्षण गर्नु पर्दैन, हुँदैन भनेको होइन, कार्यप्रगति बुझ्न, जान्न, हेर्न, स्थलगत अवलोकन, निरीक्षण गर्नुपर्छ । तर, जसलाई पायो त्यसलाई र जहाँपायो त्यही निर्देशन दिँदै हिँड्ने, छड्के चेक गर्ने बहानामा सम्बन्धित कार्यालयको माथिल्लो निकायलाई जानकारी नै नदिने र तलतल गएर कर्मचारीलाई निर्देशन मात्रै दिएर प्रचारमुखी कार्य गर्ने कुराले कस्तो परिणाम देला बुझ्न सकिन्छ ।
भारतका दिवङ्गत पूर्वराष्ट्रपति अब्दुल कलामले भनेका रहेछन्–‘ठुलो हल्ला गरेर परिणाम नदिने काम गरेको भनेर प्रचार गर्नुभन्दा चुपचाप परिणाम दिने सानो काम गर्नु महत्वको हुन्छ ।’ सायद हाम्रो समाज हल्ला गर्नेहरुको समाजबाट माथि उठेर परिणाम दिनेगरी काम गर्नेहरुको समाज बन्ने अवस्थामा आइपुगेकै छैन । नेतालाई पपुलर हुने, नेता भइरहने र फेरि चुनाव जित्नेभन्दा माथिको सोच नै छैन । त्यति गर्न यस्तै उडन्ते काम गर्ने, जोरीपारीका अगाडि मानको शान देखाउने र आउँदो चुनावको लागि चुनाव खर्च जुटाउनेभन्दा माथिको ध्यान नै छैन । उता कर्मचारी भने लोकसेवाको परीक्षा पास गरेवापत तलव खाने र काम गरेको घुस र कमिसन खानेमा सीमित हँुदैछन् । यो देश नलुट्ने नेता र कर्मचारी पाउन मुस्किल भइसक्यो ।

केही वर्ष पहिलेदेखि नै देश असफल हुँदैछ भन्ने सुनेको पढेको थिएँ । म बुझ्दिनथँे, मनमनै गम्थेँ के होला असफल राष्ट्र भनेको । ठ्याक्कै यही हो कि होइन त्योे पनि थाहा छैन । तर, अहिले देश असफल हुँदै गएको भान आपैmँलाई हुन थालेको छ । २०७२ सालको शुरुमै देशमा महाभूकम्प गयो । ठूलो धनजनको क्षति भयो । पीडितलाई सहयोग पुगोस् भनेर मित्रराष्ट्रले सहयोग गरे । देश÷विदेशमा भएका नेपालीले सरकारको खातामा अर्थात प्रधानमन्त्री राहत कोषमा ठूलो रकम जम्मा गरे । सबैजना पीडितसम्म पुगेर राहत वितरण गर्न सक्दैनन्, त्यसैले यसरी सहायता गरेका थिए । पीडित मध्ये कतिले राहत पाएपनि, कतिले आफ्नै बलबुतामा केही गरे । तर, आज पनि त्रिपाल मुनी बस्ने भूकम्प पीडित नभएका होइनन् । त्यसैगरी विद्यालय, अस्पताल भत्किएर बिजोग भएको छ, बनाउन सकेको होइन । यता विदेशले दिएको सहयोग गोदाममा थन्किएर सड्न लागेको छ । प्रधानमन्त्री राहत कोषमा जम्मा भएको अरबौँ नगद बैङ्कमा थन्किएर बसेको छ । कसरी भनौँ मेरो देशमा सरकार छ र त्यसले केही गर्र्दैछ भनेर ?

अहिले २०७४ मा श्रावणको अन्तिम हप्ता देशमा भारी वर्षा भयो । दशकौँ पछिको यस्तो विपत्तिमा परेर झण्डै २ सय मानिसको ज्यान गयो र बेपत्ता हुन पुगे । बाँचेकाहरु सहयोगले भन्दा पनि भाग्यले बाँचे । यत्रो विपत्तिमा सरकारले पीडितलाई सघाउन भनेर राहतको लागि जनतासँग सहयोगको अपिल ग¥यो । तर, प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म साह्रै न्युन रकम जम्मा भएको छ । यसको कारण जनतामा धन र मन नभएर हँुदै होइन । सरकारप्रति विश्वास नभएर हो । आपैmँ गएर सहयोग गर्न नसकिने, सरकारले एकद्वार प्रणालीबाट सहयोग गर्ने भनेर सहयोगमा पनि बन्देज लगायो । सहयोग गर्न चाहनेको मनमा विश्वास नै छैन मैले गरेको सहयोग पीडितसम्म पुग्छ भन्नेमा । किनकि भूकम्प पीडितको नाममा आएको जिन्सी, खाद्यान्न गोदाममा सडेर बसेका छन् । नगद बैङ्कले चलाएर नाफा कमाउँदै छन् । किन होला यस्तो बेवास्ता र चरम लापरवाही ? सरकारका मानिस किन यति पनि काम गर्दैनन् ?

सायद यस्तो सामान जसले पाउने हो उनले कमिसन दिँदैनन् होला । अब भन्नुपर्ने भएन र मेरो देश असफल राष्ट्र हुँदैछ भनेर ? यहाँ प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, नेता सबै प्रचारमुखी काम गरेर पपुलर हुने उद्यम गर्छन् । तर, परिणाम निकाल्ने कुनै काम गर्दैनन् र त्यसको उनीहरुलाई सायद खासै मतलव पनि छैन । कर्मचारी कमिसन, घुसबिना कामै गर्दैनन् ।

यो मुलुक लुटेरा र दलालहरुको रामराज्य हुँदै गयो । अब हामीसँग धेरै विकल्प छैन । कि लागाँै देश बनाउन इमान्दारहरु एकठाउँमा जम्मा भएर या इमान्दारलाई सहयोग गरेर, सशक्त नागरिक समाजको भूमिकामा बसेर । होइन भने सायद कुनै विवेकशील तानाशाहको लागि बाटो खाली गरिदिएर ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: